Tuesday, January 3, 2017

कोरियाको चिसोमा सोनसिकको शैक्षिक गोष्ठी

कोरियाको चिसोमा सोनसिकको शैक्षिक गोष्ठी



केहिदिन अघि त्रिभुवन विश्वविध्यालयको बयालिसौँ दीक्षान्त समारोह​ भब्यताका साथ सम्पन्न​ भयो । दीक्षित सबैजना उल्लासका साथ आफु दीक्षित भ​एको कुरा फेसबुक​, टुइटर​ लगायतका सामजिक सन्जालमा पोस्ट्याईरहेका थिए । सगँसगैँ केही ब्लगरहरुले दीक्षित पछिको अन्यौलता पनि ब्लग्गिङ गर्न भ्याए
हुन त त्रिविको दीक्षान्त समारोह बासी भात हसुरे जस्तै हो । त्रिविको शैक्षिक प्रणाली नै त्यस्तै छ । परीक्षा हुन्छ । परीक्षाफल प्रकाशित हुन्छ । विध्यार्थीहरु उत्तीर्ण हुन्छन् । पास भ​एको एक वर्ष पछि बल्ल उक्त विध्यार्थीका लागि दीक्षान्त समारोह आउँछ । धेरैले त बिर्सिसकेका हुन्छन् । धेरैले पत्तो पाउदैनन् । अधिकांश त प्रोभिजनल सर्टिफिकेटकै भरमा विदेशिसकेका हुन्छन् ।
त्रिविको दीक्षान्त समारोह जहिले भ​एपनी हाम्रो देशको सन्दर्भमा र हामी जस्ता विध्यार्थीहरुले परीक्षाफल प्रकाशित भ​एर​ उत्तीर्ण भ​एकै दिनलाई दीक्षान्त समारोह मान्दछौँ । त्यसैदिन पश्चात धेरै कुराका लागि योग्य ठहरिन्छौ । त्यसपछि धेरै ढोकाहरु खुल्छन् । अनि अघि बढ्ने बाटो पहिल्याउन थाल्छौँ ।
त्रिविको दीक्षान्तको विषयमा धेरै बखेडा निकाल्नु भन्दा पनि महत्वपूर्ण विषय वर्षेनी आ-आफ्नो  अध्ययन सम्पन्न गर्ने व्यक्तिहरु के गर्छन् भन्ने कुरा गम्भिर हो
व्यक्तिगत अनुभव र केही तथ्याङ्कगत​ आधारमा भन्नुपर्दा वर्तमान सेशनका हाम्रा पुस्ताहरु बढी विदेशीने फेशन मै लागीपरेका छन् । अध्ययन पश्चात हामी विदेशीन यसरी हतारिन्छौँ मानौँ युगौँ देखी कालकोठरीमा निसासिएर मर्न लाग्या छौँ । त्यहिभ​एर आफ्नै रारा तालको हावा बिर्सेर समुन्द्र तटमा चैनको श्वास फेर्छौ ।
समाज विकासको कसि समाजशास्त्र निर्देशित हुन्छ । देशको राज्य प्रणाली राजनीतिशास्त्रको अस्त्रमा निर्भर रहन्छ । त्यसैअनुरुप देश विकासको मेरोदण्ड विज्ञानशास्त्रको करङ्मा निहित रहन्छ । तर अफसोच विज्ञानाचार्य हुनुभ​एका साथिहरुले आफ्ना आचार्यकला देखाउन ठोस स्थान नपाउँदा दुरको भुगोलमा ग​एर सघंर्षरत हुनु परेको छ​ ।
म पनि त्यहि स्थान अभाव र अधेरी बाटो हिड्दा हिड्दा आजित भ​एर​ हौसिए उज्यालो संसार कोरियाको गुनगान गाउन । अन्य देशको सवाल त गुनगुनाउन सक्दिन । अनुभव पनि छैन । तर विगत दुई वर्ष देखि कोरियाको चिसोमा आफु बरफ हुदै ग​एको अनुभव पस्किनु पर्दा चाहिँ भुतै सवार हुन्छ ।
कोरिया भिन्न छ । अन्य देशको भन्दा भिन्न वातावरण छ । अझ नेपाली विध्यार्थीहरुको समाज भिन्न छ । हजार छेउछाउ संख्यामा रहेका नेपाली विध्यार्थी र सय पुगनपुग नेपाली प्राज्ञिक व्यक्तिहरुको सानिध्यमा कोरियाको अध्ययन अनेकन अप्ठ्याराका बाबजुद् बस्दै, पढ्दै जादाँ रमाईलो लाग्न थाल्छ ।
यहाँ नेपालीहरु माझ​ सबैको सबैलाई वास्ता रहन्छ । कसैलाई केही पर्दा सहयोगका निम्ति अग्रजहरु हुनुन्छ । सबैको सेयरिङ र केयरिङ मिसिएको पाईन्छ​ । र त पृथक​ समाजको काडेँ दलदलमा हामफाले पनि हाम्रो अध्ययन सहज भईरहेको छ ।
अधिकांशले एकाअर्कालाई चिन्छन् यहाँ । अन्य देशको भन्दा कोरियाको भुगोल सानो भ​एर​ पनि होला हामी विध्यार्थीहरु एक अर्कालाई नचिन्ने कमै हुन्छौँ । सउल देखी बुशानको सम्बन्ध होस या छुन्छन् देखी खुवान्जु । जो जहाँ अध्ययनमा रहनु भ​एपनि कोरियामा हामी एक परिवार भ​एर बसेका छौँ ।
यस​ सौहार्दता र प्रगाढ सहयोगका लागि पारिवारीक​ साङ्लोमा सबैलाई बाध्न यहाँ स्थित अग्रजहरुले स्थापना गर्नु भएको नेपाली विध्यार्थी समाज​, दक्षिण कोरिया (सोनसिक​) को पनि अहम भूमिका रहेको पाईन्छ​ वर्षौ देखी एउटै छानोमा सबैको वेदना अटाउन र प्रगतिको गाथा गुथ्न सफल हुदै आईरेहेको छ सोनसिक ।
सबै नेपाली विध्यार्थीहरुलाई एक ढिक्का राख्न र कोरियाको हाम्रो जीवन​ सहज बनाउन​ सोनसिकले विविध कार्यक्रमहरु गर्दै आईरहेको छ । यसै सन्दर्भमा सोनसिकको शैक्षिक गोष्ठी सबै कार्यक्रमहरु मध्येको एक विशेष र महत्वपूर्ण कार्यक्रम मानिन्छ​ । यस ब्लगमा सोनसिकले गर्न लागेको शैक्षिक गोष्ठी सम्बन्धि केही प्रसगंहरू पस्किने जमर्को गरिएको छ ।
सोनसिकको पाँचौ शैक्षिक गोष्ठी यही आउँदो जनवरी १४-१५ मा खुवान्जु स्थित छोसुन विश्वविध्यालयमा हुदैछ​ विज्ञान​, ईन्जिनियरिङ र प्रविधि मुल मन्त्र बोकेको यसपालीको शैक्षिक गोष्ठीमा अनुसन्धानात्मक जर्नल लेखन विषयक वर्कशप​, विविध विषयमा विज्ञहरुको मौखिक प्रेजेन्टेशन तथा पोष्टर प्रेजेन्टेशन मुख्य आकर्षण रहेकाछन् ।
त्यस्तै यसपालीको शैक्षिक गोष्ठीको अर्को मुख्य केन्द्र​ हो जापानका नेपाली प्राध्यापक डा. हरि प्रसाद देवकोटाको- औषधीय वनस्पतिमा जापानी शिक्षा र अनुसन्धानको भूमिका तथा नेपाल स्थित यसका नविनतम प्रवर्द्धन विषयक प्रस्तुती ।
कार्यक्रमको ढाचाँ हेर्दा आमन्त्रित मौखिक प्रस्तुतीकरणलाई दुई भागमा छुट्याईएको छ । प्रथम आधारभुत​ तथा चिकित्सक विज्ञान अनुसन्धान शिर्षकीय भागमा रहेर तीनजना विज्ञहरुको प्रेजेन्टेशन र दोस्रो ईन्जिनियरिङ र प्रविधि अनुसन्धान​ शिर्षकीय भागमा रहेर अर्का तीनजना  विज्ञहरुको ओजपूर्ण प्रस्तुतीकरण
शैक्षिक गोष्ठीमा हुने डा. विनोद लुईटेलको बागवानी तथा औद्योगिक वाली विषयक प्रस्तुतीकरणले नेपालमा यस्ता वालीको प्रयोग र यस्ता विधिहरु अपनाउने बारे सबैलाई गहन कुरा सिकाउने छ । त्यस्तै विध्यावारिधि सोधकर्ता विमला शर्माको आत्महत्या सम्बन्धि संवेदनशील प्रेजेन्टेशनले अवश्य नै बढ्दो आत्महत्या रोकथामको लागि केही अचुक तौरतरिका बारे छलफल हुनेछ​ । अर्का विध्यावारिधि सोधकर्ता कन्चन मिश्रको "नेनो प्रविधि" सम्बन्धि प्रस्तुतीकरणबाट​ नेपालमा यस्ता नविनतम प्रविधिको उपयोग सम्भवयता बारे पक्कै केहि ठोस वर्णनहरु निस्कनेछन् ।
कोरियामा ईन्जिनियरिङ र प्रविधि क्षेत्रमा अध्ययन गर्ने नेपालीहरु पनि थुप्रै हुनुन्छ । मौखिक प्रस्तुतीकरणको दोस्रो अध्यायमा ईन्जिनियरिङ र प्रविधि क्षेत्रका उपयोगी ज्ञानमुलक प्रेजेन्टेशनहरु रहेका छन् ।
सुवन विश्वविध्यालयका प्राध्यापक सिद्धार्थ विक्रम पण्डेको "वायोमेकानिक्स​", डा. रमेश कुमार लामाको "विग डाटा फर डेभ्लोपिङ कन्ट्रिज​", र डा. विनायक भण्डारीको "विल्डिङ ट्रान्स​-हिमालयन रेलरोड​" विषयक प्रस्तुतीकरणले ईन्जिनियरिङ र प्रविधि क्षेत्रको थुप्रै पाटोहरु उजागर गर्ने छ । जसले यस्ता थुप्रै प्रविधिहरु नेपालमा कसरी उपयोग गर्ने बारे एउटा मार्गचित्रको स्केच तान्न टेवा पुग्छ​ ।
त्यस्तै ३० वटा साधारण र दश वटा आमन्त्रित पोष्टरहरुमा उल्लेख हुने अनुसन्धानात्मक जानकारीहरुले कार्यक्रम स्थलका भित्ताहरु पोष्टिदाँ गोष्ठीको रौनक नै भिन्नै देखिने छ​। अझ आयोजक कमिटिको पाँचवटा वेस्ट पोस्टर अवार्ड घोषणा गर्ने निर्णयले सुनमा सुगन्ध थपेको छ । यसबाट आफैलाई वैज्ञानिक जगतमा प्रस्फुटन गर्न चाहने थुप्रै अनुसन्धानकर्ताहरुलाई थप उर्जा पनि प्राप्त​ हुनेछ ।
सरसर्ती कार्यक्रमको रुपरेखा नियाल्दा सोनसिकको पाँचौ शैक्षिक गोष्ठी हामी जस्ता कोरियामा अध्ययनरत व्यक्तिको लागि निकै नै उपयोगी देखिन्छ । विज्ञानका धेरै क्षेत्रका नेपाली विज्ञहरुलाई एउटै चौतारीमा भेट्न पाउदाँ सहभागीहरु सबैले पक्कै फलदायी महशुस गर्नेछन् ।
साथसाथै यदि अध्ययन पश्चात नेपाल र कोरियाको रोजगारी सम्बन्धी एक, दुई वटा थप अग्रजहरुको अनुभवयुक्त प्रेजेन्टेशन सुन्न र मनन गर्न पाउने अवसर जुट्ने हो भने कोरियाको चिसोमा शैक्षिक गोष्ठीमा सहभागी भईरहदा थप न्यानोपना महशुस हुने थियो ।
दिवेश झाको संयोजकत्वमा हुन ग​ईरहेको सोनसिकको पाँचौ शैक्षिक गोष्ठीमा डा. भुषण श्रेष्ठको अध्यक्षतामा गठित वैज्ञानिक समिति र आराजना श्रेष्ठको अध्यक्षतामा गठित आयोजक समितिहरुको अथक मिहिनेतले पक्कै पनि यो कार्यक्रम व्यवस्थित ढङ्गले सम्पन्न हुने छ । र धेरै भन्दा धेरै अनुसन्धानकर्ताहरुको सहभागिताले निश्चित रुपमै गोष्ठीको सार्थकता पुष्ठी गर्ने छ । कोरियाको चिसोमा सोनसिकको पाँचौ शैक्षिक गोष्ठीको सफलताको लागि कोरिया स्थित हामी सबै विध्यार्थी लगयात अनुसन्धाकर्ताहरुको तर्फबाट हार्दिक शुभकामना ।

- धिरज चौधरी

https://www.fonijkorea.net/%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%9A%E0%A4%BF%E0%A4%B8%E0%A5%8B%E0%A4%AE%E0%A4%BE-%E0%A4%B8%E0%A5%8B%E0%A4%A8%E0%A4%B8%E0%A4%BF%E0%A4%95%E0%A4%95%E0%A5%8B

0 comments:

Post a Comment