Explore The Beautiful Life

As the sun rises start exploring the world .

Maintain Eternal Life to its Purest Level

Take a deep breath in the purest nature your soul gets purified automatically

Learning Photography

Capture that shot what other won’t see results the best photography.

To be a Leader

Get marked yourself in the crowd of the world .

To Unravel Everything Literary

Think and express differently from the entire world.

Showing posts with label sajha party. Show all posts
Showing posts with label sajha party. Show all posts

Tuesday, March 7, 2017

रविन्द्र मिश्रलाई शुभकामना

रविन्द्र मिश्रलाई शुभकामना

केही समय देखी मन खिन्न थियो । लमजुङको सुन्दरबजार स्थित कृषि क्याम्पसमा भ​एको राजनीतिक​ क्लेशले गर्दा सिर्जित विध्यार्थी बिचको झडप​ले मन झन दुखित थियो ।
फोहोरी राजनीतिको चक्रव्युहका कारण आफ्नै विध्यार्थीहरु घाइते तस्विर सहित मुलधारका अखबारहरुमा समाचार बन्दा भित्रैबाट राजनीति प्रति छिः छिः उर्लिएर आउँछ ।
राज्यको नीति, विधि-विधान र प्रणाली निर्माण गर्ने व्यवस्थित र स्वस्थ राजनीति आफैमा धुमिल भ​एपछि राष्ट्रका अन्य सबै जगहरुमा स्वत खिया लाग्छ । दसकौँ देखी राजनीतिमा छाएको ल्याङ्ल्याङे प्रवृतिले गर्दा कम्तीमा हामी जस्ता युवाहरु राजनीतिबाट विमुख भ​एका छौँ ।
सगँसगैँ बागमतिको फोहोर जस्तो गह्नाउने र कात्तिके कुकुर अड्के जस्तो अवस्थामा रहेको हाम्रो देशको राजनीतिले गर्दा नै लाखौँ दक्ष युवाहरु देशबाट निर्यात भ​एका छन् । जसले गर्दा खोक्रो देशमा विकासका डोबहरु वर्षौ देखी लेपिएका छैनन् ।
यस्तो निरस र विषाक्त​ राजनीतिको घडीमा नेपालका चर्चित पत्रकार सात लाखे मासिक पत्रकारिताको खेती छाडेर राजनीतिको भुत्ते धारमा रेती लाउन हिड्नु आफैँमा निकै उत्साही र साहसी कदम हो । यो चुनौतीपूर्ण कदमका लागि रविन्द्र मिश्रलाई नमन गर्छु ।



हाम्रो देशको राजनीति परिवेषमा जो जोगी आए पनि कानै चिरेको यथार्थतालाई चिर्न पहिले पनि थुप्रै प्रयासहरु नभ​एका होईनन् । उज्जवल थापाको ‘विवेकशील​ नेपाली’ दोस्रो संविधान सभाको निर्वाचनका बेला चर्चाको चुचुरोमा थियो । पुरानै अनुहार भ​एपनि त्यसबेला कमल थापाले हिन्दुत्वलाई हतियार बनाए । दोस्रो संविधान सभाको चुनावमा थापाले गहुतको सहारा लिएर भएपनि आफ्नो पोल्टाको मतमा चाहिँ खडेरी पर्न दिएनन् । त्यस्तै अलग वाद र अलग मार्गको प्रक्षेपण गर्दै डा. बावुराम भट्टराईले ‘नयाँ शक्ति’ जन्माएर सबैलाई केही समय तताए । तर  विडम्वना राजनीतिका त्यस्ता सबै वैकल्पिक सुत्रधारहरु विफल हुदै गए र हुने क्रममा छन् ।
दुषित राजनीतिलाई निर्मलीकरण गर्न जो-जो अग्रसर भ​एका थिए र भ​एका छन्, उनीहरुको विफलताको मुख्य कारक तत्व हामी जनता नै हौँ । कुसंस्कृत राजनीतिलाई कसैले सुधारको मार्गमा ल्याउन खोज्दा हामी उनिहरुलाई विश्वास गरिदिदैनौँ ।
काङ्ग्रेस​, एमाले लगायतका दलहरुले अधिकांश जनताको मानसपटलमा देश दक्ष व्यक्तिले नभ​ई पार्टीले चलाउँछ भन्ने भान पारिदिएका छन् । अहिले मात्रै होइन नेपाली जनताले प्रथम आम निर्वाचन देखी नै मत जाहेर गर्दा व्यक्ति नभ​ई पार्टी हेर्ने परम्परा बसालेका छन् ।
मैले अलिअलि राजनीति बुझ्ने भ​ईसक्दा देशमा प्रथम संविधान सभाको चुनावी माहोल थियो । विभिन्न दलका व्यक्तिहरु भोट माग्न आउँथे । चुनावको दिन नजिकिदै गर्दा हाम्रो घरमा एक साझँ भोट कसलाई दिने विषयमा सल्लाह भयो । मलाई अझैँ सम्झना छ त्यसबेला हाम्रो घरमा भोट कुन उम्मेद्वारलाई दिने भन्दा पनि कुन पार्टीलाई दिने भन्ने विषयमा छलफल भ​एको थियो । र परिवारको सामुहिक भोट व्यक्ति विशेष नबुझी सिधैँ दिमागमा छापिदिएको चुनावी चिन्हमा समर्पण भयो । अहिले आएर बुझ्दा मेरो घरको त्यसबेलाको जस्तो पार्टी-विशेष आस्था अझै पनि अधिकांश साधारण जनताको घर​-घरमा यथावत नै रहेको छ ।
साहित्यकार कृष्ण धारावासीले "आधा बाटो" उपन्यास (आत्मवृतान्त) मा उल्लेख गरेको आफ्नै आमाको त्यसबेलाको राजतन्त्र प्रतिको आस्थापूर्ण कुराले पनि वर्तमान परिवेशमा आम जनताले चुनावमा भोट खसाल्दा व्यक्ति-विशेष नभई दल​-विशेषलाई वा संस्था-विशेष​लाई प्राथमिकतामा दिन्छन् भन्ने कुरा पुष्टी हुन्छ ।
यसर्थ रविन्द्र मिश्र लगायतका व्यक्तिहरुको समुहले बनाउन लागेको नयाँ राजनीति प्रारुपले सफलता त्यसबेला मात्रै हासिल गर्नेछन् जब आम नागरिकहरुले चुनावका बेला दल​-विशेष नभई उमेद्वार चिनेर मत जाहेर गर्नेछन् ।
आफ्नो प्रेस विज्ञप्तिमा उहाँले देशलाई आमुल परिवर्तनकारी दिशामा डोर्याउन सक्ने नेतृत्व निर्माण गर्ने कुरामा जोड दिनुभ​एको छ । स्वस्थ नेतृत्व निर्माण तब मात्र सम्भव छ जब चुनावहरुमा उहाँहरुको राजनीति शक्तिलाई आम नेपालीले भक्तीभाव देखाउनेछन् । र यो कुरो सम्भव त्यतिखेर हुन्छ जब सबै नागरिकहरु राजनैतिक​ तवरमा सचेत हुन्छन् ।
राजनीतिमा क्षणभरमै पाशा पल्टाउन सक्ने खुबी भ​एका हाम्रो देशका प्रौढ नेताहरुका अगाडी रविन्द्र मिश्रको तीनवटा विषयहरुको डिग्रि र बीबीसीको युगौँ देखीको अनुभवले थेग्न सक्लान् या नसक्लान् ?
फेसबुक र टुविटरहरुमा प्रयोगकर्ताहरुले रविन्द्र मिश्र प्रति देखाएको स्नेह सच्चिकै चुनावी मैदानमा देखाउलान् या नदेखाउलान् ?
अराजनैतिक​ पृष्ठभूमिबाट आएका प्राज्ञहरुको बाहुल्यता रहने रविन्द्र मिश्रको समुहले फोहोरी राजनीतिको मन्थनबाट निस्केको विष​लाई पिउन सक्लान् या नसक्लान् ? यस्ता यावत प्रश्न हरु बग्रेल्ती आईरहने छन् ।
जस्तो परिस्थिति रहेता पनि रविन्द्र मिश्रले ठुलै आँट देखाए । धेरैले बौलाह भनिरहेका होलान् । धेरैले भट्टराईको नयाँ शक्ति वा थापाको विवेकशील​ नेपाली सगँ दाज्दै होलान् । तर मिश्रको हामी जस्ता फ्यानले उहाँको यो डेगको सम्मान गर्नै पर्छ ।
आज नगरे कहिले गर्ने । अहिले नगरे कहिले गर्ने । कम्तिमा उहाँले लोभलाग्दो पेशा तत्कालै छाडेर राजनीति किचड पत्तेसाफ गर्न किचडमै हामफाल्ने दुस्साहस त गरे ।
सुसंस्कृत राजनीतिको सशक्त जग निर्माण गर्न दौडिनु भ​एका रविन्द्र मिश्र र उहाँको साझा पार्टीलाई धेरै धेरै शुभकामना ।


-धिरज चौधरी

Published in :
https://www.fonijkorea.net/%E0%A4%B0%E0%A4%B5%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0-%E0%A4%AE%E0%A4%BF%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%B6%E0%A5%81%E0%A4%AD%E0%A4%95%E0%A4%BE%E0%A4%AE

March 2, 2017