Monday, January 2, 2017

यसरी ठहर्याइयो दर्जिनी बज्यैलाई ‘बोक्सी’

यसरी ठहर्याइयो दर्जिनी बज्यैलाई ‘बोक्सी



एक्कासी आमा चिच्याउन थाल्नुभयोसर्प……..सर्प । सुतिरहेको हामी पनि ब्युझियौँ । अत्तालियौँ । काहालियौँ । कोठामा सर्प देखेपछि दाई र म रुन थाल्यौँ । पल्लो कोठाबाट साइला काका आएर हामी सबैलाई बाहिर बरण्डामा निकाल्नु भयो ।
होहल्ला सुनेर घरबेटी बा तल​ ओर्लिए । सर्प भन्ने थाहा पाएपछि भाला लिएरै आए । साइला काका, छिमेकका चिया बाजे र घरबेटि बा मिलेर कोठामा भुईपाताल खोजे । गोदरेज मुनी सर्याकसुरुक सुनेपछि बल्ल त्यहाँ बेरिएर बसेको गोम​न सर्प भेटे ।
घरबेटि बाले भाला हाने । चिया बाजेले लठ्ठी बजारे । अरु रमितेहरुले ढुङ्गा वर्षाए । गोम​न सर्पको हुकाँर​ ठाउँका ठाउँ सेलायो । क्षणभरमै मरियो । भालाको टुप्पोमा बेरेर​ मरेको सर्पलाई बाहिर निकाले ।
मरेको सर्प बाहिर निकाले पछि आमा छक्क पर्नु भयो । हामि दाजुभाई पनि छक्क पर्यौँ । अजिङगर जत्रै ठुलो देखिएको सर्प मारेर बाहिर निकाल्दा अन्धो बाम माछा जत्रै थियो ।
आमाले फ्याट्ट भनिहाल्नु भयो- हामीले देखेको सर्प यो होईन । निकै ठुलो थियो ।
सबै छक्क परे । अर्को पनि सर्प छ की भनेर फेरी चप्पाचप्पा खोजे । भेटेनन् । घरबेटी बाले आमालाई सोधे-तिमीले देखेको सर्प मोटै थियो त ? आमाले मुन्टो हल्लाउँदै हो भन्नुभयो ।
घरबेटीबा आफैलाई अलिअलि धामीको कर्म आउथ्यो । एकछिन के के बर्बराउनु भयो । बारीतिर अछेता छर्किनु भयो । उत्तरतर्फ टपरीमा चामल र अम्खोरामा पानी राखेर एकछिन काम्न थाल्नुभयो
काम्दै- यो त्यसकै काम हो । त्यही बोक्सीको सर्प हो । डस्न अजिङ्गर पठायो । हल्ला भयो । डस्न सकेन । हल्ला सुनेर म आए । मलाई झुक्याउन बोक्सीले अजिङ्गरको ठाउँमा गोम​न राखिदियो । त्यहि बोक्सीको बितण्डा हो यो ।
सर्पको आकार परिवर्तनबाट हामी अचम्ममा थियौँ नै । अझ घरबेटी बाले बोक्सीको वितण्डा हो भन्दा डरले त्यस रातभर सुत्न सकेनौँ ।
भोली पल्ट बिहान झन अचम्म भो । मरेको सर्प राखेको ठाउँमा बिहान हेर्दा सर्प​ थिएन । काकाहरुले भोलीपल्ट खोलामा फ्याल्ने भनेर सर्प अम्बाको बोटमुनी ईटाले चेपेर राखेका थिए । बिहान फाल्ने बेला लठ्ठीले उठाउन खोज्दा त्यस ठाउँमा सर्प भेटेनन् । वरपर पनि देखेनन् । मरेको सर्प एकाएक हरायो धामी घरबेटी बाको कथन साबित हुन लागेको थियो ।
राती त घरबेटी बाले मात्रै बोक्सीलाई दोष लगाएका थिए। सर्प हराएपछि टोलका सबैले बोक्सीले नै आएर सर्प लगिछे भन्न थाले ।
म सानै थिए । बोक्सी कस्तो हुन्छ मलाइ थाहा थिएन । आमाको कुरा सुन्दा चाहिँ बोक्सी  दन्ते कथाको राक्षस्नी जस्तै होला भन्ने सोच्थे । सोचेर डर पनि लाग्थ्यो ।
केहि दिन सर्पको तर्क खुब जम्यो सबैको जिब्रोमा । चिया पसलमा बुढापाकाले गफमा बोक्सीको खुराक खुब मिसाए । कोही त छिटै बोक्सी पत्तो लगाएर कोशीपारी खेद्नु पर्छ पनि भन्थे ।
साता दिन नबित्दै हाम्रो कोठामा सर्प मारेका चिया बाजेको नाती बिरामी पर्यो । छेर्ने र ज्वरो आउने । काखैको त्यो बच्चा हनहनी ज्वरोले रोकोरोई गर्दथ्यो ।
त्यसबेला नजिकै स्वस्थ्य चौकी थिएन । एकजना अहेव थिए । बाजेले नातीको उपचार गर्न उसैकहाँ लगे । अहेबले सक्दो औषधी दिए । सक्दो सलायन पानी चढाए । दिसापिसाब जचाए । निको हुन्छ भन्ने अश्वासन दिए ।
दुई दिन सम्म पनि औषधीले छेउटुप्पो छोएन । घरेलु उपचार पनि गरे । न ज्वरो घट्यो । न छेर्ने बन्द भयो ।
दिशापिसाब को रिपोर्ट आएपछि अहेबले हैजा रहेछ । छिटै शहरको अस्पताल लैजाउ भने । बाजे चिन्तित भए ।
चिन्तित बाजेलाई सबैले उक्साएनातीलाई हैजा-सैजा केही होईन​, बोक्सी लागेको हो । औषधीले छुन्न । बोक्सीले सर्प मारेको बदला लिन खोज्दै छे । नाती मारेर मरेको सर्प व्युत्याउन लागेकी छे । नाती जोगाउने भए छिटै धामीलाई बोलाउ । 
बाजेले अहेवको कुरो पत्याएन गाउँलेको कुरा मान्यो । बाजे भोलीपल्ट नै डाडालाईन ग​ए । डाडालाईन गाउँमा नाम चलेका धामी थिए-  सालीग्राम झाक्री । सबैले झाक्रीबा मात्रै भन्थे ।
नातीलाई बोक्सीको प्रकोपबाट जोगाउन र सन्चो बनाउन साँझपख बाजेको घरमा झाक्रीबा आईपुगे । सगँसगैँ झाक्रीबाले बोक्सी पत्ता लाउने कुरा पनि सिसौली टोलभरी फैलियो । फैलिदै मेरो कान सम्म आईपुग्यो ।
त्यसरात​ चिया बाजेको अगेनामा धेरै जना भेला भ​एका थिए । निस्पट अध्यारो थियो । रात छिप्पिदै थियो । बाजेले राको बाले । झाक्रीले ढ्याङ्ग्रो पिट्न थाले ।
चौध महिनाको अर्ध चेत बालकलाई राको छेउ भुइमा सुताए । झाक्रीले मन्त्र फतफताउन थाले । हेर्दाहेर्दै एकछिनमा काम्न थाले । उफ्रिन थाले । जोडजोडले कराउन थाले । सबै दिशा तर्फ चामल फ्याक्न थाले ।
एकछिन उफ्रेपछि नातिको छेउमा पलेटी मारेर झाक्री काम्दै मन्त्र बक्न थाले । विरामी नातीको जिउभरि चामल छर्के । पानी छर्के । छेउमा धुप बाले ।
बाजेले रातो भाले ल्याए । झाक्रीले एकैचट्मा भालेको टाउको छिनाए । आकाशतिर हेरेर मन्त्र पढे । अनि अग्निलाई रगत चढाए ।
फेरी एकैछिनमा जोडजोडले ढ्याङ्ग्रो बजाए । बोक्सी, बोक्सी भन्न थाले । उत्तर तर्फ चामल फाल्दै, राको देखाउदै, बोक्सी भगाउन थाले ।
मन्त्र फलाक्दै र काम्दै  झाक्रीले आगोको लप्कोमा बोक्सीको आकृती देखे । गाउँलेलाई पनि देखाए । सबैले मानौ एउटा कुरुप तस्विर देखे झैँ हो मा हो मिलाए । आगोको लप्कोमा सबैले कस्तो आकृती देखे, त्यहाँ भ​एका मानिसले नै जानुन् । तर मैले चाहिँ कुनै आकृती देखेको थिईन ।
सबै हेर्दा मलाई रमाइलो लागिरहेको थियो । लयात्मक मन्त्रमा झाक्री पुनः बरबराए । र बच्चाको छेउमा ग​एर जोड्ले फेरी पानी छर्किए । बाजेको नाती निन्द्राबाट व्युझिएर रुन थाल्यो । झाक्रीको कर्मकाण्ड सकियो ।
"अब बोक्सीले यो नातीलाई छुदैन । यो सबै खरानी खोलाको बगरमा यही आउँदो औशीको रातमा गाड्नु । अनि सधैँभरिको लागि बोक्सी भाग्छे । बोक्सी यो टोलको उत्तरतर्फ छे । लोग्नेमारा हो । पानी नचल्ने जातको । साठी ननाघेकी । राती-राती मसान जान्छे । सर्प पालेकी र सर्प सगैँ खेल्ने होचो कदकी छे ।" यति भनेर झाक्रीले टाउको छिनिएको रातो भाले झोलामा हाले । दक्षिणा बटुले । अनि बाजे सगँ थप दक्षिणा लिएर आफ्नो बाटो तताए ।
झाक्रीको धामी कलाबाट पनि बाजेको नातीको पखला थामिएन । झाडा सगैँ झन बान्ता पनि बढ्यो। पानीको अभावले शरीर सुक्दै गयो । भोलीपल्ट पखला निकै भ​एर सधैभरिको लागि बाजेको नातीले यो धर्ती छोडेर गयो ।
नातीको अन्तिम संस्कारपछि टोलमा बाजेले सबै बुढापाकाहरुलाई भेला गराए । जान्ने बुझ्ने डाके । सबैले सरसल्लाह गरे । भविष्यको सकंटको बारे विचार गरे । बोक्सीको प्रकोप बारेमा सचेत हुनपर्ने कुरा जाहेर गरे । अनि झाक्रीबाले दिएको हुलीया बमोजीम सबैले आ-आफ्नै अड्कल लगाए:
-त्यै पोक्ची हो बोक्सी ।
-माइलो त मरेर गयो । त्यसैको स्वास्नी बोक्सी रहिछे ।
-हाम्रो लुगाफाटा सिलाउथिन् । टुनामुना लाएर दिन्थिन् क्यारे । दर्जीनी बज्यै नै हो बोक्सी ।
सबैको कुराबाट अन्तमा दर्जीनी बज्यै नै बोक्सी ठहरिन् ।
कक्षा ६ मा पढ्थें त्यतिखेर स्कुल पल्लो गाउँमा थियो । एकदिन स्कुलबाट फर्किदै थिए । सोमबारे हाट लाग्ने मैदानमा धेरै मान्छे जम्मा भएको देखेँ । फुच्चे थिए । सबैको टाङमुनीबाट छिरेर भिड​को अगाडी पुगे । अगाडी पुग्दा पूर्वतिर रहेको बकैनोको रुखमुनी दर्जिनी बज्यैलाई बाधेर राखेको देखे ।
चिया बाजे झोँकिदै –मेरो नाती यसैले खायो । यसलाई मार्नु पर्छभन्दै थिए ।
हाम्रा घरबेटीबा- यो बोक्सीले अरु थुप्रै केटाकेटी खान​ सक्छे । गाउँबाट खेद्नुपर्छ यसलाई भनेर कराउँदै थिए ।
ज्यामिरे बुढो- बज्यै हुन् । यही गाउँकी हुन् । एकचोटी सचेत गराएर अनि चेतावनी दिएर हेरौँ । त्यसपछि पनि केही गरिन् भने अनि गाउँ निकाला गरौला भन्दै थिए ।
अरु पाका मान्छेहरु ज्यामिरे बुढोको कुरोमा सहमत देखिएनन् ।
सबै मिलेर दर्जिनी बज्यैलाई दिसाको झोलपानीले नुहाउने, कालो मोसो दल्ने अनि ढुङ्गा हान्दै गाउँबाट खेद्ने सल्लाह गरे । बिर्खे दाईले ब्याट्रीको कालो धुलो निकालेर कालो मोसो बनाए । दिसाले नुहाएकी बज्यैलाई चियाबाजेले कालो मोसो दले । त्यसपछि बज्यैको डोरी फुकाले । अनि सबैले ढुङ्गा हान्दै कोशीको तिरैतिर कोसौ टाढा सम्म लखटे ।
हेर्दाहेर्दै सिसौली टोलमा गाउँलेले बोक्सी जन्माएर कुरुर तरिकाले धपाउन पनि भ्याए । दर्जिनी बज्यै साच्चै बोक्सी थिईन् या थिईनन् ? त्यो समाजले नै जानुन्
तर​ दर्जिनी बज्यैलाई बोक्सी बनाउनमा हाम्रो पनि अप्रत्यक्ष भूमिका थियो । हुनसक्छ त्यतिबेला काहालिएर हामीले दुब्लो पातलो सर्पलाई नै मोटो अजिङ्गर​ देख्यौँ की ? राती राखेको ठाउँबाट मरेको सर्प कुकुर वा बिरालोले कतै पुर्याएको थियो की ? तर सबैले कथित​ बोक्सीलाई दोष​ लगाए ।
आज​ पन्ध्र वर्षपछि यो घट्ना सम्झिदाँ घिन लागेर आउँछ । चिया  बाजेको नाती वास्तवमा त्यतिखेर बोक्सी प्रकोप भन्दा पनि हैजा प्रकोपले मरेका थिए। अहेवले बाजेलाई बुझाउँन सकेनन् । बाजेले अहेवको  कुरा बुझन चाहेनन् । म हुर्किएको त्यतिबेलाको रुढीग्रस्त समाजमा यस्ता कुरा कसैले बुझेनन् र बुझ्न चाहेनन् ।तर अवोध दर्जिनी बज्यै सिसौली टोलमा अनाहकमा बोक्सी ठहरिए र लखेटीए ।

-धिरज चौधरी

प्रकाशीतः http://www.suvadin.com/news/darjini-bajai-


0 comments:

Post a Comment