तराईवासीको पहाड यात्रा: सुन्दर गाउँहरु सोमालिया
नबनून्
Phoimahadev, Kalikot, Nepal |
कठ्याङ्ग्रिँदो जाडो छ ।
पल्लो डाँडोमा सेताम्मे हिउँ देख्छु । तीला कर्णाली पनि शान्त छिन् । जाडोले गर्दा
बग्न बिर्सेर सुस्ताएकी छिन् । गाडीबाट झर्ने बित्तिकै चिसो सिरेटोले म लुगलुग
काम्न थाल्छु । कालिकोटमा पुसे जाडो असह्य हुन्छ । पूरै शरीर कक्रिन थाल्छ ।
राचुली यही हो भनेर
काक्रेबिहार बसले झिसमिसेमै ओरालिदिएको थियो । तर, म पुग्नुपर्ने ठाउँ
फोइमहादेव पुग्न अझै बाँकी नै थियो । अफिसले मलाई लिन मान्छे पठाउँछु भनेको थियो ।
घडी हेरेँ । अफिसको मान्छे आइपुग्न अझै डेढ घण्टा समय बाँकी रहेछ । कुर्नुपर्ने
भयो ।
कसैलाई कुर्नु कति धेरै
दिक्क लाग्ने । एकाबिहानै चिसोमा कुर्नुपर्ने । बिहान चिया पिउने बानीले चियाको
तलतल लाग्छ । अलिक पर ‘शाही
होटेल’ लेखेको
बोर्ड देख्छु । त्यही होटलतर्फ लम्किन्छु । झोला बिसाउँदै बेन्चमा बस्छु ।
‘दाइ, एक कप चिया !’
यसो भन्दा होटलवाला चुल्हो
फुक्न छाडेर मतिर फर्किन्छ । नौलो मान्छे देखेर चासो दिन्छ । जिज्ञासु नजरले
हेर्दै मसँग गफिने सुर कस्छ- ‘कहाँबाट आउनु भयो सर ?’
‘विराटनगर’, भन्छु ।
‘धेरै टाढाबाट यस्तो
दुर्गममा… के
कति कामले होला ?’ होटलवाला अलिक बढी नै चासो देखाउँछ ।
म नढाँटी भन्छु, ‘स्याउको बेर्नामा अनुसन्धान
गर्न फोइमहादेव जान लागेको ।’ अफिसको नाम पनि भन्छु- ‘जुम्ला-कालिकोट स्याउ
अनुसन्धान केन्द्र ।’
‘यहाँबाट फोइमहादेव कति टाढा
छ दाइ ?’ होटलवालाको कुरो बीचैमा काटेर सोध्छु ।
‘त्यही नजिकै त हो । सल्लोको
जङ्गल कटेपछि’, उसको औंलाले देखाएतर्फ आँखा दौडाउँछु ।
ठाडो पहाड देख्दा मेरो
सातोपुत्लो गयो । कसरी यत्रो डाँडो कटेर पुग्नु ! तराईको समथर फाँट हिँड्न त
हम्मेहम्मे हुन्थ्यो । यो उकालो छिचोल्दा गानो निस्किने भो ।
गफ गर्न सक्नुपर्छ, समय बितेको पत्तै हुन्न ।
होटलवाला शाहीसँगको गफले दिक्दारी पनि मेटियो । अफिसको मान्छे पनि चियाको सुर्पो
सकिदाँ नसकिँदै आइपुग्यो ।
मलाई लिन आएका नरबहादुर अफिसका सहायक रहेछन्
। स्थानीय ठकुरी । उसको पछि लागेर ठाडो उकालो चढ्न थाल्छु । ५० मिनेटको उकालो बाटो
पार गर्न मैले सकीनसकी मैले पौने दुई घण्टा लगाएछु । केही अगाडि सम्म जाडोले जम्न
लागेको मेरो ज्यानबाट पसिना छुट्छ । उकालो सकेपछि समथर भागमा सुन्दर गाउँ-
फोइमहादेव देख्छु ।
चारैतिर हिउँले ढाकेको छ । शहरको प्रदुषणबाट
मुक्त स्वच्छ वातावरण छ ।
स्याउका बोटहरु सुकेको दाउरा जस्ता देखिन्छन्
। प्रकृति पनि अचम्मको छ ! अहिले मरेका जस्ता देखिएका रुख-विरुवाहरु बैशाख लागेपछि
तङ्ग्रिन थाल्छन् । घरहरु पनि सल्लाह गरेर बनाए जस्ता सबै एकै खालका छन् । टाढाबाट
निकै आकर्षक देखिन्छ- फोइमहादेव ।
केही दिन पर्यटक जस्तै रमाइलोसँग बित्छ फोइमा
। तर, एक वर्षसम्म यस ठाउँमा समय काट्न गाह्रो छ । अफिसको उर्दी झल्यास्स सम्झिन्छु
। भौगोलिक रुपमा कठिन र असुविधाजनक यो ठाउँमा कसरी १२ महिना कटाउनु !
न इन्टरनेटको सुविधा छ, न भने जस्तो बिजुली । आवतजावत गर्न निकै अप्ठेरो । खान मन लागेको चिज पनि
नपाइने । मोबाइलमा टावर खोज्न समेत डाँडै उक्लिनुपर्ने !
साधारण आवश्यकता पूरा गर्न यहाँ तपस्यै
गर्नुपर्छ । रेडियोको सिग्नल सबै ठाउँमा टिप्दैन । टीभी हेर्न पाउनु त भाग्य
सम्झिन्छन् यहाँ ।
अभावयुक्त जिन्दगीको कष्ट कस्तो हुँदो रहेछ, फोइ आएपछि थाहा भयो । देशमा पिछडिएका बासिन्दाहरु त यहाँ पो छन् । राज्यबाट
विभेद त यिनीहरुलाई भएको छ । भौगोलिक सरापले गर्दा सबै सुविधाबाट वञ्चित छन्
यहाँका मनिस ।
फोइको जीवनशैलीमा बानी परेर सहज महसुस गर्न
करिब तीन साता लाग्यो । बिस्तारै समय बिताउन सिकेँ । देश-दुनियाँबाट बेखबर भएर
बस्न जानेँ । गाउँलेसँग भलाकुसारी गर्न थालेँ । सबैसँग सुस्तरी घुलमिल हुँदै गएँ ।
सबैभन्दा गजबको कुरो, अफिसको छेउमा अर्का चिया बाजेसँग राम्रो दोस्ती भयो । कामबाट फुर्सद मिलेको
समयमा बाजेको चिया पसलमा बित्न थाल्यो ।
आगो ताप्नु, चिया पिउनु अनि बाजेको गफ सुन्नु हामी
स्टाफहरुको दिनचर्या बन्छ ।
चियाबाजे बाल्यकालका कुरा गर्छन् । जवानीका
रसिलो स्वाद सुनाउँछन् । फोइको खाल्डोमा एकलकाटे जीवनको यथार्थ बक्छन् ।
सानोमा स्कूल देखेनन् । युवा हुँदा मस्ती
गर्न पाएनन् । अहिले बुढेसकालमा सुख भोग्न पाएका छैनन् ।
अनपढ भए पनि बाजेले जीवन राम्ररी बुझेका छन्
। दु:ख सहेर पनि देशका अधिकांश ठाउँ पुगेका छन् । आफू दुर्गममा बसे पनि आफ्ना
सन्ततिलाई कैलालीको सुगमता चखाएका छन् ।
कोदोको झोल पिउँदै गलैंचा बेच्दाको कन्तबिजोग
सुनाउँछन् । पैसा कमाउँदाको आनन्द पनि बयान गर्छन् ।
शहरमा हामी अहिले पनि देख्न सक्छौं, काँधमा गलैंचा राखेर बेच्न हिँडेका मानिसहरु । एउटा गलैंचा बेच्न घण्टौं
हिँड्छन् । गलैंचा बेच्न टोल-टोलमा घोक्रो सुकाउँदै डुल्छन् । यस्ता हड्डी
खियाइरहेका मानिसहरु प्रायः दैलेख, कालिकोट, अछाम, जुम्ला, मुगु जस्ता विकट क्षेत्रका हुन्छन् ।
कहिलेकाहीँ चियाबाजे भावुक मुद्रामा प्रस्तुत
हुन्छन् । अपहरण शैलीमा सेनाले जेठो छोरोलाई आफ्नै अगेनाबाट घिसार्दै लगेर बेपत्ता
बनाएको आक्रोश पोख्छन् । पिली आक्रमणमा दुवैतर्फको भिडन्तमा परेर आफ्नै छोरी
अपाङ्ग हुँदाको तिक्तता सुनाउँछन् ।
उनी द्वन्दकालको अनेक घट्ना धाराप्रवाह
सुनाइरहन्छन् । जनमिलिसिया र सेना दुवैले गरेका ज्यादतीहरुको घोर विरोध गर्छन् ।
मानव अधिकारवादीहरुको आश्वासन, प्रशासनको धपेडी र नेताहरुको झुटा भाषणदेखि बाजे आजित भएका रहेछन् ।
बाजेका कुण्ठा र विलाप सुन्दा कुनै रात
अबेरसम्म म स्वयं निदाउन सक्दिनँ थिए ।
उनका कुरा
मिहीन ढङ्गले केलाउँथेँ, मनन गर्थेँ अनि ‘जनयुद्ध’ को बेलाको अवस्था ठम्याउन खोज्थेँ ।
फोइमा अलिक न्याना दिनहरुको सुरुवात हुन्छ ।
हिउँ पनि पग्लेर बिस्तारै अलप हुने तयारीमा हुन्छ । अफिसको बार्दलीमा बसेर स्याउको
हाँगा चोइट्याउँदै फोइमहादेव नियाल्ने कोसिस गर्छु । मनबाट पूरै कालिकोट अवलोकन
गर्छु । युद्धका अवशेष, संघर्षका डोंब र अभावका केस्राहरु दशकको युद्धपछि पनि ज्युँका त्युँ भेट्छु ।
फिल्डमा हिँड्दा स्थानीयवासीहरुको वेदना
महसुस गर्छु । दु:ख नियाल्ने मौका पाउँछु । जनयुद्ध अघि र पछि कर्णालीको
जीवनस्तरमा कुनै परिवर्तन नआएको कथनहरु सुन्छु ।
यहाँका अबोध मुहारहरुमा अनगिन्ती प्रश्नहरु
नाचिरहेको भेट्छु- युद्ध केका लागि थियो ? रक्तपात कसका लागि थियो ? मानिसहरु टुहुरा र विधवा केका लागि भए ? सामान्य आधारभूत आवश्यकतामा पनि पहुँच नहुने
अवस्था कहिले अन्त्य हुने ?
चियाबाजेको हाँसो र रोदन मिश्रित धुन सुन्दै
दिनहरु बिताउँदा फोइमा आधा वर्ष बितिसकेको पत्तै भएन । यस ठाउँको ठूलो रङ्ग (मेला)
लाग्ने दिन पनि नजिकिन्छ । फलाढुङ्गा रङ्गको दिन बाजेको निन्याउरो अनुहार देख्छु ।
गाउँले सबैलाई रङ्ग लागेको हुन्छ । सबै जना गाउँको टुप्पोमा रहेको फलाढुङ्गा रङ्ग
जाने तरखर गरिरहेका हुन्छन् ।
‘बाजे रङ्ग हेर्न जाने हैन ?’ सोध्छु । मलिन आवाजमा बाजे भन्छन्- ‘नजाने’ ।
३० मिनेटको उकालो चढ्न मलाई पनि अल्छीले
छोप्छ । रङ्ग हेर्न नगई बाजेसँगै उनका व्यथा सुन्न बस्छु । कालिकोटको विकटमा
एक्लो समय बिताइरहँदा जीवनको उत्तरार्धमा बाजेलाई सबथोक बोझिलो महसुस हुँदो रहेछ ।
रङ्गले गर्दा चिया पसलमा अरु मानिस कोही
थिएन । कोही नभएको मौकामा बाजे आफ्नो पारिवारिक क्लेश खोल्न थाल्छन् । कान्छो
छोरोको दुखेसो चुहाउँछन् ।
गलैंचाको आम्दानीबाट उहिले बाजेले टीकापुरमा
थोरै माटो किनेका रहेछन् । पत्थरको व्यापार फापेपछि कान्छो छोरोले उक्त जग्गामा
राम्रै घर ठड्याएका रहेछन् । राम्री केटी खोजेर छोरोको बिहे पनि गरिदिएका रहेछन् ।
सबै कुरो चाहे जस्तै भइरहेको थियो ।
छोरा-बुहारीसँग बाजे खुसीसाथ बसेका थिए । तर, बज्यै बितेपछि छोरा-बुहारीसँग ठाकठुक सुरु
भएको रहेछ ।
बाजेको काँध मुन्तिरको नसा च्यापिएको रहेछ ।
धेरै दुखेर कहिलेकाहीँ हलचल गर्न समेत नसक्ने भएका रहेछन् । हिँड्नै गाह्रो
भएपछि बाजेको स्याहारसुसार गर्न, समातेर शौच गराउन छोरा-बुहारीलाई झन्झटिलो
महसुस भएछ । छोरा-बुहारीसँग मनमुटावको बीजारोपण यहीँबाट प्रारम्भ भएको रहेछ ।
घरायसी कलह निकै चुलिएको महसुस गरेपछि काँधको
नशाको शल्यक्रियापछि बाजे छुट्टिएर बस्ने निधोमा पुगेका रहेछन् । त्यस क्रममा
बुढेसकालमा एक्लो जीवन व्यतीत गर्न आफ्नै पुर्ख्यौली घर कालिकोटको फोइमहादेव आएका
रहेछन् ।
सिमी र आलुको भरमा छाक टार्दाटार्दै फोइ आएको
वर्ष दिन पुग्न लागेको थियो । अफिसको मनग्गे भत्ताले जुम्ला र नाग्मा बजारबाट
भरिया लगाएर महँगोमा चामल मगाएर खान्थ्यौं । तर, भातको प्रत्येक गाँसले हामीलाई गिज्याइरहेको महसुस हुन्थ्यो । जुम्लाको मार्सी चामल शहरमा प्रख्यात रहे पनि यस भेगमा
बाह्रमास पुग्ने अन्न मुश्किलले सबैको घरमा भेटिन्थ्यो ।
अभावग्रस्त जिन्दगी गुजारिरहेका चियाबाजे र
उनी जस्ता पात्रहरु कालिकोटमा थुप्रै छन् । बुढ्यौलीमा पुर्ख्यौली थलो थामेर
जिन्दगीका सन्तापहरु हिउँमा चिस्याउँदै गुजारा गरिरहेका थुप्रै व्यक्ति यो दुर्गम
ठाउँमा भेटिन्छन् ।
अन्नको चरम अभाव र स्वास्थ्य सेवाको लाभबाट
टाढा रहेका कर्णालीवासी कुपोषणले मरनच्याँसे देखिए
पनि राम्रो जीवन जिउने आश सधैं गरिरहेका छन् । त्यसैले
यहाँका मानिस र सम्पूर्ण कर्णालीको विकासका लागि सुगममा बाँचिरहेका हामी सबैले
बेलैमा केही सोचौं, केही योगदान गरौं र सक्छौं भने कर्णाली क्षेत्रमै गएर केही समय जनसेवा गरौँ ।
देशभित्रैका सुन्दर गाउँहरुलाई सोमालिया
हुनबाट जोगाऔं ।
२०७३ चैत १० गते
१२:२६ मा प्रकाशित
Published: http://www.onlinekhabar.com/2017/03/560612/