धुलोमा अल्झिएको विराटनगरको फड्को
Biratnagar Dust Pollution |
परदेशबाट घर जाने टुङ्गोले मन फुरुङ्ग थियो । दक्षिण कोरियाको
प्राध्यपकहरुको चङ्गुलबाट फुत्किन कम गाह्रो थिएन । जसोतसो विदा स्विकृत भयो । विदा पक्का भएपछि नेपाल गएर
यसपाली यो गर्छु, त्यो गर्छु, यहाँ जान्छु,
त्यहाँ जान्छु जस्ता यावत योजनाहरु आफैँ उनिन्दै अनि आफैँ फुस्किदै थियो
। अन्ततः पुषको अन्तिम जाडोमा कोरियाबाट मलेशिया, मलेशियाबाट काठमाण्डौँ ट्रान्जिट हुदै आफ्नो थलो विराटनगर विमानस्थलमा अवतरण गर्ने सौभाग्य जुर्यो ।
साझँको अन्तिम विमान । समयमै उडान र समयमै अवतरण । विराटनगर
विमानस्थल वरपर झिलिमिली बत्ती । आकाशबाट देखिएको सुन्दर शहर । एकपल त मन सम्मोहीत
नै भयो । अनि सोच्न थाले- नेपाल बदलिएछ । विराटनगर फेरिएछ । गाउँ सप्रिएछ ।
तर विराटनगर एयरपोर्टबाट पंचमुखी चौकमा रहेको मेरो निवास सम्म
पुग्दानपुग्दै सडकको धुलोले सबै सोचहरुलाई क्षणभरमै दुषित बनायो ।
औद्योगिक शहरले चिनिने । देशलाई
थुप्रै चोटी प्रधानमन्त्री दिईसकेको भूमी । नेपाली राजनीतिको उद्गम क्षेत्र । र पुरानो संरचना अनुसार राजधानी पछिको क्षेत्रफलको
आधारमा सबै भन्दा ठुलो शहर । अफसोच ! यस्ता कयौँ विराटनगरको पहिचानहरु समयको गति सगैँ
परिमार्जन हुन सकेनन् र सबै ओझेल पर्दै गए ।
वर्तमान संरचना अनुसार देशले पोखरा,
भरतपुर, र ललितपुर जस्ता शहरहरुलाई
महानगरमा बढुवा गर्यो । विराटनगरलाई पनि महानगरको मोहर लगाउनका निम्ति लामै समय देखी लविङ हुदै आईरहेको थियो । तर विडम्बना विराटनगरवासी महानगरवासी
बन्न सकेनन् ।
शहरीकरणको पुरानो इतिहास बोकेको विराटनगरको विकास आखिर के मा
सधैँ अल्झिरहन्छ ? अहिले आएर केही धिमा गतिमा विकास निर्माणका कार्यहरु भईरहेका छन् । तर पच्चास वर्ष
अघिको विराटनगर र अहिलेको विराटनगर दाज्ने हो भने विकासको नाममा फुट्टीकौडीले पनि अघि
बढेको देखिन्न ।
धेरै अघि सुनेको विराटनगर रिङरोड परियोजना जुन आज सम्म कछुवा
गतिमा पनि अघि बढेको छैन । हालको एयरपोर्टलाई क्षेत्रीय विमानस्थल बनाउने कुरा उहिलेको
कुरा खुइलेर गए जस्तै भएको छ । थुप्रै विकासका परियोजनाहरु समाचार बनेर आउँछन् । तर
सबै योजना आयोगहरुमै तुहिन्छन् । बथनाहा-विराटनगर रेलवे परियोजना, आधुनिक ढल निकास प्रणाली, र ६-लेन सडक विस्तार
जस्ता महत्वाकांक्षी योजनाहरु कहिले सम्पन्न होला ?
विकासको नाममा दशकौँ देखी बुढो माउ जस्तो तटस्थ छ विराटनगर ।
विराटनगरको फड्को सडकको धुलोमा अल्झिरहेको छ । सिटी रिक्साले निम्त्याउने ट्राफिक जामले थुनिदिएको छ । गिरिजाप्रसाद कोइरालाको देहान्त पश्चात झन धेरै
उपेक्षित छ यो शहर । विकासको गेडो थानकोट नाकाबाट गुडकिन सकिरहेको छैन । गुड्किहाल्यो
भने पनि धुलाम्मे प्रणालीले उतै विलिन पारिदिन्छ ।
नेपाल बजारको रुफटप क्याफेबाट एकटकले विराटनगर नियाल्छु । धुलाम्मे
विराटनगर जताततै भत्किएको पाउँछु । विकासका नाममा सडक विस्तार भईरहेको देखिन्छ । अनियन्त्रित
रुपमा एकैचोटी अधिकांश क्षेत्रमा कालोपत्रे भत्काएका छन् । वर्षातमा अधिकांश ठाउँ डुवानमा पर्छ । उखाउरमाउलो गर्मीमा पनि यो शहरमा मान्छेको भागदौड उस्तै
देखिन्छ । अहिले फाल्गुन-चैत्रको उराठमा पनि सडकको धुलो सगँ सौदाबाजी गर्दै नगरवासीहरु
आ-आफ्ना रोजीरोटीको जोहो गर्न उत्तिकै व्यस्त भेटिन्छन् ।
नबुझेको कुरो देशको विकास निर्माणका योजनाहरु कस्ले बुन्छन्
?
एक वर्ष अघि बनाईएका कालोपत्रे सडक अर्को आर्थिक मसान्त नटेक्दै
आफैँ भत्काउँछन् । ढल प्रणाली बनाउन, टेलिफोनको लाईन विस्तार गर्न,
खानेपानीको पाईप बिछ्याउन भन्दै नवनिर्मित बाटोघाटो बारम्बार
भत्काईरहनु पर्छ । पोहोर साल बनेका विराटनगरका अधिकांश सडकहरु ढल निर्माणका लागि भनेर
अहिले पूर्णरुपमा भत्काईएको छ ।
के हाम्रो देशमा एकिकृत विकास प्रणालीको प्रारुप छैन र ?
अहम प्रश्न त सम्बन्धित निकायका इन्जिनियरहरु माथि उठ्छ । के
हाम्रो देशका इन्जिनियरहररुले एकिकृत विकास प्रणाली, दिगो विकास नीति, र साझेदारी विकास परियोजनाको मुलभुत सिद्धान्त बुझेका छैनन्
र?
कम्तिमा निर्माण योजनाहरु बनाउँदा त्यस्ता निर्माण कार्यहरुबाट
जनस्तरमा कस्तो असर पर्छ, स्वास्थ्यमा कस्तो हानी गर्छ र वातावरणलाई कस्तो धक्का पुग्छ जस्ता संवेदनशील पाटो
तर्फ ध्यान दिन जरुरी हुन्छ । तर विराटनगर लगायत देशका अधिकांश भेगमा भईरहेको विकास
निर्माणका कामहरुमा यस्ता गहन विषय तर्फ ध्यान दिईएको पाईदैन ।
गोग्राहबाट विराटनगरमा रुपान्तरित भएको सय वर्ष भन्दा लामो
इतिहास बोकेको यो शहर जस्ताको त्यस्तै छ । विक्रमसम्वत १९७३ मा मोरङ रंगेलीबाट सबै
सरकारी निकायहरु यस क्षेत्रमा सारिएको थियो । रंगेलीलाई खोक्रो बनाउँदै त्यसबेला पूर्वको
शान भनेर चिनिन्थ्यो यो शहर । वास्तवमा मैले देखे अनुसार विराटनगरको मुलभुत सम्पत्ति
भनेको प्रशासनिक कार्यलयहरु, विमानस्थल, र औधोगीक संरचनाहरु हुन् ।
प्रदुषण र अव्यवस्थित बजारीकरणले गर्दा कहिल्यै यो ठाउँमा टेक्नु नपरोस
भन्ने व्यक्ति पनि प्रशासनिक कामले गर्दा, विमानस्थलले गर्दा, र उद्योग-धन्दाले गर्दा
बाध्य भएर विराटनगर आउँछन् । अन्य ठाउँबाट मानिसहरुको चाप र दिनहुँ ओहोरदोहोर बढ्नुको
अर्को आकर्षण विराटनगर-जोगबनी नाका पनि हो । देशको दोस्रो ठुलो नाका भनेर चिनिने जोगबनी
नाकामा एकछिन सयर गर्दा लाग्छ पूर्वको सबै नेपालीहरु सपिङ गर्न यही आएका छन् । सबैले
राष्ट्रवादको विल्ला केही क्षणका लागि झोलामा
थन्काएर स्वदेशी बजारलाई गिज्याउँदै सस्तोमा सामानहरु किनमेल
गर्न हतारिरहेका भेटिन्छन् ।
जरजर धरातलमा पनि धन्न विराटनगर टिकिरहेको छ । यहाँका वासिन्दा
बाचिरहेका छन् । निर्माणधिन सडकको धुलोले निसासिएर भएपनि सडकमा मानिसहरु हिडिरहेका
छन् । समग्रमा डेढ महिनाको यसपालीको
मेरो विराटनगर वसाई धुलोका कणहरुले मनमा केही असन्तुष्टीहरु
उत्पन्न गराए पनि आफन्तहरुको सानिध्य र चिरपरिचित परिवेशले गर्दा रमाईलो सगँ बित्यो
। धुलो छेल्न मास्क लगाएर भएपनि अधिकांश ठाउँ डुलियो ।
कटु अनुभवहरु भएपनि आफ्नो गाउँ,
आफ्नो शहर सबैलाई प्यारो लाग्छ । विदेशबाट घर फर्किदाँ,
आफ्नो घरको परिवेश दयनिय अवस्थामा रहेता पनि आनन्द लाग्दो रहेछ । परदेशमा बसेर आफ्नो
गाउँठाउँमा यो भएन, त्यो भएन, फलानोले यस्तो गरेन
उस्तो गरेन भनेर फतफताईरहनुको कुनै तुक त देखिदैन । तर पनि साधरण नागरिकको हैसियतले
असन्तुस्टीहरु स्वतः छाँदिदो रहेछ ।
सायद अबको चार, पाँच वर्षमा विराटनगरको रुप पक्कै फेरिनेछ । कुनै राजनीतिक
क्लेश र भित्री खिचातानी नजन्मे विराटनगरको छाती पनि पक्कै चौडा हुनेछ । बन्दै गरेको
फराकिलो सडक, व्यवस्थित ढल निकास
प्रणाली,
ठुल्ठुला भवन, सपिङ मल, पाँचतारे आधुनिक होटल, अस्पताल, क्याम्पस, आधुनिक बसपार्क, र बथनाहा-विराटनगर रेलवे मार्गले पक्कै पनि केही वर्ष अन्तरालमा
विराटनगरलाई थप सिगाँरने छ । र अर्को छुट्टीमा आउँदा गर्वले भन्ने छु - स्वच्छ विराटनगर,
स्वस्थ विराटनगर । विकसित विराटनगर,
हाम्रो विराटनगर ।
-धिरज चौधरी
Published in :http://suvadin.com/news/views-and-opinions/ourbiratnagar
Date: 2017-3-16
0 comments:
Post a Comment