Thursday, August 31, 2017

अन्तरजातिय बुहारी

कथा
अन्तरजातिय बुहारी


वाक चतुर्याईमा म अलिक लुरे नै थिए । कम बोल्ने स्वभावले गर्दा काम बाहेकका विषयमा त्यति गफिन सक्दिन थिए । तर अविना सगँ कुन रसायनले काम गर्यो त्यसको भेउ नै पाईन ।  कुराहरु यति धेरै फुर्थ्यो, मानौँ कुराहरुको मूल फुटेर गफहरुको बाढीमा एक अर्कालाई सुनेर बगिरहन्थ्यौँ । ऊ भन्थी- तपाईको कुराहरुबाट​ म मोहित हुन्छु । सुनिरहुँ लाग्छ तपाईका शब्दहरु । काम सगँसगैँ समयहरु उनीसगँ प्रेमिल बन्दै गयो र हामी एक अर्काको लागि अभिन्न पात्र बनिसकेका थियौँ ।
अविना र मेरो महत्वपूर्ण​ प्रयासबाट लम्पनटारमा सन्तुलित आहार सम्बन्धि सचेतनाले राम्रै प्रभाव पारिसकेको थियो । वर्ष दिनको कार्य प्रगति विवरणबाट काठमाण्डौँ स्थित अफिसमा पनि सबै सन्तुष्ट थिए । त्यहिभ​एर प्रोजेक्ट थप एक वर्ष लम्बिएला भन्ने आशामा थियौँ । तर हाम्रो आशा विपरित फन्डको अभावका कारण प्रोजेक्ट लम्विन सकेन । प्रोजेक्ट नभएपछि म काठमाण्डौँ फर्किनु पर्ने भयो । काठमाण्डौँ फर्किनु पर्ने कुराले सबै भन्दा ठुलो कम्पन अविनाको मनमा पर्यो । वर्ष दिनमा हामी दुवै एकअर्काको आड, भरोसा भइसकेकाले उनलाई सम्झाउन मलाई हम्मे हम्मे भयो ।
काठमाण्डौँ फर्केपछि  अविना सगँ नियमित असिमित प्रेमलाप भ​ईरहन्थ्यो ।
फोनमा ऊ भन्थी- "तपाईको उपस्थितिले मेरो जीवनमा केही नहुदाँ पनि सबै थोक छ । तपाईको साथले म जन्मिनुको सार्थकता बोध हुन्छ ।"
उनको कुराले म छट्पटिन्थे । तत्कालै लम्पनटार गइहालुँ जस्तो लाग्थ्यो । गएर सधैभरिको लागि उनलाई आफ्नो बनाउँ जस्तो लाग्थ्यो ।
टाढा रहेता पनि दैनिक गफले हाम्रो सम्बन्ध झन्-झन् फस्टाउदै थियो । म उनलाई बिहेको प्रस्ताव समेत राख्न भ्याईसकेको थिए । ऊ प्रफुल्ल हुन्थी । जिस्किदै हुन्छ भन्थी र भिडियो च्याटमै हामी बिहे गर्न पनि भ्याउथ्यौँ । निर्दोष मनले एकअर्कालाई यति विघ्न माया गर्दथ्यौँ की लाग्थ्यो हाम्रो सम्बन्धमा कुनै सकस छैन ।
तर एकदिन घरमा हजुरमुमा बित्नु हुदाँ काजक्रियाका क्रममा भाउजु अलग्गै बस्नु परेको देख्दा अविना सगँ मेरो सम्बन्धमा जातिय विभेदको ठुलै खाडल रहेछ भन्ने भेउ बल्ल पाए ।
भाउजु बस्नेतकी छोरी हुनुन्थ्यो । हामी उपाध्यय बाहुन । दाई र भाउजुको बिहेको बेला दुई परिवारहरुलाई रिझाउन दाईले धेरै नै कसरत गर्नु भ​एको कुरा सम्झेँ । बस्नेतकी छोरी बिहे गर्न त दाईलाई त्यसबेला महाभारत नै साम्य पार्नु परेको थियो । मैले झन मगर्नी बिहे गर्छु भन्दा कत्रो युद्द साम्य पार्नु पर्ने होला । यतिका दिन सम्म समाजमा बेला-बेला उठिरहने जातिय बहशहरुमा मलाई कुनै चासो थिएन । तर निकट भविष्यमा अविना सगँ जीवन व्यतित गर्न मैले परिवारमा एउटा ठुलै जातिय बिद्रोह गर्नु पर्ने दिन देखिरहेको थिए ।
हजुरमुमाको काजक्रिया पश्चात बोझिलो मन लिएर भए पनि नियमित अफिसमा व्यस्त हुन थाले । साँझ घण्टौँ अविना सगँ गफमा व्यस्त हुन्थे ।
कहिलेकाहीँ अविनाबाट अलग हुने सोच पनि आउँथ्यो । दाई जस्तो विद्रोह गर्ने आँट म मा थिएन । फेरी घरले सधैँ दाई भन्दा बढी आशा म बाट​ राखेको हुन्थ्यो । मगर्नी बिहे गर्दा घर​-परिवारको आशामा नराम्रो तुषारापात पर्न जान्थ्यो ।
अन्तरजातिय विवाहका कारण एउटै परिवारमा भाउजुले व्यहोर्दै आउनु भ​एको विभेदपूर्ण व्यवहारहरु सम्झेँ । घरमा कोही बित्नु हुदाँ मात्रै होइन​, समय​-समयमा घरमा लगाईने पूजाआजामा पनि भाउजु बस्न पाउनुहुन्नथ्यो । धार्मिक कार्यक्रमहरुमा भाउजुलाई एक किसिमको अघोषित बर्जित नै लगाईएको थियो ।
समाजमा उपल्लो वर्ग कहलिएको क्षेत्री-बाहुन बिचमा बिहेबारी हुदाँ त एक किसिमको छुवाछुत अझैँ गाडिएकै छ । तल्लो वर्ग कहलिएको दलित समुदायहरु सगँ समाजले अझ कुन हद सम्मको छुवाछुत लादेको होलान्। यस्तै कुसोचहरुमा अविनामाथि आईपर्ने विभेद सम्झेँ । परिवारको मन्जुरीमै ऊ सगँ बिहे भयो भने पनि धार्मिक क्रियाकलाप लगायत अन्य थुप्रै परम्पराहरुमा उनले एक किसिमको भाउजु जस्तै आफ्नै नातेदारहरुबाट विभेदकारी नियति अवश्य भोग्नु पर्ने देखेँ ।
समयको गतिमा हाम्रो प्रेम दुई वर्ष पुग्न लागेको थियो । दिनहरु बित्दै जादाँ उनले पनि काठमाण्डौँमा एउटा राम्रो खाध्य कम्पनिमा जागिर पाइसकेकी थिई । उनी काठमाण्डौँ आएपछि मन मात्रै होइन हामी तनले पनि निकै नजिक थियौँ ।
गफ सगँसगैँ भेटहरुको रफतार बढ्दै थियो । काठमाण्डौँका लगभग सबै डेटिङ स्पटहरु चाहरिसकेका थियौँ । उनको आगमनबाट म सन्तुष्ट थिए । तिनले भरपुर माया गर्थी । स्वार्थ रहित । धमिलो रहित । उद्देश्य रहित । संवेदनाले भरिपूर्ण माया छताछुल्ल पार्थी ।
मलाई भने जातभातको काडाँले घोचिरहन्थ्यो । कहिलेकाहीँ यति गहिरो बिझाउँथ्यो की अविनालाई भविष्यमा आईपर्ने मानशिक तनावबाट मुक्त राख्न बेलैमा प्रेमको साङ्लो चुडाईदिउँ जस्तो लाग्थ्यो । तर सक्दिन थिए । उनलाई देख्ने बित्तिकै, भेट्ने बित्तिकै कायल​ पर्थे । सबै खील​हरु फूल झैँ नरम लाग्न थाल्थ्यो । त्यहिभ​एर मैले कहिल्यै जातभातको तुषलाई ऊ समक्ष खोल्ने चेष्टा गरिन​ । सबै समस्याहरुलाई समयको घेराबन्दीमा थन्काइदिए । र निसंकोच अविनाको प्रेममा लिन हुन थाले ।
एकसाँझ​ घरमा मेरो बिहेको कुरा चल्ने क्रममा साहस बटुलेर अविनाको कुरा अगाडी सारे ।
पहिला फोटो देखाएँ ।
ममीले "के थरी " भनेर​ सोध्नु भयो ।
अक्मकिदै "थापा……मगर" भने ।
त्यति भन्न नपाउँदै ममी र डेडी रिसले चुर हुनुभयो । दुवैजना उठेर आफ्नो कोठा जानु भयो । दाई-भाउजु केहि बोल्नु भ​एन​। त्यसपछि केहि दिन मेरो बिहेको चियोचर्चो निस्केन ।
दाईले अन्तरजातिय बिहे गर्नु भ​एकोले ममीडेडीलाई सम्झाउन केही सहज त थियो । तर अर्को समस्या घरको मुख्य व्यक्ति हजुरबुवालाई मनाउन पहाड फोर्नु बराबर थियो । ८६ वर्षको वृद्ध हजुरबुवालाई भाउजुको हातको भान्सा त चल्दैन थियो, मगर्नीको हातको भान्सा त झन् अछुत हुने भईहाल्यो  ।
एकदिन अफिसमा एउटा इमेल आयो । सउल नेशनल विश्वविध्यालय​ दक्षिण कोरियामा विध्यावारिधि अध्ययनका निम्ति छात्रवृति पाएको खबर रहेछ । धेरै अगाडी छात्रवृतिका निम्ति उक्त विश्वविध्यालयमा आवेदन ​दिएको थिए । लगभग एकवर्ष पछि छात्रवृति उल्लेख गरेको इमेलले निकै खुशी बनायो । हतारहतार अविनालाई फोन गरेर सुनाए । घरमा पनि खबर गरे ।
छात्रवृतिको खुशी सगैँ विदेश जाने भ​एपछि अविना सगँको बिहेको लागि डेडीममी पनि आफैँ राजी हुनुभयो । विदेश जाने चटारो, समयको अभाव र मुख्य कुरो अन्तरजातिय बिहे हुने भ​एकाले अविना र मेरो विवाह एकदमै सामन्य रुपमा सम्पन्न भयो ।
बिहेको एकसाता पछि हामी दुवै दक्षिण कोरियाको लागि उड्यौँ । उडान भरि अनेक कुराहरु मन्थन गर्दै बित्यो । दाई र मैले दुवैले अन्तरजातिय विवाह गरेकाले ममीडेडीको आफ्नै जातमा धुमधामले हाम्रो बिहे गर्ने सपना त्यसै तुहिएको थियो ।
धेरै विचारहरु फुरिरहेको मेरो मनमा खुशीको तरङग पनि महशुस गरिरहेको थिए । धन्न​ विदेश जाने भएपछि हाम्रो विहेले मुर्तरुप लिएको थियो । विदेश जाने भ​एरै अविनाले आफ्नै परिवारमा अन्तरजातिय कलह तत्काल​ भोग्नु परेन । रीतितीथिहरुमा बन्देज सहनु परेन । विदेश जाने भ​एरै उनले आफ्नै परिवारमा अनेक परम्परागत अछुत व्यवहारको शिकार महशुस तुरुन्तै गर्न पाइनन् । भविष्यमा जे पर्ला पर्ला यस्तै कुराहरु सोच्दै थिए ।
अविनाले- "के सोचमा डुब्नु भयो" भन्दा झल्यासँ  भ​ए ।
मैले कुरा टार्दै भने -" केहि होइन, कोरियामा हाम्रो भविष्य कस्तो होला भनेर कल्पिएर​ भित्रभित्रै रोमान्चित भाको ।"
कोरियाको सुखद जीवन र विध्यावारिधिको सोधमा व्यस्त रहदा दुई वसन्त बितेको पत्तै पाईन । एकदिन घरबाट खबर आयो- हजुरबुबा सिकिस्त हुनुन्छ । तलाई खोज्दै हुनुन्छ । सक्छस भने नेपाल तुरुन्तै आइज ।​
लगभग ९० वर्षको हजुरबुबाको अनुहार अन्तिम पटक हेर्न मेरो मन छट्पटिन थाल्यो । विदा मिलाएर अविना र म नेपाल फर्कियौँ । तर हामी आईपुग्दा निक्कै ढिला भईसकेको रहेछ । हजुरबुबालाई दागबत्ति पनि दिईसक्नुभ​एको रहेछ ।
सबैजना काजक्रियाका लागि गगंबु स्थित क्रियाघरमा हुनुन्थ्यो​ । त्यहाँ अविना र म पुग्दा भाउजुले हतारहतार आविनालाई आफु बसेको अलग्गै ठाउँमा लग्नुभयो ।
म ट्वाल्ल पर्दै उही हजुरमुमा बित्दाको भाउजुले झेल्नु परेको अछुतो व्यवाहार पुनः दोहरिदै ग​एको दृश्य देखिरहेको थिए ।


-धिरज चौधरी

0 comments:

Post a Comment