Friday, March 24, 2017

तराईवासीको पहाड यात्रा: सुन्दर गाउँहरु सोमालिया नबनून्

तराईवासीको पहाड यात्रा: सुन्दर गाउँहरु सोमालिया नबनून्
Phoimahadev, Kalikot, Nepal

कठ्याङ्ग्रिँदो जाडो छ । पल्लो डाँडोमा सेताम्मे हिउँ देख्छु । तीला कर्णाली पनि शान्त छिन् । जाडोले गर्दा बग्न बिर्सेर सुस्ताएकी छिन् । गाडीबाट झर्ने बित्तिकै चिसो सिरेटोले म लुगलुग काम्न थाल्छु । कालिकोटमा पुसे जाडो असह्य हुन्छ ।  पूरै शरीर कक्रिन थाल्छ ।
राचुली यही हो भनेर काक्रेबिहार बसले झिसमिसेमै ओरालिदिएको थियो । तर, म पुग्नुपर्ने ठाउँ फोइमहादेव पुग्न अझै बाँकी नै थियो । अफिसले मलाई लिन मान्छे पठाउँछु भनेको थियो । घडी हेरेँ । अफिसको मान्छे आइपुग्न अझै डेढ घण्टा समय बाँकी रहेछ । कुर्नुपर्ने भयो ।
कसैलाई कुर्नु कति धेरै दिक्क लाग्ने । एकाबिहानै चिसोमा कुर्नुपर्ने । बिहान चिया पिउने बानीले चियाको तलतल लाग्छ​ । अलिक पर शाही होटेललेखेको बोर्ड देख्छु । त्यही होटलतर्फ लम्किन्छु । झोला बिसाउँदै बेन्चमा बस्छु ।
दाइ, एक कप चिया !
यसो भन्दा होटलवाला चुल्हो फुक्न छाडेर मतिर फर्किन्छ । नौलो मान्छे देखेर चासो दिन्छ । जिज्ञासु नजरले हेर्दै मसँग गफिने सुर कस्छ- कहाँबाट आउनु भयो सर ?’
विराटनगर​’, भन्छु ।
धेरै टाढाबाट यस्तो दुर्गममाके कति कामले होला  ?’ होटलवाला अलिक बढी नै चासो देखाउँछ ।
म नढाँटी भन्छु, ‘स्याउको बेर्नामा अनुसन्धान गर्न फोइमहादेव जान लागेको ।अफिसको नाम पनि भन्छु- जुम्ला-कालिकोट स्याउ अनुसन्धान केन्द्र ।
यहाँबाट फोइमहादेव कति टाढा छ दाइ ?’ होटलवालाको कुरो बीचैमा काटेर सोध्छु ।
त्यही नजिकै त हो । सल्लोको जङ्गल कटेपछि’, उसको औंलाले देखाएतर्फ आँखा दौडाउँछु ।
ठाडो पहाड देख्दा मेरो सातोपुत्लो गयो । कसरी यत्रो डाँडो कटेर पुग्नु ! तराईको समथर फाँट हिँड्न त हम्मेहम्मे हुन्थ्यो । यो उकालो छिचोल्दा गानो निस्किने भो ।
गफ गर्न सक्नुपर्छ, समय बितेको पत्तै हुन्न​ । होटलवाला शाहीसँगको गफले दिक्दारी पनि मेटियो । अफिसको मान्छे पनि चियाको सुर्पो सकिदाँ नसकिँदै आइपुग्यो ।
मलाई लिन आएका नरबहादुर अफिसका सहायक रहेछन् । स्थानीय ठकुरी । उसको पछि लागेर ठाडो उकालो चढ्न थाल्छु । ५० मिनेटको उकालो बाटो पार गर्न मैले सकीनसकी मैले पौने दुई घण्टा लगाएछु । केही अगाडि सम्म जाडोले जम्न लागेको मेरो ज्यानबाट पसिना छुट्छ​ । उकालो सकेपछि समथर भागमा सुन्दर गाउँ- फोइमहादेव देख्छु ।
चारैतिर हिउँले ढाकेको छ । शहरको प्रदुषण​बाट मुक्त स्वच्छ वातावरण छ ।
स्याउका बोटहरु सुकेको दाउरा जस्ता देखिन्छन् । प्रकृति पनि अचम्मको छ ! अहिले मरेका जस्ता देखिएका रुख-विरुवाहरु बैशाख लागेपछि तङ्ग्रिन थाल्छन् । घरहरु पनि सल्लाह गरेर बनाए जस्ता सबै एकै खालका छन् । टाढाबाट निकै आकर्षक देखिन्छ- फोइमहादेव ।
केही दिन पर्यटक जस्तै रमाइलोसँग बित्छ फोइमा । तर, एक वर्षसम्म यस ठाउँमा समय काट्न गाह्रो छ । अफिसको उर्दी झल्यास्स​ सम्झिन्छु । भौगोलिक रुपमा कठिन र असुविधाजनक यो ठाउँमा कसरी १२ महिना कटाउनु !
न इन्टरनेटको सुविधा छ, न भने जस्तो बिजुली । आवतजावत गर्न निकै अप्ठेरो । खान मन लागेको चिज पनि नपाइने । मोबाइलमा टावर खोज्न समेत डाँडै उक्लिनुपर्ने !
साधारण आवश्यकता पूरा गर्न यहाँ तपस्यै गर्नुपर्छ । रेडियोको सिग्नल सबै ठाउँमा टिप्दैन । टीभी हेर्न पाउनु त भाग्य सम्झिन्छन् यहाँ ।
अभावयुक्त जिन्दगीको कष्ट कस्तो हुँदो रहेछ, फोइ आएपछि थाहा भयो । देशमा पिछडिएका बासिन्दाहरु त यहाँ पो छन् । राज्यबाट विभेद त यिनीहरुलाई भ​एको छ​ । भौगोलिक सरापले गर्दा सबै सुविधाबाट वञ्चित छन् यहाँका मनिस ।
फोइको जीवनशैलीमा बानी परेर सहज महसुस गर्न करिब तीन साता लाग्यो । बिस्तारै समय बिताउन सिकेँ । देश-दुनियाँबाट बेखबर भ​एर बस्न जानेँ । गाउँलेसँग भलाकुसारी गर्न थालेँ । सबैसँग सुस्तरी घुलमिल हुँदै गएँ ।
सबैभन्दा गजबको कुरो, अफिसको छेउमा अर्का चिया बाजेसँग राम्रो दोस्ती भयो । कामबाट फुर्सद मिलेको समयमा बाजेको चिया पसलमा बित्न थाल्यो ।
आगो ताप्नु, चिया पिउनु अनि बाजेको गफ सुन्नु हामी स्टाफहरुको दिनचर्या बन्छ ।
चियाबाजे बाल्यकालका​ कुरा गर्छन् । जवानीका रसिलो स्वाद सुनाउँछन् । फोइको खाल्डोमा एकलकाटे जीवनको यथार्थ बक्छन् ।
सानोमा स्कूल देखेनन् । युवा हुँदा मस्ती गर्न पाएनन् । अहिले बुढेसकालमा सुख भोग्न पाएका छैनन् ।
अनपढ भ​ए पनि बाजेले जीवन राम्ररी बुझेका छन् । दु:ख सहेर पनि देशका अधिकांश ठाउँ पुगेका छन् । आफू दुर्गममा बसे पनि आफ्ना सन्ततिलाई कैलालीको सुगमता चखाएका छन् ।
कोदोको झोल पिउँदै गलैंचा बेच्दाको कन्तबिजोग सुनाउँछन् । पैसा कमाउँदाको आनन्द पनि बयान गर्छन् ।
शहरमा हामी अहिले पनि देख्न सक्छौं, काँधमा गलैंचा राखेर बेच्न हिँडेका मानिसहरु । एउटा गलैंचा बेच्न घण्टौं हिँड्छन् । गलैंचा बेच्न टोल​-टोलमा घोक्रो सुकाउँदै डुल्छन् । यस्ता हड्डी खियाइरहेका मानिसहरु प्रायः दैलेख​, कालिकोट, अछाम​, जुम्ला, मुगु जस्ता विकट क्षेत्रका हुन्छन् ।
कहिलेकाहीँ चियाबाजे भावुक मुद्रामा प्रस्तुत हुन्छन् । अपहरण शैलीमा सेनाले जेठो छोरोलाई आफ्नै अगेनाबाट घिसार्दै लगेर बेपत्ता बनाएको आक्रोश पोख्छन् । पिली आक्रमणमा दुवैतर्फको भिडन्तमा परेर आफ्नै छोरी अपाङ्ग​ हुँदाको तिक्तता सुनाउँछन् ।
उनी द्वन्दकालको अनेक घट्ना धाराप्रवाह सुनाइरहन्छन् । जन​मिलिसिया र सेना दुवैले गरेका ज्यादतीहरुको घोर विरोध गर्छन् ।
मानव अधिकारवादीहरुको आश्वासन, प्रशासनको धपेडी र नेताहरुको झुटा भाषणदेखि बाजे आजित भ​एका रहेछन् ।
बाजेका कुण्ठा र विलाप सुन्दा कुनै रात अबेरसम्म म स्वयं निदाउन सक्दिनँ थिए ।  उनका कुरा मिहीन ढङ्गले केलाउँथेँ, मनन गर्थेँ अनि जनयुद्धको बेलाको अवस्था ठम्याउन खोज्थेँ ।
फोइमा अलिक न्याना दिनहरुको सुरुवात​ हुन्छ । हिउँ पनि पग्लेर बिस्तारै अलप हुने तयारीमा हुन्छ । अफिसको बार्दलीमा बसेर स्याउको हाँगा चोइट्याउँदै फोइमहादेव नियाल्ने कोसिस गर्छु । मनबाट पूरै कालिकोट अवलोकन गर्छु । युद्धका अवशेष, संघर्षका डोंब र अभावका केस्राहरु दशकको युद्धपछि पनि ज्युँका त्युँ भेट्छु ।
फिल्डमा हिँड्दा स्थानीयवासीहरुको वेदना महसुस गर्छु । दु:ख नियाल्ने मौका पाउँछु । जनयुद्ध अघि र पछि कर्णालीको जीवनस्तर​मा कुनै परिवर्तन नआएको कथनहरु सुन्छु ।
यहाँका अबोध मुहारहरुमा अनगिन्ती प्रश्नहरु नाचिरहेको भेट्छु- युद्ध केका लागि थियो ? रक्तपात कसका लागि थियो ? मानिसहरु टुहुरा र विधवा केका लागि भ​ए ? सामान्य आधारभूत आवश्यकतामा पनि पहुँच नहुने अवस्था कहिले अन्त्य हुने ?
चियाबाजेको हाँसो र रोदन मिश्रित धुन सुन्दै दिनहरु बिताउँदा फोइमा आधा वर्ष बितिसकेको पत्तै भएन । यस ठाउँको ठूलो रङ्ग (मेला) लाग्ने दिन पनि नजिकिन्छ । फलाढुङ्गा रङ्गको दिन बाजेको निन्याउरो अनुहार देख्छु । गाउँले सबैलाई रङ्ग लागेको हुन्छ​ । सबै जना गाउँको टुप्पोमा रहेको फलाढुङ्गा रङ्ग जाने तरखर गरिरहेका हुन्छन् ।
बाजे रङ्ग हेर्न जाने हैन ?’ सोध्छु । मलिन आवाजमा बाजे भन्छन्- नजाने
३० मिनेटको उकालो चढ्न मलाई पनि अल्छीले छोप्छ । रङ्ग हेर्न नग​ई बाजेसँगै उनका व्यथा सुन्न बस्छु । कालिकोटको विकटमा एक्लो समय बिताइरहँदा जीवनको उत्तरार्धमा बाजेलाई सबथोक बोझिलो महसुस हुँदो रहेछ ।
रङ्गले गर्दा चिया पसलमा अरु मानिस कोही थिएन​ । कोही नभ​एको मौकामा बाजे आफ्नो पारिवारिक क्लेश खोल्न थाल्छन् । कान्छो छोरोको दुखेसो चुहाउँछन् ।
गलैंचाको आम्दानीबाट उहिले बाजेले टीकापुरमा थोरै माटो किनेका रहेछन् । पत्थरको व्यापार​ फापेपछि कान्छो छोरोले उक्त​ जग्गामा राम्रै घर ठड्याएका रहेछन् । राम्री केटी खोजेर छोरोको बिहे पनि गरिदिएका रहेछन् ।
सबै कुरो चाहे जस्तै भइरहेको थियो । छोरा-बुहारीसँग बाजे खुसीसाथ बसेका थिए । तर, बज्यै बितेपछि छोरा-बुहारीसँग ठाकठुक सुरु भ​एको रहेछ ।
बाजेको काँध मुन्तिरको नसा च्यापिएको रहेछ । धेरै दुखेर​ कहिलेकाहीँ हलचल गर्न समेत नसक्ने भ​एका रहेछन् । हिँड्नै गाह्रो भ​एपछि बाजेको स्याहारसुसार गर्न​, समातेर शौच​ गराउन छोरा-बुहारीलाई झन्झटिलो महसुस भएछ ​। छोरा-बुहारीसँग मनमुटावको बीजारोपण यहीँबाट प्रारम्भ​ भएको रहेछ ।
घरायसी कलह निकै चुलिएको महसुस गरेपछि काँधको नशाको शल्यक्रियापछि बाजे छुट्टिएर​ बस्ने निधोमा पुगेका रहेछन् । त्यस क्रममा बुढेसकालमा एक्लो जीवन व्यतीत गर्न​ आफ्नै पुर्ख्यौली घर कालिकोटको फोइमहादेव आएका रहेछन् ।
सिमी र आलुको भरमा छाक टार्दाटार्दै फोइ आएको वर्ष दिन पुग्न लागेको थियो । अफिसको मनग्गे भत्ताले जुम्ला र नाग्मा बजारबाट भरिया लगाएर महँगोमा चामल मगाएर खान्थ्यौं । तर, भातको प्रत्येक गाँसले हामीलाई गिज्याइरहेको  महसुस हुन्थ्यो । जुम्लाको मार्सी चामल शहरमा प्रख्यात रहे पनि यस भेगमा बाह्रमास​ पुग्ने अन्न मुश्किलले सबैको घरमा भेटिन्थ्यो ।
अभावग्रस्त जिन्दगी गुजारिरहेका चियाबाजे र उनी जस्ता पात्रहरु कालिकोटमा थुप्रै छन् । बुढ्यौलीमा पुर्ख्यौली थलो थामेर जिन्दगीका सन्तापहरु हिउँमा चिस्याउँदै गुजारा गरिरहेका थुप्रै व्यक्ति यो दुर्गम ठाउँमा भेटिन्छन् ।
अन्नको चरम अभाव र स्वास्थ्य सेवाको लाभबाट टाढा रहेका कर्णालीवासी कुपोषणले मरनच्याँसे देखिए पनि राम्रो जीवन जिउने आश सधैं गरिरहेका छन् । त्यसैले यहाँका मानिस र सम्पूर्ण कर्णालीको विकासका लागि सुगममा बाँचिरहेका हामी सबैले बेलैमा केही सोचौं, केही योगदान गरौं र सक्छौं भने कर्णाली क्षेत्रमै गएर केही समय​ जनसेवा गरौँ ।
देशभित्रैका सुन्दर गाउँहरुलाई सोमालिया हुनबाट जोगाऔं ।
२०७३ चैत १० गते १२:२६ मा प्रकाशित
Published: http://www.onlinekhabar.com/2017/03/560612/

0 comments:

Post a Comment