Explore The Beautiful Life

As the sun rises start exploring the world .

Maintain Eternal Life to its Purest Level

Take a deep breath in the purest nature your soul gets purified automatically

Learning Photography

Capture that shot what other won’t see results the best photography.

To be a Leader

Get marked yourself in the crowd of the world .

To Unravel Everything Literary

Think and express differently from the entire world.

Showing posts with label witch. Show all posts
Showing posts with label witch. Show all posts

Monday, January 2, 2017

यसरी ठहर्याइयो दर्जिनी बज्यैलाई ‘बोक्सी’

यसरी ठहर्याइयो दर्जिनी बज्यैलाई ‘बोक्सी’



एक्कासी आमा चिच्याउन थाल्नुभयो– सर्प……..सर्प । सुतिरहेको हामी पनि ब्युझियौँ । अत्तालियौँ । काहालियौँ । कोठामा सर्प देखेपछि दाई र म रुन थाल्यौँ । पल्लो कोठाबाट साइला काका आएर हामी सबैलाई बाहिर बरण्डामा निकाल्नु भयो ।
होहल्ला सुनेर घरबेटी बा तल​ ओर्लिए । सर्प भन्ने थाहा पाएपछि भाला लिएरै आए । साइला काका, छिमेकका चिया बाजे र घरबेटि बा मिलेर कोठामा भुईपाताल खोजे । गोदरेज मुनी सर्याकसुरुक सुनेपछि बल्ल त्यहाँ बेरिएर बसेको गोम​न सर्प भेटे ।
घरबेटि बाले भाला हाने । चिया बाजेले लठ्ठी बजारे । अरु रमितेहरुले ढुङ्गा वर्षाए । गोम​न सर्पको हुकाँर​ ठाउँका ठाउँ सेलायो । क्षणभरमै मरियो । भालाको टुप्पोमा बेरेर​ मरेको सर्पलाई बाहिर निकाले ।
मरेको सर्प बाहिर निकाले पछि आमा छक्क पर्नु भयो । हामि दाजुभाई पनि छक्क पर्यौँ । अजिङगर जत्रै ठुलो देखिएको सर्प मारेर बाहिर निकाल्दा अन्धो बाम माछा जत्रै थियो ।
आमाले फ्याट्ट भनिहाल्नु भयो- हामीले देखेको सर्प यो होईन । निकै ठुलो थियो ।
सबै छक्क परे । अर्को पनि सर्प छ की भनेर फेरी चप्पाचप्पा खोजे । भेटेनन् । घरबेटी बाले आमालाई सोधे-तिमीले देखेको सर्प मोटै थियो त ? आमाले मुन्टो हल्लाउँदै हो भन्नुभयो ।
घरबेटीबा आफैलाई अलिअलि धामीको कर्म आउथ्यो । एकछिन के के बर्बराउनु भयो । बारीतिर अछेता छर्किनु भयो । उत्तरतर्फ टपरीमा चामल र अम्खोरामा पानी राखेर एकछिन काम्न थाल्नुभयो ।
काम्दै- यो त्यसकै काम हो । त्यही बोक्सीको सर्प हो । डस्न अजिङ्गर पठायो । हल्ला भयो । डस्न सकेन । हल्ला सुनेर म आए । मलाई झुक्याउन बोक्सीले अजिङ्गरको ठाउँमा गोम​न राखिदियो । त्यहि बोक्सीको बितण्डा हो यो ।
सर्पको आकार परिवर्तनबाट हामी अचम्ममा थियौँ नै । अझ घरबेटी बाले बोक्सीको वितण्डा हो भन्दा डरले त्यस रातभर सुत्न सकेनौँ ।
भोली पल्ट बिहान झन अचम्म भो । मरेको सर्प राखेको ठाउँमा बिहान हेर्दा सर्प​ थिएन । काकाहरुले भोलीपल्ट खोलामा फ्याल्ने भनेर सर्प अम्बाको बोटमुनी ईटाले चेपेर राखेका थिए । बिहान फाल्ने बेला लठ्ठीले उठाउन खोज्दा त्यस ठाउँमा सर्प भेटेनन् । वरपर पनि देखेनन् । मरेको सर्प एकाएक हरायो । धामी घरबेटी बाको कथन साबित हुन लागेको थियो ।
राती त घरबेटी बाले मात्रै बोक्सीलाई दोष लगाएका थिए। सर्प हराएपछि टोलका सबैले बोक्सीले नै आएर सर्प लगिछे भन्न थाले ।
म सानै थिए । बोक्सी कस्तो हुन्छ मलाइ थाहा थिएन । आमाको कुरा सुन्दा चाहिँ बोक्सी  दन्ते कथाको राक्षस्नी जस्तै होला भन्ने सोच्थे । सोचेर डर पनि लाग्थ्यो ।
केहि दिन सर्पको तर्क खुब जम्यो सबैको जिब्रोमा । चिया पसलमा बुढापाकाले गफमा बोक्सीको खुराक खुब मिसाए । कोही त छिटै बोक्सी पत्तो लगाएर कोशीपारी खेद्नु पर्छ पनि भन्थे ।
साता दिन नबित्दै हाम्रो कोठामा सर्प मारेका चिया बाजेको नाती बिरामी पर्यो । छेर्ने र ज्वरो आउने । काखैको त्यो बच्चा हनहनी ज्वरोले रोकोरोई गर्दथ्यो ।
त्यसबेला नजिकै स्वस्थ्य चौकी थिएन । एकजना अहेव थिए । बाजेले नातीको उपचार गर्न उसैकहाँ लगे । अहेबले सक्दो औषधी दिए । सक्दो सलायन पानी चढाए । दिसापिसाब जचाए । निको हुन्छ भन्ने अश्वासन दिए ।
दुई दिन सम्म पनि औषधीले छेउटुप्पो छोएन । घरेलु उपचार पनि गरे । न ज्वरो घट्यो । न छेर्ने बन्द भयो ।
दिशापिसाब को रिपोर्ट आएपछि अहेबले हैजा रहेछ । छिटै शहरको अस्पताल लैजाउ भने । बाजे चिन्तित भए ।
चिन्तित बाजेलाई सबैले उक्साए– नातीलाई हैजा-सैजा केही होईन​, बोक्सी लागेको हो । औषधीले छुन्न । बोक्सीले सर्प मारेको बदला लिन खोज्दै छे । नाती मारेर मरेको सर्प व्युत्याउन लागेकी छे । नाती जोगाउने भए छिटै धामीलाई बोलाउ । 
बाजेले अहेवको कुरो पत्याएन । गाउँलेको कुरा मान्यो । बाजे भोलीपल्ट नै डाडालाईन ग​ए । डाडालाईन गाउँमा नाम चलेका धामी थिए-  सालीग्राम झाक्री । सबैले झाक्रीबा मात्रै भन्थे ।
नातीलाई बोक्सीको प्रकोपबाट जोगाउन र सन्चो बनाउन साँझपख बाजेको घरमा झाक्रीबा आईपुगे । सगँसगैँ झाक्रीबाले बोक्सी पत्ता लाउने कुरा पनि सिसौली टोलभरी फैलियो । फैलिदै मेरो कान सम्म आईपुग्यो ।
त्यसरात​ चिया बाजेको अगेनामा धेरै जना भेला भ​एका थिए । निस्पट अध्यारो थियो । रात छिप्पिदै थियो । बाजेले राको बाले । झाक्रीले ढ्याङ्ग्रो पिट्न थाले ।
चौध महिनाको अर्ध चेत बालकलाई राको छेउ भुइमा सुताए । झाक्रीले मन्त्र फतफताउन थाले । हेर्दाहेर्दै एकछिनमा काम्न थाले । उफ्रिन थाले । जोडजोडले कराउन थाले । सबै दिशा तर्फ चामल फ्याक्न थाले ।
एकछिन उफ्रेपछि नातिको छेउमा पलेटी मारेर झाक्री काम्दै मन्त्र बक्न थाले । विरामी नातीको जिउभरि चामल छर्के । पानी छर्के । छेउमा धुप बाले ।
बाजेले रातो भाले ल्याए । झाक्रीले एकैचट्मा भालेको टाउको छिनाए । आकाशतिर हेरेर मन्त्र पढे । अनि अग्निलाई रगत चढाए ।
फेरी एकैछिनमा जोडजोडले ढ्याङ्ग्रो बजाए । बोक्सी, बोक्सी भन्न थाले । उत्तर तर्फ चामल फाल्दै, राको देखाउदै, बोक्सी भगाउन थाले ।
मन्त्र फलाक्दै र काम्दै  झाक्रीले आगोको लप्कोमा बोक्सीको आकृती देखे । गाउँलेलाई पनि देखाए । सबैले मानौ एउटा कुरुप तस्विर देखे झैँ हो मा हो मिलाए । आगोको लप्कोमा सबैले कस्तो आकृती देखे, त्यहाँ भ​एका मानिसले नै जानुन् । तर मैले चाहिँ कुनै आकृती देखेको थिईन ।
सबै हेर्दा मलाई रमाइलो लागिरहेको थियो । लयात्मक मन्त्रमा झाक्री पुनः बरबराए । र बच्चाको छेउमा ग​एर जोड्ले फेरी पानी छर्किए । बाजेको नाती निन्द्राबाट व्युझिएर रुन थाल्यो । झाक्रीको कर्मकाण्ड सकियो ।
"अब बोक्सीले यो नातीलाई छुदैन । यो सबै खरानी खोलाको बगरमा यही आउँदो औशीको रातमा गाड्नु । अनि सधैँभरिको लागि बोक्सी भाग्छे । बोक्सी यो टोलको उत्तरतर्फ छे । लोग्नेमारा हो । पानी नचल्ने जातको । साठी ननाघेकी । राती-राती मसान जान्छे । सर्प पालेकी र सर्प सगैँ खेल्ने होचो कदकी छे ।" यति भनेर झाक्रीले टाउको छिनिएको रातो भाले झोलामा हाले । दक्षिणा बटुले । अनि बाजे सगँ थप दक्षिणा लिएर आफ्नो बाटो तताए ।
झाक्रीको धामी कलाबाट पनि बाजेको नातीको पखला थामिएन । झाडा सगैँ झन बान्ता पनि बढ्यो। पानीको अभावले शरीर सुक्दै गयो । भोलीपल्ट पखला निकै भ​एर सधैभरिको लागि बाजेको नातीले यो धर्ती छोडेर गयो ।
नातीको अन्तिम संस्कारपछि टोलमा बाजेले सबै बुढापाकाहरुलाई भेला गराए । जान्ने बुझ्ने डाके । सबैले सरसल्लाह गरे । भविष्यको सकंटको बारे विचार गरे । बोक्सीको प्रकोप बारेमा सचेत हुनपर्ने कुरा जाहेर गरे । अनि झाक्रीबाले दिएको हुलीया बमोजीम सबैले आ-आफ्नै अड्कल लगाए:
-त्यै पोक्ची हो बोक्सी ।
-माइलो त मरेर गयो । त्यसैको स्वास्नी बोक्सी रहिछे ।
-हाम्रो लुगाफाटा सिलाउथिन् । टुनामुना लाएर दिन्थिन् क्यारे । दर्जीनी बज्यै नै हो बोक्सी ।
सबैको कुराबाट अन्तमा दर्जीनी बज्यै नै बोक्सी ठहरिन् ।
कक्षा ६ मा पढ्थें । त्यतिखेर स्कुल पल्लो गाउँमा थियो । एकदिन स्कुलबाट फर्किदै थिए । सोमबारे हाट लाग्ने मैदानमा धेरै मान्छे जम्मा भएको देखेँ । फुच्चे थिए । सबैको टाङमुनीबाट छिरेर भिड​को अगाडी पुगे । अगाडी पुग्दा पूर्वतिर रहेको बकैनोको रुखमुनी दर्जिनी बज्यैलाई बाधेर राखेको देखे ।
चिया बाजे झोँकिदै – ‘मेरो नाती यसैले खायो । यसलाई मार्नु पर्छ’ भन्दै थिए ।
हाम्रा घरबेटीबा- ‘यो बोक्सीले अरु थुप्रै केटाकेटी खान​ सक्छे । गाउँबाट खेद्नुपर्छ यसलाई’ भनेर कराउँदै थिए ।
ज्यामिरे बुढो- ‘बज्यै हुन् । यही गाउँकी हुन् । एकचोटी सचेत गराएर अनि चेतावनी दिएर हेरौँ । त्यसपछि पनि केही गरिन् भने अनि गाउँ निकाला गरौला’ भन्दै थिए ।
अरु पाका मान्छेहरु ज्यामिरे बुढोको कुरोमा सहमत देखिएनन् ।
सबै मिलेर दर्जिनी बज्यैलाई दिसाको झोलपानीले नुहाउने, कालो मोसो दल्ने अनि ढुङ्गा हान्दै गाउँबाट खेद्ने सल्लाह गरे । बिर्खे दाईले ब्याट्रीको कालो धुलो निकालेर कालो मोसो बनाए । दिसाले नुहाएकी बज्यैलाई चियाबाजेले कालो मोसो दले । त्यसपछि बज्यैको डोरी फुकाले । अनि सबैले ढुङ्गा हान्दै कोशीको तिरैतिर कोसौ टाढा सम्म लखटे ।
हेर्दाहेर्दै सिसौली टोलमा गाउँलेले बोक्सी जन्माएर कुरुर तरिकाले धपाउन पनि भ्याए । दर्जिनी बज्यै साच्चै बोक्सी थिईन् या थिईनन् ? त्यो समाजले नै जानुन् ।
तर​ दर्जिनी बज्यैलाई बोक्सी बनाउनमा हाम्रो पनि अप्रत्यक्ष भूमिका थियो । हुनसक्छ त्यतिबेला काहालिएर हामीले दुब्लो पातलो सर्पलाई नै मोटो अजिङ्गर​ देख्यौँ की ? राती राखेको ठाउँबाट मरेको सर्प कुकुर वा बिरालोले कतै पुर्याएको थियो की ? तर सबैले कथित​ बोक्सीलाई दोष​ लगाए ।
आज​ पन्ध्र वर्षपछि यो घट्ना सम्झिदाँ घिन लागेर आउँछ । चिया  बाजेको नाती वास्तवमा त्यतिखेर बोक्सी प्रकोप भन्दा पनि हैजा प्रकोपले मरेका थिए। अहेवले बाजेलाई बुझाउँन सकेनन् । बाजेले अहेवको  कुरा बुझन चाहेनन् । म हुर्किएको त्यतिबेलाको रुढीग्रस्त समाजमा यस्ता कुरा कसैले बुझेनन् र बुझ्न चाहेनन् ।तर अवोध दर्जिनी बज्यै सिसौली टोलमा अनाहकमा बोक्सी ठहरिए र लखेटीए ।

-धिरज चौधरी

प्रकाशीतः http://www.suvadin.com/news/darjini-bajai-