Thursday, August 24, 2017

पिएचडी फोविया

अनुभव​
पिएचडी फोविया

“अनुसन्धान त्यो कार्य हो जुन म गरिरहेको हुन्छु तर मलाई नै थाहा हुदैन म के गरिरहेको हुन्छु ।“
कोरियाको ख्योङ्गी विश्वविध्यालयको प्रयोगशालामा मेरो दिनचर्या यस्तै छ​ । दिनहुँ चौध-पन्ध्र​ घण्टा व्यस्त रहन्छु । तर मलाई स्वयम थाहा हुदैन म के मा व्यस्त रहन्छु । मध्यरात ओछ्यानमा ढल्किने बेला सोच्छु- “आज के गरे ?” छटपटी सुरु हुन्छ । निन्द्रा लाग्दैन । दिनभरिको उपलब्धी केही भेट्दिन । अर्को दिन फेरी उही कामहरुको चाङ जस्ताको त्यस्तै देख्छु ।
प्रारम्भमा पिएचडी को विध्यार्थी हुदाँ र अहिले केही अन्तराल बिताईसक्दा धेरै उतारचढाव  भोगीसके र भोग्दैछु । महत्वाकाङ्क्षाहरु घाताङ्कीय क्रममा उधो लाग्दै ग​ए । पहिलो वर्ष मेरो अध्ययनको विषयमा के-के न गर्छु जस्तो लाग्थ्यो । थुप्रै रिसर्च पेपरहरु निकाल्छु जस्तो लाग्थ्यो । तर निरस र एकैखाले दैनिकीले गर्दा उद्देश्यहरुमा नियमित ह्रास आउँदै गयो । विश्वविध्यालयको न्युनतम आवश्यकता पुर्याएर दिक्षित हुन मात्रै पाए हुन्थ्यो जस्तो पनि लाग्न थाल्यो ।
पिएचडी सोधकर्ताको रुपमा मेरो जीवन​ एउटा निश्चित र महत्वपूर्ण  उद्देश्यका प्राप्तीका निम्ति अनुबन्धित छ । तर​ उद्देश्य चुम्ने समय सम्म मेरो मथिगंलमा पिएचडी फोवियाका अनेकन प्रारुपहरु देखा पर्दैछन् ।
मोवाइलको अलराम सगैँ ब्युझिन्छु । प्रोफेशर भन्दा अघि नै ल्याव पुग्ने कोशिस गर्छु । आफ्नो डेस्कमा डेस्कटप अन गरेर कफी बनाउँछु । कफी पिउँदै एकलट इमेल चेक गर्छु । अनलाईन न्युजहरु सरसर्ती हेर्छु । सामाजिक संजालाहरुमा एकफन्को मार्छु । त्यसपछि ल्यावको काम तिर ध्यान मोड्छु । अघिल्लो दिनको अधुरो कामलाई निरन्तरता दिन्छु । यतिकैमा लन्च टाइम हुन्छ । लन्च पछि पुनः काम सुरु गर्छु । काम गर्यो , मेहनत गर्यो, समय  खर्चियो । तर जीव विज्ञानको अनुसन्धानमा परिणामहरु प्रायः हात लाग्यो सुन्य हुन्छ ।
साझँ पर्छ । मस्तिष्कको उर्जा शिथिल भैसकेको हुन्छ​ । सुन्य परिणाम​ले फ्रस्टु पारेको हुन्छ । ल्याव नोट​, ल्याव रिपोर्ट​, पेपर र रिसर्च प्रपोजलको कामले रातको दश बजिसकेको पत्तो चल्दैन । यसरी पुरै दिन र लगभग आधा रात पिएचडीको नाममा समर्पण भईरहेको हुन्छ । अनेक तिक्तताका बाबजुद​ मेरो “पिएचडी चक्र” यसरी नै चलायमान भईरहेको छ​ ।
मेरो “पिएचडी चक्र” कोरियामा अध्ययनरत धेरै साथीहरु सगँ मेल खान्छ होला ।  पिएचडी कालमा हामी सगँ विरलै रोमान्टिक र रोमान्चित विकेन्ड हुन्छ । समय लाग्ने प्रयोगहरुले गर्दा धेरैले त ल्यावलाई नै आफ्नो डेरा बनाउछन् । फाष्टफुडहरु प्रायः हाम्रो लन्च बन्छ । फ्रिजका वासी खानाहरु हाम्रो नियमित डिनर हुन्छ । कहिलेकाहीँ हुने जमघटमा साथीहरु उही ड्याङका हुन्छन् । त्यस्ता पार्टीहरुमा गफहरु पनि दिक्क लाग्ने अनुसन्धान र ल्यावकै सेरोफेरोमा सेलाउँछ​ ।
पिएचडीको उत्तरार्धमा त इमेलहरुले पनि चैनले बस्न दिदैन । इन्बक्समा टोपलिएका इमेलहरु कुनै उत्साहजनक हुन्छ त कुनै निकै पिडादायक । रिसर्च पेपरहरु राम्रो जर्नलमा “अक्सेप्टेड” लेखिएको इमेलको प्रतिक्षामा हाम्रो समय तड्पिन्छ । पेपर प्रकाशनार्थ बुझाईसके पश्चात हामी “रिजेक्टेड”​, “रिभ्यु”, “अक्सेप्टेड” जस्ता शब्द सुसज्जित इमेलको पर्खाईमा रहन्छौँ । एउटा पेपर कम्तीमा चार​, पाँच वटा जर्नलबाट “रिजेक्टेड” को घाउ नपाए सम्म छापिन मुश्किल पर्छ । इमेल रिफ्रेश गरिरहने लत  लाग्छ । र कुनै इमेल आयो भने पेपर सम्बन्धित नै हो की भन्ने भान पर्छ ।
एकाध विदामा कतै ग​एको बेला कसैले सोधिटोपल्छन् – “तिम्रो पिएचडीको रिसर्च के हो ? कतिवटा जर्नल छापियो ? कहिले ग्र्याजुएशन हुदैछौँ ?” अवोध केटाकेटीलाई ठूलाबडाले चुम्बन गरेर, गाला सुम्सुम्याएर ​दिक्क बनाए जस्तै, यस्ता प्रश्नहरुले अनाहकमा मलाई दिक्क बनाउँछ । मनमा चसक्क घोच्छ । आफैलाई बुझ्न मुश्किल अनुसन्धानको विषयमा अरुलाई कसरी प्रस्ट्याउनु ? दर्जनौँ जर्नलले रिजेक्टेड गरेर हतोत्साहीत पारेको बेला रिसर्च पेपर प्रकाशन गर्न कति पापड पेल्नु पर्छ भन्ने कुरा कसरी व्याख्या गर्नु ? दिक्षित हुने दुरदुर सम्म कुनै ठेगान आफैलाई थाहा नहुदाँ पिएचडी कहिले सकिन्छ भनेर कसरी उत्तर फर्काउनु ?
सबैको पिएचडीको व्यथा आआफ्नै खाले छन् । गर्लफ्रेन्ड हुनेहरु पिएचडीको विषाक्तले ब्रेकअपको सघांर​ सम्म पुग्छन् । जहिले ल्याव-ल्याव भनिरहदाँ विचरी गर्लफ्रेन्डहरु पनि निराश बन्छे । विकल्प खोज्न बाध्य बन्छे । अनि आफ्नो बाटो तताउन विवश पर्छे । बिहे गरेकाहरुले आफ्नी पार्टनरलाई समय दिन नपाउँदाको बेचैनी झन कहाली लाग्दो होला ।
पिएचडी फोवियाको आर्थिक पिडा झन भयानक छ​ । म जस्ता न्युनतम स्टाइपेन्डमा गुजारा चलाउनेको त पिएचडी एउटा कहर नै सावित हुन्छ । त्यसमाथि घरपरिवार, श्रीमती पनि सोही स्टाइपेन्डमा निर्भर छ भने महिनाको अन्त्यतिर खल्तीमा मान​ओन पनि बच्दैन । दौतरीहरु कोहि विदेशमा त कोही स्वदेशमा आर्थिक सवलता तिर उन्मुख भईरहदाँ हामी जस्ता पिएचडीका विध्यार्थीहरु पैसा कमाउने उमेरमा सम्पूर्ण जोश अनुसन्धानमा केन्द्रीत गर्छौ । चार​, पाँच वर्ष अवधीमा फेसबुकहरुमा पोस्टिएका तिनीहरुका अर्थिक विलाशिता झल्किने तस्विरहरुले आफैँलाई गिज्याईरहेको महसुश​ हुन्छ ।
जीवन यस्तो मोडमा अड्किन्छ जहाँबाट हामी पिएचडी हापेर फर्किन मुश्किल पर्छ । सुरुवातमा निराशाले ढाक्छ । सबै कुरो भ्रम लाग्छ । केही बुझिदैन । नैराश्यता छाउँछ । त्यसमाथि विल्कुलै भिन्न भूगोलमा बसेर पिएचडी गर्नुपर्दा मुखमा चिराइतो चपाए भन्दा पनि तितो लाग्छ  जीन्दगी ।
पिएचडी प्रती यति नकरात्मक हुन्छौँ की पिएचडी शब्द सुन्ने बित्तिकै पनि तर्सिन थाल्छौ । एक प्रकारको सिन्ड्रोमको विकास तिव्र गतिमा हुन थाल्छ । केही कालखण्ड सम्म हामी पिएचडी सोधकर्ताहरु कुनै न कुनै पिएचडी फोवियाबाट अवश्य गुज्रिरहेका हुन्छौँ ।
यस्ता विविध समस्याहरुको पर्खाल​ भत्काएर पिएचडी सकाउनु विष मन्थन गरेर अमृत बनाउनु बराबर हो । भ्रमैभ्रम र अनिश्चितता मडारिरहेको बेला सोधकर्ताहरुको जीन्दगीमा एउटा यस्तो घडी आउँछ जहाँबाट​ उसले भ्रम र अनिश्च्यहरुलाई तोड्न सफल हुन्छ । एक्कासी आकाशमा विजुली चम्के झैँ आफ्नो पिएचडी चक्रमा सही प्रकाश पहिल्याउन पिएचडी सोधकर्ताहरु सक्षम हुन्छन् ​।
समग्रमा पिएचडी अध्ययनका बेला धेरै उतारचढाव सामना गर्नु पर्छ । सबै अड्चनहरु सगँ जुध्दै अघि बढ्दा पिएचडी सकिदाँ सम्म हामी जीवनमा आईपर्ने सबैखाले चुनौतीहरु सगँ लड्न सक्षम बनिसक्छौँ । चुनौती र भ्रमको भुमरीमा रुमलिरहदाँ जीवनमा के गरिरहेको छु भन्ने अचम्म लाग्न  सक्छ । तर सुस्तरी हामी बुझ्दैँ जान्छौ जीन्दगी भनेकै चुनौतीको अर्को रुप हो । पिएचडी सगँसगैँ हामी जीवन जीउने कला समान्तर रुपमा सिक्दै ग​ईरहेका पनि हुन्छौँ । अनुसन्धानमा व्यस्त रहिरहदाँ हामी सिर्जना र बौदिकताको आडमा जीवनमा आईपर्ने अधिकांश बाधा-अड्चन फुकाउन पनि सिकिरहेका हुन्छौँ ।
अन्त्यमा त्यो दिन आउँछ, जुन दिनको प्रतिक्षाका लागि हामी वर्षौ प्रयोगशालामा बिताएका हुन्छौँ । दिक्षित हुने दिनमा खुशीको बाढीले पिएचडीका सबै फोवियाहरुलाई बगाएर पाखा लगाईदिन्छ । दिक्षित पश्चात हाम्रो लागि एउटा सुन्दर भविष्य कुरेर बसिरहेको भेट्छौँ । अध्ययन पश्चात  आफ्नै देश​, आफ्नै समाजमा फर्केर पुग्दा सामाजीक प्रतिष्ठाको चुली पनि निकै चुलीएको आभाश​ हुन्छ । पिएचडीको आफ्नै मान भेट्छौँ, आफ्नै शान भेट्छौँ र आफ्नै गुनगान गुन्जिएको भेट्छौँ । त्यहीभ​एर पिएचडीको अनुसन्धानमा डुबेको बेला हामी कोही नअत्तालियौँ, नहड्बडाऔँ, नडगमगाऔँ ।



-धिरज चौधरी
http://sonsik.org.np/wp-content/uploads/2014/08/SONSIK-SMARIKA-5-SONSIK-Souvenir-Volume-5.pdf

1 comments: