Explore The Beautiful Life

As the sun rises start exploring the world .

Maintain Eternal Life to its Purest Level

Take a deep breath in the purest nature your soul gets purified automatically

Learning Photography

Capture that shot what other won’t see results the best photography.

To be a Leader

Get marked yourself in the crowd of the world .

To Unravel Everything Literary

Think and express differently from the entire world.

Thursday, December 29, 2016

गजल​

       गजल​


जता गयो उतै हुने, सस्तो भन्ने माया हैन ।
घरिघरि साथ दिने, साथ भन्ने छायाँ हैन ॥

देउरालीको प्रीत मझेरीमा टुट्छ भने,
छियाछिया मुटु हुन्छ​, घाउ भन्ने चाया हैन ।

बलेसीँको पानी खस्दा होस खुल्ने प्रेमीहरु,
तनधनमै मन नमार​, मन बोक्ने काया हैन ।

भित्रभित्रै छुरा चल्यो, रगत जति भित्रै सुक्यो,
मलमपट्टी लाउदा घोच्ने शब्द हान्ने दाया हैन ।

साथी भन्ने सबै जति असल हुन्छ भन्ने छैन​,
मिठो मुस्कुराउदाँ फस्ने सबै ठिटी जाया हैन ॥


-धिरज चौधरी

Wednesday, December 21, 2016

गजल​


गजल​

देश घुमेर बेश भयो ।
हत्याहिसांको भेष देख्यो ॥

बुद्धको देशमा शान्ति हरायो ।
जतातै अशान्तिको केश भयो ॥

गोला र बारुद्धको शासन चल्यो ।
संविधानको पाना जाडो छल्ने खेश भयो ॥

दुई बन्दुकको युद्ध उग्र भयो
कलमहरुको संघर्ष लेश भयो ॥

गिद्धले सबैलाई आफ्नो सिनु बनायो ।
लाशहरुको सगरमाथाको देश भयो ॥



-धिरज चौधरी

Monday, December 19, 2016

रेस्टुरेन्ट गफ​

रेस्टुरेन्ट गफ​



सधैँ कुनै न कुनै अड्चन् । कोरियामा मानिसको जीवन व्यस्तताको पर्याय बनिसक्यो । यूजिनले गाली पनि गर्थिन् "धेरै काम नगर । तीन​, चार वर्ष त हो कोरिया बस्ने तिमी । कहिलेकाहीँ कोरियाको सौन्दर्यपान पनि गर ।" हुन पनि हो । कहिले फुर्सद नहुने । सायद यो देश यति छोटो समयमा विकसित हुनुमा यिनै बेफुर्सदिलो मानिसहरुको देन हुनसक्छ ।
यूजिनले कचकच गर्नुको अर्को कारण पनि थियो । तिनको नेपाली रेस्टुरेण्ट जाने रहर पुरा गर्न सकिरहेको थिईन । केटीहरु जुनै देशका भ​एपनि ल्याङ ल्याङ​ गर्ने बानी चाहिँ तिनीहरुको जीन मै भरिएर आउदो रहेछ । धन्न​ यिनी मेरो गर्लफ्रेन्ड होइनन् । गर्लफ्रेन्ड भ​एको भए झन् कति कचकच गर्दिहोलीन् ।
धेरै समय पश्चात यूजिनलाई नेपाली रेस्टुरेण्ट लाने मौका जुर्यो । अघिल्लो दिनै उनलाई सुवनको नेपाली रेष्टुरेन्टको लोकेशन काकाओ गर्दिएको थिए । साँझ चार बजे तिर "आउ है" भनेर बिहानै फोन पनि गरे । कोरियनहरु समयको पक्का हुन्छन् । त्यहि सोचेर चार बजेतिर म सुवन स्थित नेपाली रेष्टुरेन्ट पुगेँ ।
तर एकछिन् पछि यूजिनले मेसेज गरिन् -" केही ढिला हुन्छ​, नरिसाउ हैम बाटोमा छु ।"
रेष्टुरेन्ट भित्र पसिसकेकाले, पस्ने बितिक्कै निस्कन अप्ठ्यारो लाग्यो आइतवार विदाको दिन भएर होला, नेपाली अनुहारहरुले रेष्टुरेन्ट खचाखच थियो । सानो भोल्युममा "के साच्चै तिमी रिसाकै हौ त​, के साच्चै मन दुखाकै है त​" बोलको गीत बज्दै थियो । कुनाको एक छेउमा एउटा टेवल खाली थियो । त्यहि ग​एर टेवल रिजर्व गरे ।
रेष्टुरेन्टको दिदीलाई एक कप हट लेमन मगाएर एक नजर रेष्टुरेन्ट भरि दौडाए । रेष्टुरेन्टका भित्ताहरु नेपाल झल्किने आकृतिहरुले बेहुलि झैँ सिँगारिएको थियो । मेरो ठिक अगाडी सगरमाथाको चुचुरो । अर्को पटि ध्यान मग्न बुद्ध​, त्यसैको छेउमा स्वयम्भु र अलिक तलतिर दरबार स्क्वायर । ओहो ! रेष्टुरेन्टको सजावट देख्दा लाग्थ्यो रेष्टुरेण्ट भित्रै नेपाल अटाएको छ ।
त्यो रेष्टुरेण्ट भित्र नेपाल झल्काउने अर्को गहना थियो - नेपाली दाजुभाइहरु । विभिन्न भिसामा कोरियामा रहनु भ​एका नेपालीहरु विदाको दिन नेपाली रेष्टुरेन्टमा जम्नुको मज्जा नै बेग्लै हुने । अझ रोजगारी भिसामा आउनु भ​एका नेपालीहरुका लागि लाग्थ्यो नेपाली रेष्टुरेन्टहरु भेटघाटको जकंशन नै हो ।
यूजिन अझै आइपुगेकी थिईनन् । कपमा हट लेमन पनि रितिसकेकाले टेवल फोकटमा ओगटेर त्यसै बसिरहन मन लागेन । त्यहिभएर एक प्लेट भुटन अर्डर गरे।
अनि रेष्टुरेन्टमा रमाईरहनु भ​एका दाजुभाइहरुको गफतिर कान ठाडो बनाए-
गफ नं. :
"ओई हिजोआज हुन्डीको रेट कति छ । तीन महिना भो एक सुका पैसा पठाको छुईन​ । सुड्डोले घर ढलान गर्ने रे । पाँच लाख पठाई दिनु पर्ने । यो महिनाको तलब मलाई दे है ।"
अन्दाजी २४, २५ वर्षका देखिने चार युवाहरुको एक झुण्ड रहेको टेवलमा हुन्डी, तलव र नेपाल पैसा पठाउने बारे गफ हुदै थियो ।
सोजुको ग्लास रित्याउँदै अर्का एकजना युवकले गुनासो पोख्दै थिए- दिपकेले प्रत्येक महिना दुई लाख घर पठाउँछ । त्यसको बाउले पैसा पाउने बित्तिकै "दिपकेले यसपाली यति पैसा पठायो" भनेर मेरो घरमा सुनाउछन् । अनि घरकाले मलाई "फलानोको छोरोले यति पठायो उति पठायो " भनेर व्य​ङ्ग्य गर्छन् ।
दिपकले जतिसुकै पठाए पनि त्यसका बाउले मेरो घरमा चाँहि के खान सुनाउनु ? त्यसले पैसा पठाउँदा प्रत्येक पल्ट प्रेसर चाँहि मलाई पर्छ आफ्नो झुर कम्पनी परेर न ओटी छ न त बोनस । घरकालाई के थाहा कोरियाको हरिबिजोग । सबैको भाग्यमा  राम्रो कम्पनी कहाँ हुन्छ र ?
गफ  नं. :
उत्तरपटिको टेवलमा अलिक संवेदनशिल गफ हुदैरहेछ । साङगितिक भोल्युम केही बढेकाले उनिहरुको गफ राम्ररी त बुझ्न पाइन । तर बुझेका मध्ये केही अंश यहाँ प्रस्तुत गरेको छु ।
"त्यसमा त कम्पनीकै गल्ति छ​ पुरानो मेशिन नफेरेर त हो, उ त्यसमा च्यापिएर दुर्घटनामा पर्यो । र अस्ती सत्र दिनपछि अस्पतालमै उसको मृत्यु भयो । विचरा भुवन ! भर्खरै बिहे गरेर आएको थियो । "
"कोही आत्माहत्या गर्छन् । कोही कम्पनीको लापारवाहिले मर्छन् । कोही दुर्घटनामा परेर मृत्यु अगाँल्छन् । कामदार भिसाको नीति परिवर्तन नहुन्जेल अझै कति नेपाली र अन्य विदेशीहरुको ज्यान जोखिममा पर्ने हो?
"नेपालमा हामीलाई सबैले कोरियन लाहुरे देख्छन् । लाखौ कमाको देखेर कसैले आइफोन, कसैले ल्यापटप त कसैले डिएस​एलआर​ क्यामेराको डिमान्ड गर्छन् ।"
गफ  नं. :
प्लेटको  भुट्न पनि भ्याईसकेको थिए । यूजिन अझै आइपुगेकी थिईनन् । टेवल ओगटिराख्न अब के अर्डर गर्ने भनेर सोच्दै थिए । मेनु हेर्दै त्यहाँ गुन्जिरहेको  गफहरु पनि आफ्नो कानमा रेकर्ड गर्दै थिए । यतिकैमा एक समुह नेपालीहरु मेरो पछाडी रहेको टेवलमा आएर जम्न थाले । मैले एउटा म्याग्जु खाने निधो गरे अनि साधेको भट्मास पनि मगाए ।
पछाडीको टेवलको गफ सुन्दा तिनीहरु बिहेको ट्रिट खान आएका रहेछन् भन्ने सहजै अनुमान लाउन मलाई गाह्रो भ​एन ।
त्यस समुहका एकजना साथी नेपालबाट भर्खरै बिहे गरेर फर्केका रहेछन् । उसैको ट्रिटमा सबैजना चिकेन तन्दुरी र वियर घुट्क्याउदै नवदुलाहलाई उडाई रहेका थिए-
"सुहागरातमा के गरिस । सुना न ।"
"विहे गरेको आठ दिनमै आउनु पर्दा पीडा भ​एन ?"
"कसरी मन थामेर बस्छस,  बुढी नेपाल छाडेर ?"
अनि त्यस मध्ये समिर भन्नेको मुखबाट सुन्दै थिए, "तैले त बिहे गरिस यार । आफ्नो कैले जुर्ने हो, पत्तो छैन । एउटी थिई । त्यसलाई कोरियन ओभरकोट​ देखी सामसुङ आईप्याड सम्म चढाएँ । दुई तिन चोटी त पैसा पनि हुन्डी गर्देको थिए । हिजोआज चाहिँ इग्नोर गर्छे भन्या । अर्कै मुर्गा भेटिछे क्यारे ।"
अर्को व्यक्तिको कुण्ठा यस्तो थियो- " साला ३२ नाघे यार । कोरियामै गाला चाउरिने भो । फिनिस सम्म कुर्दा त ३५ टेक्छु । ३५ नाघे पछि बिहे गर्ने केटी पाउनै गाह्रो । बिहे गर्ने खाले गर्लफ्रेन्ड पनि भ​एन । फेसबुकमा त ललिपप देखाउने र टाईमपास गर्ने थुप्रै छन् । रियालिटीमा त्यस्ती सगँ लाईफ चल्दैन । अल्लारेहरु भन्छन् नी "गर्लफ्रेन्ड होस तनले सुन्दर​, लाईफफ्रेन्ड होस मनले सुन्दर ।"
गफ  नं. :
"साग​ टिप्दाँ टिप्दाँ हात खुट्टा नै झन्डै कोरियन भोटेलाई बलि चढाइसकेको । काममा अल्छि गर्न थालेपछि बल्ल साहुले रिलिज लेटर दियो । नत्र नेपाल भाग्ने तम्तायारमा थिए । अब त एक महिना पनि हुन​ लाग्यो काम छाडेको । काम हुदाँ पनि तनाव​, नहुदाँ पनि तनाव । तिमीहरुको बरु मोज छ । हामी एग्रिकल्चरमा आएकाहरुलाई बडो दुख छ ।"
एकजना त्यहाँ स्थित साथिको कुरा सुन्दा उ इलिग्गल बसिरहेको भेउ पाए । आफ्नै पीडा थियो उसको " डराई, डराई बसिराखेको छु म त । कुन दिन समातेर नेपाल फर्काईदिने हो थाहा छैन" भन्दै थियो 
"भाग्यमा छ भने यसपाली पनि भिषा लाग्ला । नत्र फर्किने बाहेक अर्को उपाय छैन । तीनजना लाई भिषै दिएन रे अस्ति । अब रिफ्युजीको बहाना गरेर बस्न पनि नपाइएला जस्तो छ । अर्को महिना सकिदै छ भिषा । एप्पलाई त गर्ने हो फेरी । हेरम, के हुन्छ ।"
"हाई ! सरी फर लेट ।" भन्दै यूजिन आइपुगिन् । मलाई कोरियन आउँदैन भन्ने थाहा भ​एर​ ऊ टुटेफुटेकै भ​ए नी अङ्ग्रेजीमै म सगं बोल्थिन् ।
यूजिन आएपछि अरुको गफतिर त्यति ध्यान ग​एन । जाओस पनि कसरी । यूजिनको बाफिलो गफको रफ्तारले मेरो कान डम्म भईसकेको थियो । ऊ मेन्यु हेर्दै थिईन् । मेले रेस्टुरेन्टको दिदीलाई बोलाए । ऊनलाई के खाने भनेर सोधे । "तिमीले आफ्नो देशको स्वाद चखाउने हो । मलाई के थाहा नेपाली परिकार कुन स्वादिलो हुन्छ । तिमी आफैँ अर्डर गर" भन्दै ऊ आफु पन्छिन् ।
साँझ भैसकेकाले डिनर नै खाने हेतुले मैले थाली सेट मगाए । अनि अरुको कुरो सुन्न छोडेर हामी आफैँ गफिन थाल्यौँ ।
ऊ नेपाल र नेपाली बारे चाख दिदै सोध्दै थिईन् । तर मेरो ध्यान उनको कुनै पनि कौतुहलतामा केन्द्रित थिएन । बरु ऊनैलाई कुर्ने क्रममा कानमा रेकर्डेड भएका नेपाली दाजुभाइहरुको गफ पुनः ईकोहो भैरेहेको थियो ।
उनिहरुको गफमा गम खादाँ कुनैमा मिठासपन थियो त कुनैमा निराशपन​ । सबै गफहरु सङ्ग्रहित गर्दा कोरियामा नेपालीहरुले केही पैसा कमाएता पनि सबैजसो सगँ कुनै न कुनै दुखद चित्र खुम्चिएर बसेको थियो ।

-धिरज चौधरी

Published on: 2016/12/19

https://www.fonijkorea.net/%E0%A4%B0%E0%A5%87%E0%A4%B8%E0%A5%8D%E0%A4%9F%E0%A5%81%E0%A4%B0%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%9F-%E0%A4%97%E0%A4%AB

Sunday, December 11, 2016

गजल​

गजल​




मन मेरो उपहार भयो, तन मेरो नासो भयो ।
जीवनको यात्रामा प्रेम मेरो मुक्तिको  पासो भयो ॥

जीन्दगिको कस्तो नाम हो यो प्रीत लाउदा पीडा हुने,
पीडा सगैँ मन पोल्यो मन मेरो ध्वाँसो भयो ॥

तिमिसगँ पीरती बस्दा साथीभाइ खासखुस गर्छन्,
हिजोआज सबैको गफमा हाम्रो प्रेम चासो भयो ॥

आफु बेचिएर प्रेमको नाममा वेश्या बन्नेहरु,
वेष्या बन्नेलाई हाम्रो प्रेम हाँसो भयो ॥

सद्भभावको वीज उमार्न खोज्दा बाढी आई बगायो,
प्रेमको टुसा फक्राउन खोज्दा समाज हाम्रो ब्वासो भयो ॥॥॥


- -धिरज चौधरी

Monday, November 21, 2016

पत्रकारको योग्यताको सवाल

पत्रकारको योग्यताको सवाल



केही समय अगाडी त्रिवि उपकुलपति तीर्थ खनियाँ सम्बन्धि एउटा लेख पढेको थिए । उक्त लेखमा मुख्यतयः खनियाँको बौद्धिक चोरीको विषयलाई सजिसजावट गरेर खनियाँको धज्जी उडाइएको थियो । र त्यस्ता बौद्धिक सामग्री चोरी गर्ने खनियाँ जस्ता व्यक्तिले वरिष्ठता मिचेर आईओएमको डिन नियुक्त गर्न लागेको व्यक्तिबाट स्वास्थ्य क्षेत्रमा पर्ने कुप्रभाव बारे महाभारत नै उल्लेख थियो ।
त्यस्तै केही समय अगाडी चिकित्सकहरुको योग्यता, नक्कली डाक्टरहरुको व्यापकता र औषधी व्यवसायिकता माथि मिडियाहरुले भूईपाताल पसेर केस्राकेस्रा केलाए । त्यसबेला पाइलट​, इन्जिनियर​, शिक्षक​, लगायत थुप्रै पेसाहरुको व्यक्तित्व माथि योग्यताको बहस नेपाली मिडियाले खुलेरै चलाए ।
तर यहाँ अचम्म लाग्दो भ्रमीत तस्विर देख्छु । जुन मिडिया र तिनका प्रतिनीधिहरुले यावत पेशाहरुको योग्यता र अवैधानिकता माथि प्रश्नहरुको पहाड खडा गर्छन् तिनै प्रतिनीधिहरुको चाहीँ योग्यताको चियागफ सम्म कहिल्यै सुनिन्न ।
दश कक्षामा पढ्दा पहिलो चोटि पत्रकारिता र पत्रकार के हो भन्ने साक्षात्कार गर्ने भाग्य जुरेको थियो । त्यसबेला सम्म मलाई लाग्थ्यो समाचार बन्न आकाश नै खस्नु पर्छ होला, खोलामा बाढी आएर गाउँ नै बगेको हुनुपर्छ होला वा कुकुरले मान्छे जन्माउनु पर्छ होला । तर पत्रकार दाईहरुको पुच्छर समात्दै हिड्दा थाहा पाए पत्रकारिता र समाचारको दायरा चार पाँचवटा पृथ्वी भन्दा पनि निकै भिमकाय रहेछ । र सगँसगैँ त्यसैबेला बुझेँ देशको चौथो अगं भनेकै संचार माध्यम रहेछ ।
एउटा डाक्टरले एकपल्टमा सायद एकजना मात्रै विरामीको जीवन दाउँमा लगाएको हुन्छ । एक पाइलटसगँ एक उडान भर्दा सायद एक जहाज यात्रुहरुको मात्रै ज्यानको चुनौती रहन्छ । सर्टिफिकेट नभ​एको एक कथित शिक्षकले सायद एक ब्याच मात्रै विध्यार्थिहरुको भविष्य माथि खेलवाड गर्छ​। तर एकपल्ट सोचौँ त चौथो अगं कहलिएको संचार माध्यमका पत्रकारले गलत समाचार सम्प्रेषन गर्दा कयौँलाई कति कालखण्ड सम्म  राम्रो/नराम्रो असर पर्न जान्छ ?
गाँस​, वाँस र कपास पछि वर्तमान समयमा मान्छेको अत्यन्तै आधारभुत आवश्यक्ता संचार माध्यम हो । संचार माध्यमले पस्केका खुराकले हामी आआफ्नो मस्तिष्क तृप्ति गर्ने पर्यत्न गर्छौँ । राम्रो खबरको वाही वाही गर्छौँ । नराम्रो खबरबाट खिन्न पर्छौँ ।
समाचारमा मन नपरेको विषयमा खेदो गरेको भेटियो भने हाम्रो मन सन्तुष्ट हुन्छ । मन परेको क्षेत्रको नराम्रो पक्ष मन्थन गरेको पाइयो भने हामी गालीगलौजको ओइरो खन्न थाल्छौँ । समग्रमा बिहानीको चियाको चुस्कीबाट सुरु भ​एको समाचारको प्रभाव​ साझँको ठर्रामा समेत मिसिएर हाम्रो मन-मथिङगललाई हल्लाई रहेको हुन्छ ।
गुदी कुरो भन्नुपर्दा संचार माध्यममा प्रकाशित सबै खाले सामाग्रीहरुमा हामी जस्ता अवोध पाठकहरुले समाजको आकृति खोज्ने कोशिस गर्छौँ । अर्को पाटोमा हाम्रो जस्तो देश जहाँ नेताहरुलाई विश्वास नै गर्दैनौ त्यस्तो अवस्थामा देशको परिस्थिति, समाजको बेथिति र गाउँघरको रीतीतिथि बुझ्न संचार माध्यममालाई भरपुर विश्वास गर्छौ ।
यस्तो सवेंदनशील फाँटमा काम गर्ने आम पत्रकारहरुको शैक्षिक योग्यता, क्षमता, र कार्य गहनता प्रति किन कसैले आवाज उठाउदैनन् ? म एउटा सानो दिर्घाको मान्छेले अन्डर एस​एलसी/एस​एलसी मात्रै शैक्षिक योग्यता भ​एका थुप्रै पत्रकारहरु चिनेको छु, देखेको छु । उहाँहरु सम्प्रेषित गर्नु भ​एको सूचनाहरुको गहनता कुन हद सम्मको होला ? के पत्रकार हुन योग्यता नै नचाहिने हो र​? साधारण लेखपढ गर्न आउने र राम्रो सम्पर्क सुत्र हुदैमा सबै व्यक्ति पत्रकार बन्ने ल्याकत राख्छन् र ?
मैले बुझे अनुसार सम्पादकका हकमा मात्रै स्नातक तहको शैक्षिक योग्यताको चर्चा प्रेसका दफाहरुमा वर्णित रहेको छ । तर सम्पादकका पोल्टामा सूचना थिग्रियाउने व्यक्तिको शैक्षिक योग्यताको कुनै मापदण्ड शिलालेख भ​एको छैन । वास्तवमा पत्रकार बन्न कस्तो योग्यता चाहिने कुरोको स्वयम पत्रकारहरु नै रनभुल्लमा देखिन्छन् ।
हावादारी पत्रकारिताको उपजले जिउदै रहेका अम्बर गुरुङको हताहतार मृत्यु घोषणा भयो । अव्यवस्थित सन्चार जालोको प्रतिफलले तरकारीवाली जन्मिईन् । र अहिले आएर त्रुटीयुक्त एकोहोरो पत्रकारिताको नमूना बन्न पुगेको छ - कन्चन रेग्मी (सुमन भाइ ह्यास ट्याग​)
व्यवसायिक पत्रकारितामा देखिएको अस्वस्थ प्रतिस्पर्धाले सबै पत्रकारहरुलाई आफ्नो संचार गृहको उन्नतीको मात्रै ध्याउन्न छ । समाचारको छनौट पक्ष ओझेल पर्दै गईरहेका छन् । उहाँहरुलाई लाग्छ अहिले समाचारको खडेरी छ । त्यहिभ​एर उहाँहरु अनावश्यक अर्थहिन सामग्री प्रशारण/प्रकाशन गरेर  वेमौसमी बाजा बजाउन व्यस्त हुनुन्छ ।
के नकरात्मक कुरो मात्रै समाचारका विषय बन्न सक्छन् ? महिला हिशां, उत्पिडन​, घरेलु हिशां, भ्रष्टचार​, तरकारीवाली, कन्चन रेग्मी, बलत्कार​, हत्या बाहेक पनि थुप्रै विषय​-वस्तु छैनन् र ?
म सगँ एउता अर्को तितो अनुभव पनि छ । नकरात्मक समाचार रिपोर्टीङ गर्न पत्रकारहरुलाई कुनै निम्तो दिनुपर्दैन । तर यदि समाजमा केहि सकरात्मक काम गर्दै हुनुन्छ​ र उक्त कार्यको रिपोर्टीङ निम्ति पत्रकारलाई बोलाउनु पर्दा आदार पूर्वक निम्तो पठाउनु पर्छ । निम्तो मात्रै होइन, कार्यक्रमको आर्थिक हैसियत हेरेर चिया खर्च पनि कुईनाको चेपमा सुटुक्क टसाइदिनु पर्छ ।
दुई वर्ष अगाडी दाङको फुलवारी र दुरुवा गाविसमा बाढिपिडितहरुलाई जाडोयाममा सिरक डसना बाड्न जादाँ हामीले स्थानिय​ पत्रकारहरुलाई गुहारेका थियौँ । कार्यक्रम राम्रै भयो । भावविभोर हुदै पिडितहरुलाई सिरक डसना बाड्यौँ । तर अन्त्यमा पत्रकार समुहलाई रिपोर्टिङका निम्ति आईदिए वापत चिया खर्च​ टक्रयाउनु पर्दा टर्रो अनुभव रह्यो । वास्तवमा हामी सिरक डसना बाड्न त्यसबेला कुनै सघंसंस्थाको डोनेशनमा ग​एका थिएनौ । साथीभाइको खल्तीको रकम बटुलेर आफ्नै खर्चमा सिरक डसना बाडेका थियौँ ।
एउटा कुरा ठोकुवा गरेर भन्न सक्छु यदि नेपाली पत्रकारहरुले पश्चिममा कर्णाली, तराईमा सिराहा-सप्तरी र पूर्वमा ताप्लेजुङ​-ओलाङचुङ्गोला ग​एर तीन महिना मात्रै खोज पत्रकारिता गर्ने हो भने उहाँहरुले तीन दशकलाई पुग्ने प्रकाशन योग्य खुराक भेट्न सक्नुहुन्छ । अनि काठमाण्डौँमा बसेर हुम्लाको समाचार सम्प्रेशण गर्ने परिपाटी मात्रै हटाउने हो भने पनि कुवाको भ्यागुता झैँ झर्को ट्वारट्वार युक्त समाचारहरु आउने बाटो सदाको लागि अन्त्य हुने थियो ।
सुमन खरेल सर जस्तो परिपक्कव अनुभवी योग्य पत्रकारबाट त कन्चन रेग्मीका सन्दर्भमा केही त्रुटी हुन गयो । आफैँ सोचौ कुनै शैक्षिक मापदण्ड बेगर नै पत्रकारिताको ख्यागु कहलिएका व्यक्तिबाट दिनहु कति दिग्भ्रमित सूचना सम्प्रेषण​ हुदो हो
सबै पत्रकारज्युहरुलाई मेरो विनम्र अनुरोध छ -" आफ्नो आङ्गको भैसीँ नदेख्ने अर्काको आङ्गको जुम्रा देख्ने" घडी नजन्माउनु होस । तपाईहरुको पनि कमिकमजोरी चुलिदै ग​एको छ । तपाईहरुको आफ्नो पत्रकारिता अरु माथि लाद्नु पूर्व आफैँ माथि एकपल्ट लाद्ने समय आएको छ । अर्थात आफ्नै कार्य क्षेत्रको पहिला अनुसन्धान गर्नुहोस । अनि मात्रै निर्धक्क तपाईहरु अर्काको खोज पत्रकारिता गर्न सक्नुहुन्छ ।
हाम्रो समाजमा एउटा सि.एम​.ए ले सिटामोल बेच्दा पत्रकारले भेउ पायो भने त्यस व्यक्तिको निद् हराम गर्छ । तर त्यहि समाजमा मास कम्युनिकेशनको सट्टा बिबिएस पढेको व्यक्तिवाट सम्प्रेशित समाचारमा हामी मन्त्रमुग्ध हुन्छौँ । के पत्रकारको चाहिँ कुनै शैक्षिक दायरा नै छैन र ?
यदि यहि बेथिति कायम रहदै गयो भने छिटै नै प्रत्येक घरमा एक न एक जना पत्रकार भेटिने छ । जो कोही जन्मदै पत्रकारको स्वाद चाख्ने छ । मनमनै पत्रकारिताको लड्डु घ्युको सट्टा विर्य सगँ मुछेर खाने परम्परा बस्ने छ ।



-धिरज चौधरी

Published: https://www.fonijkorea.net/%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%95%E0%A5%8B-%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A5%8D%E0%A4%AF%E0%A4%A4%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A4%B5%E0%A4%BE%E0%A4%B2