Explore The Beautiful Life

As the sun rises start exploring the world .

Maintain Eternal Life to its Purest Level

Take a deep breath in the purest nature your soul gets purified automatically

Learning Photography

Capture that shot what other won’t see results the best photography.

To be a Leader

Get marked yourself in the crowd of the world .

To Unravel Everything Literary

Think and express differently from the entire world.

Thursday, August 31, 2017

अन्तरजातिय बुहारी

कथा
अन्तरजातिय बुहारी


वाक चतुर्याईमा म अलिक लुरे नै थिए । कम बोल्ने स्वभावले गर्दा काम बाहेकका विषयमा त्यति गफिन सक्दिन थिए । तर अविना सगँ कुन रसायनले काम गर्यो त्यसको भेउ नै पाईन ।  कुराहरु यति धेरै फुर्थ्यो, मानौँ कुराहरुको मूल फुटेर गफहरुको बाढीमा एक अर्कालाई सुनेर बगिरहन्थ्यौँ । ऊ भन्थी- तपाईको कुराहरुबाट​ म मोहित हुन्छु । सुनिरहुँ लाग्छ तपाईका शब्दहरु । काम सगँसगैँ समयहरु उनीसगँ प्रेमिल बन्दै गयो र हामी एक अर्काको लागि अभिन्न पात्र बनिसकेका थियौँ ।
अविना र मेरो महत्वपूर्ण​ प्रयासबाट लम्पनटारमा सन्तुलित आहार सम्बन्धि सचेतनाले राम्रै प्रभाव पारिसकेको थियो । वर्ष दिनको कार्य प्रगति विवरणबाट काठमाण्डौँ स्थित अफिसमा पनि सबै सन्तुष्ट थिए । त्यहिभ​एर प्रोजेक्ट थप एक वर्ष लम्बिएला भन्ने आशामा थियौँ । तर हाम्रो आशा विपरित फन्डको अभावका कारण प्रोजेक्ट लम्विन सकेन । प्रोजेक्ट नभएपछि म काठमाण्डौँ फर्किनु पर्ने भयो । काठमाण्डौँ फर्किनु पर्ने कुराले सबै भन्दा ठुलो कम्पन अविनाको मनमा पर्यो । वर्ष दिनमा हामी दुवै एकअर्काको आड, भरोसा भइसकेकाले उनलाई सम्झाउन मलाई हम्मे हम्मे भयो ।
काठमाण्डौँ फर्केपछि  अविना सगँ नियमित असिमित प्रेमलाप भ​ईरहन्थ्यो ।
फोनमा ऊ भन्थी- "तपाईको उपस्थितिले मेरो जीवनमा केही नहुदाँ पनि सबै थोक छ । तपाईको साथले म जन्मिनुको सार्थकता बोध हुन्छ ।"
उनको कुराले म छट्पटिन्थे । तत्कालै लम्पनटार गइहालुँ जस्तो लाग्थ्यो । गएर सधैभरिको लागि उनलाई आफ्नो बनाउँ जस्तो लाग्थ्यो ।
टाढा रहेता पनि दैनिक गफले हाम्रो सम्बन्ध झन्-झन् फस्टाउदै थियो । म उनलाई बिहेको प्रस्ताव समेत राख्न भ्याईसकेको थिए । ऊ प्रफुल्ल हुन्थी । जिस्किदै हुन्छ भन्थी र भिडियो च्याटमै हामी बिहे गर्न पनि भ्याउथ्यौँ । निर्दोष मनले एकअर्कालाई यति विघ्न माया गर्दथ्यौँ की लाग्थ्यो हाम्रो सम्बन्धमा कुनै सकस छैन ।
तर एकदिन घरमा हजुरमुमा बित्नु हुदाँ काजक्रियाका क्रममा भाउजु अलग्गै बस्नु परेको देख्दा अविना सगँ मेरो सम्बन्धमा जातिय विभेदको ठुलै खाडल रहेछ भन्ने भेउ बल्ल पाए ।
भाउजु बस्नेतकी छोरी हुनुन्थ्यो । हामी उपाध्यय बाहुन । दाई र भाउजुको बिहेको बेला दुई परिवारहरुलाई रिझाउन दाईले धेरै नै कसरत गर्नु भ​एको कुरा सम्झेँ । बस्नेतकी छोरी बिहे गर्न त दाईलाई त्यसबेला महाभारत नै साम्य पार्नु परेको थियो । मैले झन मगर्नी बिहे गर्छु भन्दा कत्रो युद्द साम्य पार्नु पर्ने होला । यतिका दिन सम्म समाजमा बेला-बेला उठिरहने जातिय बहशहरुमा मलाई कुनै चासो थिएन । तर निकट भविष्यमा अविना सगँ जीवन व्यतित गर्न मैले परिवारमा एउटा ठुलै जातिय बिद्रोह गर्नु पर्ने दिन देखिरहेको थिए ।
हजुरमुमाको काजक्रिया पश्चात बोझिलो मन लिएर भए पनि नियमित अफिसमा व्यस्त हुन थाले । साँझ घण्टौँ अविना सगँ गफमा व्यस्त हुन्थे ।
कहिलेकाहीँ अविनाबाट अलग हुने सोच पनि आउँथ्यो । दाई जस्तो विद्रोह गर्ने आँट म मा थिएन । फेरी घरले सधैँ दाई भन्दा बढी आशा म बाट​ राखेको हुन्थ्यो । मगर्नी बिहे गर्दा घर​-परिवारको आशामा नराम्रो तुषारापात पर्न जान्थ्यो ।
अन्तरजातिय विवाहका कारण एउटै परिवारमा भाउजुले व्यहोर्दै आउनु भ​एको विभेदपूर्ण व्यवहारहरु सम्झेँ । घरमा कोही बित्नु हुदाँ मात्रै होइन​, समय​-समयमा घरमा लगाईने पूजाआजामा पनि भाउजु बस्न पाउनुहुन्नथ्यो । धार्मिक कार्यक्रमहरुमा भाउजुलाई एक किसिमको अघोषित बर्जित नै लगाईएको थियो ।
समाजमा उपल्लो वर्ग कहलिएको क्षेत्री-बाहुन बिचमा बिहेबारी हुदाँ त एक किसिमको छुवाछुत अझैँ गाडिएकै छ । तल्लो वर्ग कहलिएको दलित समुदायहरु सगँ समाजले अझ कुन हद सम्मको छुवाछुत लादेको होलान्। यस्तै कुसोचहरुमा अविनामाथि आईपर्ने विभेद सम्झेँ । परिवारको मन्जुरीमै ऊ सगँ बिहे भयो भने पनि धार्मिक क्रियाकलाप लगायत अन्य थुप्रै परम्पराहरुमा उनले एक किसिमको भाउजु जस्तै आफ्नै नातेदारहरुबाट विभेदकारी नियति अवश्य भोग्नु पर्ने देखेँ ।
समयको गतिमा हाम्रो प्रेम दुई वर्ष पुग्न लागेको थियो । दिनहरु बित्दै जादाँ उनले पनि काठमाण्डौँमा एउटा राम्रो खाध्य कम्पनिमा जागिर पाइसकेकी थिई । उनी काठमाण्डौँ आएपछि मन मात्रै होइन हामी तनले पनि निकै नजिक थियौँ ।
गफ सगँसगैँ भेटहरुको रफतार बढ्दै थियो । काठमाण्डौँका लगभग सबै डेटिङ स्पटहरु चाहरिसकेका थियौँ । उनको आगमनबाट म सन्तुष्ट थिए । तिनले भरपुर माया गर्थी । स्वार्थ रहित । धमिलो रहित । उद्देश्य रहित । संवेदनाले भरिपूर्ण माया छताछुल्ल पार्थी ।
मलाई भने जातभातको काडाँले घोचिरहन्थ्यो । कहिलेकाहीँ यति गहिरो बिझाउँथ्यो की अविनालाई भविष्यमा आईपर्ने मानशिक तनावबाट मुक्त राख्न बेलैमा प्रेमको साङ्लो चुडाईदिउँ जस्तो लाग्थ्यो । तर सक्दिन थिए । उनलाई देख्ने बित्तिकै, भेट्ने बित्तिकै कायल​ पर्थे । सबै खील​हरु फूल झैँ नरम लाग्न थाल्थ्यो । त्यहिभ​एर मैले कहिल्यै जातभातको तुषलाई ऊ समक्ष खोल्ने चेष्टा गरिन​ । सबै समस्याहरुलाई समयको घेराबन्दीमा थन्काइदिए । र निसंकोच अविनाको प्रेममा लिन हुन थाले ।
एकसाँझ​ घरमा मेरो बिहेको कुरा चल्ने क्रममा साहस बटुलेर अविनाको कुरा अगाडी सारे ।
पहिला फोटो देखाएँ ।
ममीले "के थरी " भनेर​ सोध्नु भयो ।
अक्मकिदै "थापा……मगर" भने ।
त्यति भन्न नपाउँदै ममी र डेडी रिसले चुर हुनुभयो । दुवैजना उठेर आफ्नो कोठा जानु भयो । दाई-भाउजु केहि बोल्नु भ​एन​। त्यसपछि केहि दिन मेरो बिहेको चियोचर्चो निस्केन ।
दाईले अन्तरजातिय बिहे गर्नु भ​एकोले ममीडेडीलाई सम्झाउन केही सहज त थियो । तर अर्को समस्या घरको मुख्य व्यक्ति हजुरबुवालाई मनाउन पहाड फोर्नु बराबर थियो । ८६ वर्षको वृद्ध हजुरबुवालाई भाउजुको हातको भान्सा त चल्दैन थियो, मगर्नीको हातको भान्सा त झन् अछुत हुने भईहाल्यो  ।
एकदिन अफिसमा एउटा इमेल आयो । सउल नेशनल विश्वविध्यालय​ दक्षिण कोरियामा विध्यावारिधि अध्ययनका निम्ति छात्रवृति पाएको खबर रहेछ । धेरै अगाडी छात्रवृतिका निम्ति उक्त विश्वविध्यालयमा आवेदन ​दिएको थिए । लगभग एकवर्ष पछि छात्रवृति उल्लेख गरेको इमेलले निकै खुशी बनायो । हतारहतार अविनालाई फोन गरेर सुनाए । घरमा पनि खबर गरे ।
छात्रवृतिको खुशी सगैँ विदेश जाने भ​एपछि अविना सगँको बिहेको लागि डेडीममी पनि आफैँ राजी हुनुभयो । विदेश जाने चटारो, समयको अभाव र मुख्य कुरो अन्तरजातिय बिहे हुने भ​एकाले अविना र मेरो विवाह एकदमै सामन्य रुपमा सम्पन्न भयो ।
बिहेको एकसाता पछि हामी दुवै दक्षिण कोरियाको लागि उड्यौँ । उडान भरि अनेक कुराहरु मन्थन गर्दै बित्यो । दाई र मैले दुवैले अन्तरजातिय विवाह गरेकाले ममीडेडीको आफ्नै जातमा धुमधामले हाम्रो बिहे गर्ने सपना त्यसै तुहिएको थियो ।
धेरै विचारहरु फुरिरहेको मेरो मनमा खुशीको तरङग पनि महशुस गरिरहेको थिए । धन्न​ विदेश जाने भएपछि हाम्रो विहेले मुर्तरुप लिएको थियो । विदेश जाने भ​एरै अविनाले आफ्नै परिवारमा अन्तरजातिय कलह तत्काल​ भोग्नु परेन । रीतितीथिहरुमा बन्देज सहनु परेन । विदेश जाने भ​एरै उनले आफ्नै परिवारमा अनेक परम्परागत अछुत व्यवहारको शिकार महशुस तुरुन्तै गर्न पाइनन् । भविष्यमा जे पर्ला पर्ला यस्तै कुराहरु सोच्दै थिए ।
अविनाले- "के सोचमा डुब्नु भयो" भन्दा झल्यासँ  भ​ए ।
मैले कुरा टार्दै भने -" केहि होइन, कोरियामा हाम्रो भविष्य कस्तो होला भनेर कल्पिएर​ भित्रभित्रै रोमान्चित भा’को ।"
कोरियाको सुखद जीवन र विध्यावारिधिको सोधमा व्यस्त रहदा दुई वसन्त बितेको पत्तै पाईन । एकदिन घरबाट खबर आयो- हजुरबुबा सिकिस्त हुनुन्छ । तलाई खोज्दै हुनुन्छ । सक्छस भने नेपाल तुरुन्तै आइज ।​
लगभग ९० वर्षको हजुरबुबाको अनुहार अन्तिम पटक हेर्न मेरो मन छट्पटिन थाल्यो । विदा मिलाएर अविना र म नेपाल फर्कियौँ । तर हामी आईपुग्दा निक्कै ढिला भईसकेको रहेछ । हजुरबुबालाई दागबत्ति पनि दिईसक्नुभ​एको रहेछ ।
सबैजना काजक्रियाका लागि गगंबु स्थित क्रियाघरमा हुनुन्थ्यो​ । त्यहाँ अविना र म पुग्दा भाउजुले हतारहतार आविनालाई आफु बसेको अलग्गै ठाउँमा लग्नुभयो ।
म ट्वाल्ल पर्दै उही हजुरमुमा बित्दाको भाउजुले झेल्नु परेको अछुतो व्यवाहार पुनः दोहरिदै ग​एको दृश्य देखिरहेको थिए ।


-धिरज चौधरी

Thursday, August 24, 2017

पिएचडी फोविया

अनुभव​
पिएचडी फोविया

“अनुसन्धान त्यो कार्य हो जुन म गरिरहेको हुन्छु तर मलाई नै थाहा हुदैन म के गरिरहेको हुन्छु ।“
कोरियाको ख्योङ्गी विश्वविध्यालयको प्रयोगशालामा मेरो दिनचर्या यस्तै छ​ । दिनहुँ चौध-पन्ध्र​ घण्टा व्यस्त रहन्छु । तर मलाई स्वयम थाहा हुदैन म के मा व्यस्त रहन्छु । मध्यरात ओछ्यानमा ढल्किने बेला सोच्छु- “आज के गरे ?” छटपटी सुरु हुन्छ । निन्द्रा लाग्दैन । दिनभरिको उपलब्धी केही भेट्दिन । अर्को दिन फेरी उही कामहरुको चाङ जस्ताको त्यस्तै देख्छु ।
प्रारम्भमा पिएचडी को विध्यार्थी हुदाँ र अहिले केही अन्तराल बिताईसक्दा धेरै उतारचढाव  भोगीसके र भोग्दैछु । महत्वाकाङ्क्षाहरु घाताङ्कीय क्रममा उधो लाग्दै ग​ए । पहिलो वर्ष मेरो अध्ययनको विषयमा के-के न गर्छु जस्तो लाग्थ्यो । थुप्रै रिसर्च पेपरहरु निकाल्छु जस्तो लाग्थ्यो । तर निरस र एकैखाले दैनिकीले गर्दा उद्देश्यहरुमा नियमित ह्रास आउँदै गयो । विश्वविध्यालयको न्युनतम आवश्यकता पुर्याएर दिक्षित हुन मात्रै पाए हुन्थ्यो जस्तो पनि लाग्न थाल्यो ।
पिएचडी सोधकर्ताको रुपमा मेरो जीवन​ एउटा निश्चित र महत्वपूर्ण  उद्देश्यका प्राप्तीका निम्ति अनुबन्धित छ । तर​ उद्देश्य चुम्ने समय सम्म मेरो मथिगंलमा पिएचडी फोवियाका अनेकन प्रारुपहरु देखा पर्दैछन् ।
मोवाइलको अलराम सगैँ ब्युझिन्छु । प्रोफेशर भन्दा अघि नै ल्याव पुग्ने कोशिस गर्छु । आफ्नो डेस्कमा डेस्कटप अन गरेर कफी बनाउँछु । कफी पिउँदै एकलट इमेल चेक गर्छु । अनलाईन न्युजहरु सरसर्ती हेर्छु । सामाजिक संजालाहरुमा एकफन्को मार्छु । त्यसपछि ल्यावको काम तिर ध्यान मोड्छु । अघिल्लो दिनको अधुरो कामलाई निरन्तरता दिन्छु । यतिकैमा लन्च टाइम हुन्छ । लन्च पछि पुनः काम सुरु गर्छु । काम गर्यो , मेहनत गर्यो, समय  खर्चियो । तर जीव विज्ञानको अनुसन्धानमा परिणामहरु प्रायः हात लाग्यो सुन्य हुन्छ ।
साझँ पर्छ । मस्तिष्कको उर्जा शिथिल भैसकेको हुन्छ​ । सुन्य परिणाम​ले फ्रस्टु पारेको हुन्छ । ल्याव नोट​, ल्याव रिपोर्ट​, पेपर र रिसर्च प्रपोजलको कामले रातको दश बजिसकेको पत्तो चल्दैन । यसरी पुरै दिन र लगभग आधा रात पिएचडीको नाममा समर्पण भईरहेको हुन्छ । अनेक तिक्तताका बाबजुद​ मेरो “पिएचडी चक्र” यसरी नै चलायमान भईरहेको छ​ ।
मेरो “पिएचडी चक्र” कोरियामा अध्ययनरत धेरै साथीहरु सगँ मेल खान्छ होला ।  पिएचडी कालमा हामी सगँ विरलै रोमान्टिक र रोमान्चित विकेन्ड हुन्छ । समय लाग्ने प्रयोगहरुले गर्दा धेरैले त ल्यावलाई नै आफ्नो डेरा बनाउछन् । फाष्टफुडहरु प्रायः हाम्रो लन्च बन्छ । फ्रिजका वासी खानाहरु हाम्रो नियमित डिनर हुन्छ । कहिलेकाहीँ हुने जमघटमा साथीहरु उही ड्याङका हुन्छन् । त्यस्ता पार्टीहरुमा गफहरु पनि दिक्क लाग्ने अनुसन्धान र ल्यावकै सेरोफेरोमा सेलाउँछ​ ।
पिएचडीको उत्तरार्धमा त इमेलहरुले पनि चैनले बस्न दिदैन । इन्बक्समा टोपलिएका इमेलहरु कुनै उत्साहजनक हुन्छ त कुनै निकै पिडादायक । रिसर्च पेपरहरु राम्रो जर्नलमा “अक्सेप्टेड” लेखिएको इमेलको प्रतिक्षामा हाम्रो समय तड्पिन्छ । पेपर प्रकाशनार्थ बुझाईसके पश्चात हामी “रिजेक्टेड”​, “रिभ्यु”, “अक्सेप्टेड” जस्ता शब्द सुसज्जित इमेलको पर्खाईमा रहन्छौँ । एउटा पेपर कम्तीमा चार​, पाँच वटा जर्नलबाट “रिजेक्टेड” को घाउ नपाए सम्म छापिन मुश्किल पर्छ । इमेल रिफ्रेश गरिरहने लत  लाग्छ । र कुनै इमेल आयो भने पेपर सम्बन्धित नै हो की भन्ने भान पर्छ ।
एकाध विदामा कतै ग​एको बेला कसैले सोधिटोपल्छन् – “तिम्रो पिएचडीको रिसर्च के हो ? कतिवटा जर्नल छापियो ? कहिले ग्र्याजुएशन हुदैछौँ ?” अवोध केटाकेटीलाई ठूलाबडाले चुम्बन गरेर, गाला सुम्सुम्याएर ​दिक्क बनाए जस्तै, यस्ता प्रश्नहरुले अनाहकमा मलाई दिक्क बनाउँछ । मनमा चसक्क घोच्छ । आफैलाई बुझ्न मुश्किल अनुसन्धानको विषयमा अरुलाई कसरी प्रस्ट्याउनु ? दर्जनौँ जर्नलले रिजेक्टेड गरेर हतोत्साहीत पारेको बेला रिसर्च पेपर प्रकाशन गर्न कति पापड पेल्नु पर्छ भन्ने कुरा कसरी व्याख्या गर्नु ? दिक्षित हुने दुरदुर सम्म कुनै ठेगान आफैलाई थाहा नहुदाँ पिएचडी कहिले सकिन्छ भनेर कसरी उत्तर फर्काउनु ?
सबैको पिएचडीको व्यथा आआफ्नै खाले छन् । गर्लफ्रेन्ड हुनेहरु पिएचडीको विषाक्तले ब्रेकअपको सघांर​ सम्म पुग्छन् । जहिले ल्याव-ल्याव भनिरहदाँ विचरी गर्लफ्रेन्डहरु पनि निराश बन्छे । विकल्प खोज्न बाध्य बन्छे । अनि आफ्नो बाटो तताउन विवश पर्छे । बिहे गरेकाहरुले आफ्नी पार्टनरलाई समय दिन नपाउँदाको बेचैनी झन कहाली लाग्दो होला ।
पिएचडी फोवियाको आर्थिक पिडा झन भयानक छ​ । म जस्ता न्युनतम स्टाइपेन्डमा गुजारा चलाउनेको त पिएचडी एउटा कहर नै सावित हुन्छ । त्यसमाथि घरपरिवार, श्रीमती पनि सोही स्टाइपेन्डमा निर्भर छ भने महिनाको अन्त्यतिर खल्तीमा मान​ओन पनि बच्दैन । दौतरीहरु कोहि विदेशमा त कोही स्वदेशमा आर्थिक सवलता तिर उन्मुख भईरहदाँ हामी जस्ता पिएचडीका विध्यार्थीहरु पैसा कमाउने उमेरमा सम्पूर्ण जोश अनुसन्धानमा केन्द्रीत गर्छौ । चार​, पाँच वर्ष अवधीमा फेसबुकहरुमा पोस्टिएका तिनीहरुका अर्थिक विलाशिता झल्किने तस्विरहरुले आफैँलाई गिज्याईरहेको महसुश​ हुन्छ ।
जीवन यस्तो मोडमा अड्किन्छ जहाँबाट हामी पिएचडी हापेर फर्किन मुश्किल पर्छ । सुरुवातमा निराशाले ढाक्छ । सबै कुरो भ्रम लाग्छ । केही बुझिदैन । नैराश्यता छाउँछ । त्यसमाथि विल्कुलै भिन्न भूगोलमा बसेर पिएचडी गर्नुपर्दा मुखमा चिराइतो चपाए भन्दा पनि तितो लाग्छ  जीन्दगी ।
पिएचडी प्रती यति नकरात्मक हुन्छौँ की पिएचडी शब्द सुन्ने बित्तिकै पनि तर्सिन थाल्छौ । एक प्रकारको सिन्ड्रोमको विकास तिव्र गतिमा हुन थाल्छ । केही कालखण्ड सम्म हामी पिएचडी सोधकर्ताहरु कुनै न कुनै पिएचडी फोवियाबाट अवश्य गुज्रिरहेका हुन्छौँ ।
यस्ता विविध समस्याहरुको पर्खाल​ भत्काएर पिएचडी सकाउनु विष मन्थन गरेर अमृत बनाउनु बराबर हो । भ्रमैभ्रम र अनिश्चितता मडारिरहेको बेला सोधकर्ताहरुको जीन्दगीमा एउटा यस्तो घडी आउँछ जहाँबाट​ उसले भ्रम र अनिश्च्यहरुलाई तोड्न सफल हुन्छ । एक्कासी आकाशमा विजुली चम्के झैँ आफ्नो पिएचडी चक्रमा सही प्रकाश पहिल्याउन पिएचडी सोधकर्ताहरु सक्षम हुन्छन् ​।
समग्रमा पिएचडी अध्ययनका बेला धेरै उतारचढाव सामना गर्नु पर्छ । सबै अड्चनहरु सगँ जुध्दै अघि बढ्दा पिएचडी सकिदाँ सम्म हामी जीवनमा आईपर्ने सबैखाले चुनौतीहरु सगँ लड्न सक्षम बनिसक्छौँ । चुनौती र भ्रमको भुमरीमा रुमलिरहदाँ जीवनमा के गरिरहेको छु भन्ने अचम्म लाग्न  सक्छ । तर सुस्तरी हामी बुझ्दैँ जान्छौ जीन्दगी भनेकै चुनौतीको अर्को रुप हो । पिएचडी सगँसगैँ हामी जीवन जीउने कला समान्तर रुपमा सिक्दै ग​ईरहेका पनि हुन्छौँ । अनुसन्धानमा व्यस्त रहिरहदाँ हामी सिर्जना र बौदिकताको आडमा जीवनमा आईपर्ने अधिकांश बाधा-अड्चन फुकाउन पनि सिकिरहेका हुन्छौँ ।
अन्त्यमा त्यो दिन आउँछ, जुन दिनको प्रतिक्षाका लागि हामी वर्षौ प्रयोगशालामा बिताएका हुन्छौँ । दिक्षित हुने दिनमा खुशीको बाढीले पिएचडीका सबै फोवियाहरुलाई बगाएर पाखा लगाईदिन्छ । दिक्षित पश्चात हाम्रो लागि एउटा सुन्दर भविष्य कुरेर बसिरहेको भेट्छौँ । अध्ययन पश्चात  आफ्नै देश​, आफ्नै समाजमा फर्केर पुग्दा सामाजीक प्रतिष्ठाको चुली पनि निकै चुलीएको आभाश​ हुन्छ । पिएचडीको आफ्नै मान भेट्छौँ, आफ्नै शान भेट्छौँ र आफ्नै गुनगान गुन्जिएको भेट्छौँ । त्यहीभ​एर पिएचडीको अनुसन्धानमा डुबेको बेला हामी कोही नअत्तालियौँ, नहड्बडाऔँ, नडगमगाऔँ ।



-धिरज चौधरी
http://sonsik.org.np/wp-content/uploads/2014/08/SONSIK-SMARIKA-5-SONSIK-Souvenir-Volume-5.pdf