Explore The Beautiful Life

As the sun rises start exploring the world .

Maintain Eternal Life to its Purest Level

Take a deep breath in the purest nature your soul gets purified automatically

Learning Photography

Capture that shot what other won’t see results the best photography.

To be a Leader

Get marked yourself in the crowd of the world .

To Unravel Everything Literary

Think and express differently from the entire world.

Showing posts with label laboratory research work. Show all posts
Showing posts with label laboratory research work. Show all posts

Thursday, August 24, 2017

पिएचडी फोविया

अनुभव​
पिएचडी फोविया

“अनुसन्धान त्यो कार्य हो जुन म गरिरहेको हुन्छु तर मलाई नै थाहा हुदैन म के गरिरहेको हुन्छु ।“
कोरियाको ख्योङ्गी विश्वविध्यालयको प्रयोगशालामा मेरो दिनचर्या यस्तै छ​ । दिनहुँ चौध-पन्ध्र​ घण्टा व्यस्त रहन्छु । तर मलाई स्वयम थाहा हुदैन म के मा व्यस्त रहन्छु । मध्यरात ओछ्यानमा ढल्किने बेला सोच्छु- “आज के गरे ?” छटपटी सुरु हुन्छ । निन्द्रा लाग्दैन । दिनभरिको उपलब्धी केही भेट्दिन । अर्को दिन फेरी उही कामहरुको चाङ जस्ताको त्यस्तै देख्छु ।
प्रारम्भमा पिएचडी को विध्यार्थी हुदाँ र अहिले केही अन्तराल बिताईसक्दा धेरै उतारचढाव  भोगीसके र भोग्दैछु । महत्वाकाङ्क्षाहरु घाताङ्कीय क्रममा उधो लाग्दै ग​ए । पहिलो वर्ष मेरो अध्ययनको विषयमा के-के न गर्छु जस्तो लाग्थ्यो । थुप्रै रिसर्च पेपरहरु निकाल्छु जस्तो लाग्थ्यो । तर निरस र एकैखाले दैनिकीले गर्दा उद्देश्यहरुमा नियमित ह्रास आउँदै गयो । विश्वविध्यालयको न्युनतम आवश्यकता पुर्याएर दिक्षित हुन मात्रै पाए हुन्थ्यो जस्तो पनि लाग्न थाल्यो ।
पिएचडी सोधकर्ताको रुपमा मेरो जीवन​ एउटा निश्चित र महत्वपूर्ण  उद्देश्यका प्राप्तीका निम्ति अनुबन्धित छ । तर​ उद्देश्य चुम्ने समय सम्म मेरो मथिगंलमा पिएचडी फोवियाका अनेकन प्रारुपहरु देखा पर्दैछन् ।
मोवाइलको अलराम सगैँ ब्युझिन्छु । प्रोफेशर भन्दा अघि नै ल्याव पुग्ने कोशिस गर्छु । आफ्नो डेस्कमा डेस्कटप अन गरेर कफी बनाउँछु । कफी पिउँदै एकलट इमेल चेक गर्छु । अनलाईन न्युजहरु सरसर्ती हेर्छु । सामाजिक संजालाहरुमा एकफन्को मार्छु । त्यसपछि ल्यावको काम तिर ध्यान मोड्छु । अघिल्लो दिनको अधुरो कामलाई निरन्तरता दिन्छु । यतिकैमा लन्च टाइम हुन्छ । लन्च पछि पुनः काम सुरु गर्छु । काम गर्यो , मेहनत गर्यो, समय  खर्चियो । तर जीव विज्ञानको अनुसन्धानमा परिणामहरु प्रायः हात लाग्यो सुन्य हुन्छ ।
साझँ पर्छ । मस्तिष्कको उर्जा शिथिल भैसकेको हुन्छ​ । सुन्य परिणाम​ले फ्रस्टु पारेको हुन्छ । ल्याव नोट​, ल्याव रिपोर्ट​, पेपर र रिसर्च प्रपोजलको कामले रातको दश बजिसकेको पत्तो चल्दैन । यसरी पुरै दिन र लगभग आधा रात पिएचडीको नाममा समर्पण भईरहेको हुन्छ । अनेक तिक्तताका बाबजुद​ मेरो “पिएचडी चक्र” यसरी नै चलायमान भईरहेको छ​ ।
मेरो “पिएचडी चक्र” कोरियामा अध्ययनरत धेरै साथीहरु सगँ मेल खान्छ होला ।  पिएचडी कालमा हामी सगँ विरलै रोमान्टिक र रोमान्चित विकेन्ड हुन्छ । समय लाग्ने प्रयोगहरुले गर्दा धेरैले त ल्यावलाई नै आफ्नो डेरा बनाउछन् । फाष्टफुडहरु प्रायः हाम्रो लन्च बन्छ । फ्रिजका वासी खानाहरु हाम्रो नियमित डिनर हुन्छ । कहिलेकाहीँ हुने जमघटमा साथीहरु उही ड्याङका हुन्छन् । त्यस्ता पार्टीहरुमा गफहरु पनि दिक्क लाग्ने अनुसन्धान र ल्यावकै सेरोफेरोमा सेलाउँछ​ ।
पिएचडीको उत्तरार्धमा त इमेलहरुले पनि चैनले बस्न दिदैन । इन्बक्समा टोपलिएका इमेलहरु कुनै उत्साहजनक हुन्छ त कुनै निकै पिडादायक । रिसर्च पेपरहरु राम्रो जर्नलमा “अक्सेप्टेड” लेखिएको इमेलको प्रतिक्षामा हाम्रो समय तड्पिन्छ । पेपर प्रकाशनार्थ बुझाईसके पश्चात हामी “रिजेक्टेड”​, “रिभ्यु”, “अक्सेप्टेड” जस्ता शब्द सुसज्जित इमेलको पर्खाईमा रहन्छौँ । एउटा पेपर कम्तीमा चार​, पाँच वटा जर्नलबाट “रिजेक्टेड” को घाउ नपाए सम्म छापिन मुश्किल पर्छ । इमेल रिफ्रेश गरिरहने लत  लाग्छ । र कुनै इमेल आयो भने पेपर सम्बन्धित नै हो की भन्ने भान पर्छ ।
एकाध विदामा कतै ग​एको बेला कसैले सोधिटोपल्छन् – “तिम्रो पिएचडीको रिसर्च के हो ? कतिवटा जर्नल छापियो ? कहिले ग्र्याजुएशन हुदैछौँ ?” अवोध केटाकेटीलाई ठूलाबडाले चुम्बन गरेर, गाला सुम्सुम्याएर ​दिक्क बनाए जस्तै, यस्ता प्रश्नहरुले अनाहकमा मलाई दिक्क बनाउँछ । मनमा चसक्क घोच्छ । आफैलाई बुझ्न मुश्किल अनुसन्धानको विषयमा अरुलाई कसरी प्रस्ट्याउनु ? दर्जनौँ जर्नलले रिजेक्टेड गरेर हतोत्साहीत पारेको बेला रिसर्च पेपर प्रकाशन गर्न कति पापड पेल्नु पर्छ भन्ने कुरा कसरी व्याख्या गर्नु ? दिक्षित हुने दुरदुर सम्म कुनै ठेगान आफैलाई थाहा नहुदाँ पिएचडी कहिले सकिन्छ भनेर कसरी उत्तर फर्काउनु ?
सबैको पिएचडीको व्यथा आआफ्नै खाले छन् । गर्लफ्रेन्ड हुनेहरु पिएचडीको विषाक्तले ब्रेकअपको सघांर​ सम्म पुग्छन् । जहिले ल्याव-ल्याव भनिरहदाँ विचरी गर्लफ्रेन्डहरु पनि निराश बन्छे । विकल्प खोज्न बाध्य बन्छे । अनि आफ्नो बाटो तताउन विवश पर्छे । बिहे गरेकाहरुले आफ्नी पार्टनरलाई समय दिन नपाउँदाको बेचैनी झन कहाली लाग्दो होला ।
पिएचडी फोवियाको आर्थिक पिडा झन भयानक छ​ । म जस्ता न्युनतम स्टाइपेन्डमा गुजारा चलाउनेको त पिएचडी एउटा कहर नै सावित हुन्छ । त्यसमाथि घरपरिवार, श्रीमती पनि सोही स्टाइपेन्डमा निर्भर छ भने महिनाको अन्त्यतिर खल्तीमा मान​ओन पनि बच्दैन । दौतरीहरु कोहि विदेशमा त कोही स्वदेशमा आर्थिक सवलता तिर उन्मुख भईरहदाँ हामी जस्ता पिएचडीका विध्यार्थीहरु पैसा कमाउने उमेरमा सम्पूर्ण जोश अनुसन्धानमा केन्द्रीत गर्छौ । चार​, पाँच वर्ष अवधीमा फेसबुकहरुमा पोस्टिएका तिनीहरुका अर्थिक विलाशिता झल्किने तस्विरहरुले आफैँलाई गिज्याईरहेको महसुश​ हुन्छ ।
जीवन यस्तो मोडमा अड्किन्छ जहाँबाट हामी पिएचडी हापेर फर्किन मुश्किल पर्छ । सुरुवातमा निराशाले ढाक्छ । सबै कुरो भ्रम लाग्छ । केही बुझिदैन । नैराश्यता छाउँछ । त्यसमाथि विल्कुलै भिन्न भूगोलमा बसेर पिएचडी गर्नुपर्दा मुखमा चिराइतो चपाए भन्दा पनि तितो लाग्छ  जीन्दगी ।
पिएचडी प्रती यति नकरात्मक हुन्छौँ की पिएचडी शब्द सुन्ने बित्तिकै पनि तर्सिन थाल्छौ । एक प्रकारको सिन्ड्रोमको विकास तिव्र गतिमा हुन थाल्छ । केही कालखण्ड सम्म हामी पिएचडी सोधकर्ताहरु कुनै न कुनै पिएचडी फोवियाबाट अवश्य गुज्रिरहेका हुन्छौँ ।
यस्ता विविध समस्याहरुको पर्खाल​ भत्काएर पिएचडी सकाउनु विष मन्थन गरेर अमृत बनाउनु बराबर हो । भ्रमैभ्रम र अनिश्चितता मडारिरहेको बेला सोधकर्ताहरुको जीन्दगीमा एउटा यस्तो घडी आउँछ जहाँबाट​ उसले भ्रम र अनिश्च्यहरुलाई तोड्न सफल हुन्छ । एक्कासी आकाशमा विजुली चम्के झैँ आफ्नो पिएचडी चक्रमा सही प्रकाश पहिल्याउन पिएचडी सोधकर्ताहरु सक्षम हुन्छन् ​।
समग्रमा पिएचडी अध्ययनका बेला धेरै उतारचढाव सामना गर्नु पर्छ । सबै अड्चनहरु सगँ जुध्दै अघि बढ्दा पिएचडी सकिदाँ सम्म हामी जीवनमा आईपर्ने सबैखाले चुनौतीहरु सगँ लड्न सक्षम बनिसक्छौँ । चुनौती र भ्रमको भुमरीमा रुमलिरहदाँ जीवनमा के गरिरहेको छु भन्ने अचम्म लाग्न  सक्छ । तर सुस्तरी हामी बुझ्दैँ जान्छौ जीन्दगी भनेकै चुनौतीको अर्को रुप हो । पिएचडी सगँसगैँ हामी जीवन जीउने कला समान्तर रुपमा सिक्दै ग​ईरहेका पनि हुन्छौँ । अनुसन्धानमा व्यस्त रहिरहदाँ हामी सिर्जना र बौदिकताको आडमा जीवनमा आईपर्ने अधिकांश बाधा-अड्चन फुकाउन पनि सिकिरहेका हुन्छौँ ।
अन्त्यमा त्यो दिन आउँछ, जुन दिनको प्रतिक्षाका लागि हामी वर्षौ प्रयोगशालामा बिताएका हुन्छौँ । दिक्षित हुने दिनमा खुशीको बाढीले पिएचडीका सबै फोवियाहरुलाई बगाएर पाखा लगाईदिन्छ । दिक्षित पश्चात हाम्रो लागि एउटा सुन्दर भविष्य कुरेर बसिरहेको भेट्छौँ । अध्ययन पश्चात  आफ्नै देश​, आफ्नै समाजमा फर्केर पुग्दा सामाजीक प्रतिष्ठाको चुली पनि निकै चुलीएको आभाश​ हुन्छ । पिएचडीको आफ्नै मान भेट्छौँ, आफ्नै शान भेट्छौँ र आफ्नै गुनगान गुन्जिएको भेट्छौँ । त्यहीभ​एर पिएचडीको अनुसन्धानमा डुबेको बेला हामी कोही नअत्तालियौँ, नहड्बडाऔँ, नडगमगाऔँ ।



-धिरज चौधरी
http://sonsik.org.np/wp-content/uploads/2014/08/SONSIK-SMARIKA-5-SONSIK-Souvenir-Volume-5.pdf