कथा
स्नो गर्ल
उनले एउटा छोटो भिरालो
जङ्गल कटेपछि प्रयोगशालाको भवन आईपुग्छ भन्थिन्, टुटेफुटेको अङ्ग्रेजीमा । पुरै वाक्य त तिनलाई अङ्ग्रेजीमा
बोल्नै आउँदैन थियो । "फरेष्ट क्रस, ल्याब दियर", यसरी नै झुर अङ्ग्रेजीमा हाम्रो सम्वाद हुन्थ्यो ।
तिनले भने जस्तै साच्चै
एउटा कक्रिएको जङ्गल देखेको थिए । तर यस्तोलाई के जङ्गल भन्नु र । चारकोसे सालको झाडी
माझ हुर्केको, लुकिछिपी खेलेको, गोठालो गएको, म जस्तो लाई तिनले भनेको भिरालो जङ्गल फगत सुकेको खम्बाहरुको
थुप्रो जस्तो मात्रै लागेको थियो । कंकाल जस्तो लाग्ने, जलाउन राखेको मुढा
जस्ता देखिने, एउटै पात नभएको विजुलीका
पोल जस्ता ठडिएका रुखहरुको लस्करलाई पनि के जङ्गल भन्नु ।
मरन्च्यासे जङ्गल
कट्ने बितिक्कै एउटा आकर्षक भवन देखेको थिए । सोयुनले भने अनुसार "स्पेस रिसर्च
ल्याब्रोटोरी" यही हो भनेर ठ्म्याउन गाह्रो भएको थिएन।
धेरै पापड पेलेर, बल्ल-बल्ल
"एरोनोटिक्स एन्ड स्पेस साईन्स" अन्तर्गत विध्यावारिधि गर्ने मेरो बाटो
कोरिया स्थित विश्वविध्यालयमा गएर टुङ्गो लागेको थियो । सोही क्रममा प्रयोगशाला सम्बन्धि गाईड गर्न प्रोफेशरले सोयुनलाई जिम्मा दिएका थिए ।
प्रयोगशालाको सुरुवाती
दिनमा सोयुनले निकै सहयोग गरेकी थिईन् । सायद तिनको सहयोग नहुदो हो त मेरो विधावारिधि
यति सहज र छरितो हुने थिएन ।
साढे तीन वर्षमा पिएचडी
अध्ययन सकिदा मैले धेरै कुराहरु सिक्न पाएँ । उल्काहरुको छेउटुप्पो सबै बुझेँ । कोरिया
र कोरियन रितीतिथी बुझेँ । अझ धेरै त सोयुनलाई
बुझेँ । तिनले प्रेमको पहिलो पाठ सिकाईन् । प्रेमको अध्यारा र
उज्याला पाटा सगँ साक्षात्कार गराईन्
। रोमान्स र रोदनको भर्याङ चढ्न सिकाईन् ।
एयरपोर्टमा जहाज कुरिरहदाँ
उनको सम्झनाको ज्वारभाटा आईरहेको थियो । अन्तिम
चोटी सोयुन मलाई भेट्न आईहाल्छे की भन्ने आशाको दीप मनमा बाकी नै थियो ।
फ्लाइट कुर्दा-कुर्दा सोयुनको छायाहरु देख्न थाले । ऊ सगंका पलहरु झल्झल्ती आयो । सोयुन एमएस (स्नातकोत्तर)
गर्दै थिईन् । तिनको स्नातकोत्तरको अनुसन्धान र मेरो विध्यावारिधिको शोध एउटै भएकाले
हाम्रो सम्बन्ध मोटाउदै गएको थियो ।
प्रयोगाशालामा हाम्रो
धेरैजसो समय रातको सुन्यतामा बित्दथ्यो । दुवै व्यस्त हुन्थ्यौँ, टेलिस्कोपले उल्काहरु
खोज्न । उल्का उत्पतिको प्रक्रिया बुझ्नु र उल्का बन्ने नौलो प्रक्रियाको खोज गर्नु
नै दुवैको मुख्य ध्येय थियो ।
रातको एकोहोरोतालाई
भङग गर्न म तिनलाई कहिलेकाहीँ जिस्काउथेँ -"सोयुन, आखाँ नै तिरमिराउने
उल्का छेउमै हुदाँहुदै मैले क्षितिजमा उल्का अन्वेषण किन गरिरहेको होला ।" ऊ हासिदिन्थी
। मैले फ्लर्ट गरिरहेको कुरो बुझ्थी पनि ।
साच्चै तिनी आकाशको
उल्का जस्तै थिईन् । फरक यति थियो आकाशको उल्का रातो हुन्थ्यो, सोयुन चाहिँ हिउँ
जस्ती गोरी थिईन् । तिनको गोरो त्वचा हिउँ जस्तै टल्किन्थ्यो ।
क्रिसमस आउने-आउने
बेला, एकचोटी लगातार दुई
दिन सम्म हिउँ पर्यो । हिउँ पर्दा मेरो मन खुब रम्थ्यो । आकाशमा उल्काहरु हराउथ्यो
। सायद हिउँले तिनीहरुलाई पनि चिस्याउथ्यो होला। आकाश आफैँमा बोझिलो जस्तै देखिएपछि
प्रयोगशालामा हामी अलिक फुर्सदिलो हुन्थ्यौँ ।
त्यसबेलाको हिउँमा
सोयुनले मलाई एकदिन हिउँ खेल्न लगिन्, एउटा तालको छेउमा । त्यहाँ हिउँ खेल्नेको धेरै भिड थियो । त्यहि
भिडमा हामी पनि हरायौँ , आफ्नै तालमा । हिउका
डल्ला बनाएर तिनले म तिर फाल्थी । म पनि हिउँका फोहोराहरु बनाएर तिनको कैलो कपाल सेताम्मे
बनादिन्थे ।
हिउँ खेलिसकेपछि, तातो कफीको प्याला
लिदैँ हिउँमा खिचेको फोटोहरु हेर्दै गफिन थाल्यौँ ।
फोटोमा साच्ची तिनी
हिउँ परि जस्तै देखिएकी थिई । मैले तिनलाई " इन पिक यु सिम्स स्नो एञ्जल, क्यान आई से यु स्नो
गर्ल फ्रम टुडे" भन्दा ऊ खितिति हासीँ र "एज योर व्हिस" भनेर अर्को
क्याफे ल्याटे अर्डर गरिन् ।
खासगरी ऊ दङ्ग थिई
। मक्ख पनि परेकी थिई । मेरो तारिफ फुस्रो भएता पनि ऊ मेरो हरेक कुरामा अफुलाई समाहित गर्न खोज्थी
।
केटीहरु तारिफका प्यासी
हुन्छन् । चाहे केटी नेपाली होस चाहे कोरियन । कोरियन भएपनि सोयुन एक सुन्दर ठिटी न थिई । सायद त्यहिभएर नेपालीपारा कै भएतापनि मेरो तारिफमा
ऊ फिदा हुन्थी । त्यसैदिन देखि मैले तिनलाई “स्नो गर्ल” नामले बोलाउन थाले ।
मेरो लागि उनी सोयुनबाट
"स्नो गर्ल" हुदै गर्दा कुनबेला म उनको ढुकढुकीमा
मिसिन पुगेछु, पत्तै पाइनँ ।
सुवनको नाईट पवहरुमा
खुब झुम्थ्यौँ हामी । नोरेबाङ्को मिठास पनि तिनले नै चखाएकी थिई । कहिलेकाहीँ सुवनको
रेडलाईटको बाटो हुदै घर फर्किदा म तिनलाई सिसाको फ्रेम भित्र सज्जिएकी अर्धनङ्ग्न वेश्याको
बारेमा सोध्थे । ऊ छिल्लिदै भन्थी -"तिमिले त अर्धनङ्ग्नताको बाहिरी संसार मात्रै
आखाँले सेकेका छौँ । पख, आज म तिमीलाई अर्धनङ्ग्न
भित्रको स्वर्ग पनि सयर गराउँछु ।" तर म यौनिक हुन खोज्दा खोज्दै उसको होस्टेल
आईपुग्थ्यो र केवल ओठे चुम्बन मात्रै दिएर तड्पाएर गईहाल्थी ।
कोरिया आउने क्रममा
धेरैले कोरिया दुखको खाल्डो हो । कामको दलदल हो । प्रोफेसरको कचकच हो भन्थ्यो । तर स्नो गर्लको स्पर्शले मेरा दिनहरु सुखद र खुशीको वायुपङ्खी घोडामा
उडिरहेको थियो ।
आफसोच ! त्यो खुशीको
वायुपङ्खी घोडा धेरै दिन टिकेन , एकदिन ड्याम्म भूईमा बजारियो । सलनालमा स्नो गर्लले पारिवारीक
डिनरको लागि निम्तो गरेकी थिई । उक्त डिनर पश्चात हाम्रो सम्बन्ध रोगिन थाल्यो ।
डिनरमा बुल्गोगी खाने
बेला स्नो गर्लको ममी डेडी सगँ हिन्दु र क्रिश्चियन धर्मका कुराहरु निस्के।
"तिमी बुल्गोगी खादेनौँ ।"
"अहँ, खादिनँ " भने
।
किन?
बुल्गोगीमा बिफ हुन्छ
। त्यही भएर खादिन ।
किन बिफ खादेनौँ र
?
हो, खादिनँ ।
किन खादेनौँ । तिमी
क्रिश्चियन होइनौ र ?
मैले उत्तर दिए-
"म गाई नखाने हिन्दु हो । तर मेरो गाई खाने/नखाने कुरा हिन्दु
र क्रिश्चियन सगँ सरोकार राख्दैन ।"
"त्यसो के सगँ सरोकार
राख्छ ?" अलिक मलिन अनुहारमा स्नो गर्लको डेडीले सोध्नुभयो ।
मैले विस्तारै भने
-" आई डन्ट इट बिफ ,
नट बिकज अफ हिन्दुज्म
अर क्रिश्चियानिटी, बट बिकज अफ नेशनालिटी
। आई एम अ नेपाली एन्ड इन माई कन्ट्रि काउ इज अ नेशनल एनिमल ।"
मैले उनको ममी डेडीलाई
बुजाउन खोजेको चुरो कुरो यही थियो की मेरो गाई खाने र नखाने कुरो धर्म सगँ नजोडिएर
राष्ट्रियता सगँ जोडिएको छ । किनकी गाई हाम्रो रास्ट्रिय जनावर हो । र गाई नखादैमा हिन्दु र गाई खादैमा क्रिश्चियन बनिदैन । सबै धर्मको आआफ्नै
डक्ट्रीन होला । तर यो खादैमा त्यो नखादैमा धर्मको पहिचान हुदैन ।
सलनालको बिदा पछिका
दिनहरुमा स्नो गर्ल र मेरो सम्बन्ध हिउँ झैँ जम्नुको सट्टा उल्टो पग्लेर धर्मको हिलोले
धमिलो हुदै गयो ।
ऊ मलाई थियोलोजी कक्षाहरुको
लेक्चरमा झैँ बाइबलमा लिखित दन्ते कथाहरु सुनाएर मेरो हिन्दुत्वलाई धुमिल पार्न खोज्थी
। र क्राईसटको घुम्टोले मेरो मनलाई छोप्न खोज्दै आफ्ना आखाँहरु कामुक बनाउथी । म उस्को
कामुक झिल भित्र पस्थे पनि,
तर हिन्दुत्वको डेगमा अडिग रहदै सिथिल भएर निस्कन्थे
।
उसको दिक्षान्त समारोहको
एक साता अघि उ मलाई ब्याप्टिजमको लागि दवाब दिईरहेकी थिई । तर समाजको सकस, साथीभाइको सकस, र पारिवारीक सकसले मलाई
एक कोरियन युवतीको लागि क्रिस्चियन भएर हिन्दुत्व
गुमाउन मन लागेन ।
उनको दवाबले विस्फोटको
रुप लिएपछि एकदिन तिनलाई सोधेको थिए -" के तिमी मेरो लागि हिन्दु बन्न सक्छौँ
।"
निर्निमेष, ऊ टोलाईरही । अनि
उसको र मेरो सम्बन्ध अन्त्यको हाउभाउ देखाएर
म बाट सधैँको लागि टाढी ।
विदेशमा सायद सम्बन्धहरु
एउटा खेलौना जस्तै रहेछ । क्षणभरमा टुट्ने, क्षणभरमा जुट्ने । त्यहिभएर दिक्षान्त समारोहमा स्नो गर्ल आफ्नो
खलकको बुल्गोगीभोगीको कुम समातेर आएकी थिई ।
फ्लाईटको माईकिङले
झल्याँस बानायो । स्नो गर्लको भुतबाट पनि झसङ्ग भए । तिनको फ्लासब्याकले इन्छन टर्मिनलमा
फ्लाईट कुरेको दुई घण्टा बितेको पत्तै पाइन।
-धिरज चौधरी
https://www.fonijkorea.net/%E0%A4%B8%E0%A5%8D%E0%A4%A8%E0%A5%8B-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%B2