रविन्द्र मिश्रलाई शुभकामना
केही समय देखी मन खिन्न थियो । लमजुङको सुन्दरबजार स्थित
कृषि क्याम्पसमा भएको राजनीतिक क्लेशले गर्दा सिर्जित विध्यार्थी बिचको झडपले
मन झन दुखित थियो ।
फोहोरी राजनीतिको चक्रव्युहका कारण आफ्नै विध्यार्थीहरु
घाइते तस्विर सहित मुलधारका अखबारहरुमा समाचार बन्दा भित्रैबाट राजनीति प्रति छिः
छिः उर्लिएर आउँछ ।
राज्यको नीति, विधि-विधान र प्रणाली निर्माण गर्ने व्यवस्थित र स्वस्थ
राजनीति आफैमा धुमिल भएपछि राष्ट्रका अन्य सबै जगहरुमा स्वत खिया लाग्छ । दसकौँ
देखी राजनीतिमा छाएको ल्याङ्ल्याङे प्रवृतिले गर्दा कम्तीमा हामी जस्ता युवाहरु
राजनीतिबाट विमुख भएका छौँ ।
सगँसगैँ बागमतिको फोहोर जस्तो गह्नाउने र कात्तिके कुकुर
अड्के जस्तो अवस्थामा रहेको हाम्रो देशको राजनीतिले गर्दा नै लाखौँ दक्ष युवाहरु
देशबाट निर्यात भएका छन् । जसले गर्दा खोक्रो देशमा विकासका डोबहरु वर्षौ देखी
लेपिएका छैनन् ।
यस्तो निरस र विषाक्त राजनीतिको घडीमा नेपालका चर्चित
पत्रकार सात लाखे मासिक पत्रकारिताको खेती छाडेर राजनीतिको भुत्ते धारमा रेती लाउन
हिड्नु आफैँमा निकै उत्साही र साहसी कदम हो । यो चुनौतीपूर्ण कदमका लागि रविन्द्र
मिश्रलाई नमन गर्छु ।
हाम्रो देशको राजनीति परिवेषमा जो जोगी आए पनि कानै चिरेको
यथार्थतालाई चिर्न पहिले पनि थुप्रै प्रयासहरु नभएका होईनन् । उज्जवल थापाको ‘विवेकशील नेपाली’
दोस्रो संविधान सभाको निर्वाचनका बेला चर्चाको चुचुरोमा थियो । पुरानै अनुहार
भएपनि त्यसबेला कमल थापाले हिन्दुत्वलाई हतियार बनाए । दोस्रो संविधान सभाको
चुनावमा थापाले गहुतको सहारा लिएर भएपनि आफ्नो पोल्टाको मतमा चाहिँ खडेरी पर्न
दिएनन् । त्यस्तै अलग वाद र अलग मार्गको प्रक्षेपण गर्दै डा.
बावुराम भट्टराईले ‘नयाँ शक्ति’ जन्माएर
सबैलाई केही समय तताए । तर विडम्वना
राजनीतिका त्यस्ता सबै वैकल्पिक सुत्रधारहरु विफल हुदै गए र हुने क्रममा छन् ।
दुषित राजनीतिलाई निर्मलीकरण गर्न जो-जो अग्रसर भएका थिए र
भएका छन्, उनीहरुको विफलताको मुख्य
कारक तत्व हामी जनता नै हौँ । कुसंस्कृत राजनीतिलाई कसैले सुधारको मार्गमा ल्याउन
खोज्दा हामी उनिहरुलाई विश्वास गरिदिदैनौँ ।
काङ्ग्रेस, एमाले लगायतका दलहरुले अधिकांश जनताको मानसपटलमा देश दक्ष
व्यक्तिले नभई पार्टीले चलाउँछ भन्ने भान पारिदिएका छन् । अहिले मात्रै होइन
नेपाली जनताले प्रथम आम निर्वाचन देखी नै मत जाहेर गर्दा व्यक्ति नभई पार्टी
हेर्ने परम्परा बसालेका छन् ।
मैले अलिअलि राजनीति बुझ्ने भईसक्दा देशमा प्रथम संविधान
सभाको चुनावी माहोल थियो । विभिन्न दलका व्यक्तिहरु भोट माग्न आउँथे । चुनावको दिन
नजिकिदै गर्दा हाम्रो घरमा एक साझँ भोट कसलाई दिने विषयमा सल्लाह भयो । मलाई अझैँ
सम्झना छ त्यसबेला हाम्रो घरमा भोट कुन उम्मेद्वारलाई दिने भन्दा पनि कुन
पार्टीलाई दिने भन्ने विषयमा छलफल भएको थियो । र परिवारको सामुहिक भोट व्यक्ति
विशेष नबुझी सिधैँ दिमागमा छापिदिएको चुनावी चिन्हमा समर्पण भयो । अहिले आएर
बुझ्दा मेरो घरको त्यसबेलाको जस्तो पार्टी-विशेष आस्था अझै पनि अधिकांश साधारण
जनताको घर-घरमा यथावत नै रहेको छ ।
साहित्यकार कृष्ण धारावासीले "आधा बाटो" उपन्यास
(आत्मवृतान्त) मा उल्लेख गरेको आफ्नै आमाको त्यसबेलाको राजतन्त्र प्रतिको
आस्थापूर्ण कुराले पनि वर्तमान परिवेशमा आम जनताले चुनावमा भोट खसाल्दा
व्यक्ति-विशेष नभई दल-विशेषलाई वा संस्था-विशेषलाई प्राथमिकतामा दिन्छन् भन्ने कुरा पुष्टी
हुन्छ ।
यसर्थ रविन्द्र मिश्र लगायतका व्यक्तिहरुको समुहले बनाउन लागेको
नयाँ राजनीति प्रारुपले सफलता त्यसबेला मात्रै हासिल गर्नेछन् जब आम नागरिकहरुले चुनावका
बेला दल-विशेष नभई उमेद्वार चिनेर मत जाहेर गर्नेछन्
।
आफ्नो प्रेस विज्ञप्तिमा उहाँले देशलाई आमुल परिवर्तनकारी दिशामा
डोर्याउन सक्ने नेतृत्व निर्माण गर्ने कुरामा जोड दिनुभएको छ । स्वस्थ नेतृत्व निर्माण तब मात्र सम्भव
छ जब चुनावहरुमा उहाँहरुको राजनीति शक्तिलाई आम नेपालीले भक्तीभाव देखाउनेछन् । र यो
कुरो सम्भव त्यतिखेर हुन्छ जब सबै नागरिकहरु राजनैतिक तवरमा सचेत हुन्छन् ।
राजनीतिमा क्षणभरमै पाशा पल्टाउन सक्ने खुबी भएका हाम्रो देशका प्रौढ नेताहरुका अगाडी रविन्द्र
मिश्रको तीनवटा विषयहरुको डिग्रि र बीबीसीको युगौँ देखीको अनुभवले थेग्न सक्लान् या
नसक्लान् ?
फेसबुक र टुविटरहरुमा प्रयोगकर्ताहरुले रविन्द्र मिश्र प्रति
देखाएको स्नेह सच्चिकै चुनावी मैदानमा देखाउलान् या नदेखाउलान् ?
अराजनैतिक पृष्ठभूमिबाट आएका प्राज्ञहरुको बाहुल्यता रहने रविन्द्र
मिश्रको समुहले फोहोरी राजनीतिको मन्थनबाट निस्केको विषलाई पिउन सक्लान् या नसक्लान् ? यस्ता यावत प्रश्न हरु बग्रेल्ती आईरहने छन्
।
जस्तो परिस्थिति रहेता पनि रविन्द्र मिश्रले ठुलै आँट देखाए
। धेरैले बौलाह भनिरहेका होलान् । धेरैले भट्टराईको नयाँ शक्ति वा थापाको विवेकशील
नेपाली सगँ दाज्दै होलान् । तर मिश्रको हामी जस्ता फ्यानले उहाँको यो डेगको सम्मान
गर्नै पर्छ ।
आज नगरे कहिले गर्ने । अहिले नगरे कहिले गर्ने । कम्तिमा उहाँले
लोभलाग्दो पेशा तत्कालै छाडेर राजनीति किचड पत्तेसाफ गर्न किचडमै हामफाल्ने दुस्साहस
त गरे ।
सुसंस्कृत राजनीतिको सशक्त जग निर्माण गर्न दौडिनु भएका रविन्द्र मिश्र र उहाँको साझा पार्टीलाई
धेरै धेरै शुभकामना ।
-धिरज चौधरी
Published in :
https://www.fonijkorea.net/%E0%A4%B0%E0%A4%B5%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0-%E0%A4%AE%E0%A4%BF%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%B6%E0%A5%81%E0%A4%AD%E0%A4%95%E0%A4%BE%E0%A4%AE
March 2, 2017
0 comments:
Post a Comment