Thursday, May 5, 2016

आमाको मुख हेर्ने दिन

आमाको मुख हेर्ने दिन

स्नात्वा करोतिम य्: श्राद्धं माघो: कृष्णकुहौ दिने ।  
वियोग न भवेन्मातु: वार्धक्येऽपी सुनिश्चितंम ।। 
तृप्ता भवति तन्माता स्नानमात्रेण चात्र वै । 
ऋण: प्रमुच्यते सद्धो  मातृगर्भस्थितोभ्दवै ।।    

सधै झैँ आज पनि आमाले फोन गर्नु भयो । अनि बल्ल थाहा भो आज आमाको मुख हेर्ने दिन । त्यसो त एक छिन पछि फेसबुक हेर्ने नै थिए र थाहा पनि हुन्थियो आज मातातिर्थ औँसी हो भन्ने कुरा र स्वयम कल गर्ने थिए । आमाको मुख हेर्ने दिन मात्रै होइन बुवाको मुख हेर्ने दिनमा पनि उहाँहरुले नै पहिला फोन गरिसक्नु हुन्छ ।
संसारका धेरै देशहरूमा Mother’s Day  मनाउँछन । सवै देशको आ-आफ्नै मैलिकपनको Mother’s Day हुन्छन । नेपालको Mother’s Day  माता तिर्थ औँशि अर्थात आमाको मुख हेर्ने दिन बाट परिचित छ । आमाको मुख हेर्ने दिन कुनै खास जात व वर्ग विशेषको चाडपर्व नभ​ई सम्पुर्ण नेपालिहरुको एउटा परम्परा हो । आजको दिन विशेषतः आमा सगैं हुनेहरुले आ-आफ्ना आमालाई नमन गर्छन​, मिठो- मिठो परिकार खुवाउँछन​, र प्रेमोपहार टक्रयाउँछन । आमा नभ​एका सन्तानहरुले नजिकका कुण्डहरुमा ग​एर आमाको सराद वा पिण्ड दान गरी आमाको सम्झना गर्छन ।
किवंदन्ती अनुसार, परापुर्वकालमा एउटा गोठाले आफ्ना गाईहरुलाई पोखरीको किनारमा चराउन लग्थ्यो । गाईहरु आफ्नो तालमा चरिरहन्थे । उ आफु मस्त साथीहरू सगं खेलिरहन्थ्यो । विहानिको खाना खाने बेला उ सधैँ पोखरीको डिलमा बसेर खान्थ्यो । सधैँ खाना खादा खेरी उस्को केहि गास पोखरीमा खस्थ्यो । पोखरीमा के रहेछ भनेर एक दिन उसले पोखरीमा नियाल्दा आफ्नी मरिसकेकि आमालाई देख्यो । गोठालोले आफ्नी आमालाई त्यहाँबाट घर लान खोजियो । गोठालो रोयो, करायो र अन्तमा उसको आमाले सम्झाइन र हरेक वैशाख कृष्ण औँशीका दिन आफु पोखरीमा आउने वाचा गरिन​। त्यसपश्चात त्यो गोठालो हरेक वैशाख कृष्ण औँशीका दिन आफ्नी आमालाई भेट्न त्यहि पोखरी आउन थाल्यो र त्यहि दिनबाट वैशाख कृष्ण औँशीका दिनलाई आमाको मुख हेर्ने दिन भनेर मनाउन थाल्यो ।
अहिलेको सामजिक संजालको युगमा माता तिर्थ औँशी मनाउने परम्परा पनि भिन्न छ​।  फेसबुक, टुईटरको भर्चुअल दुनियामा आजको दिनमा आमाको सम्मान पनि भर्चुअली गर्ने परिपाटि बसिसकेको छ । कयौँ फेसबुके, टुईटरेका आमाहरु वृद्दाश्रममा होलिन​, दुई छाक टार्न सडक पेटि मकै सेक्दै होलिन वा खोलाछेउ गिटि कुट्दै होलिन । तर तीनका सन्तानहरु आफ्नी आमाको एउटा तस्विर  फेसबुकका भित्ताहरूमा पोष्ट गरेर Happy Mother’s Day लेखेर आमाको सम्मान गर्न खोज्छन ।
जन्मदिने आमा यो ब्रहमाण्डको सर्वश्रेष्ठ  व्यक्ति हुन ।  आमाको माया मात्रै यस्तो माया हो जुन स्वार्थ रहीत हुन्छ । आफु नखाई सन्तानलाई खुवाउछिन । आफु नसुति लोरि सुनाएर भ​ए नी आफ्नो बच्चालाई सुखको निन्द्रा दिन्छिन । आफु दुखिमा भ​ए नि सन्तानलाई सधैँ सुखमा रहेको हेर्न चाहन्छिन । यसर्थ संसारमा सबै आमाहरु विशिष्ट छिन । आजको दिन मात्रै हैन आफ्नो आमालाई हामि सबैले सधैँ सम्मान गरौँ । आमाहरुलाई वृद्दाश्रमको ढोका ढकढकाउन बाध्य नबनाऔँ ।
अन्तमा सबै आमाहरुलाई मेरो हार्दिक नमन र अटुट माया ।




2 comments: