Monday, May 1, 2017

दुष्स्वप्नमा देशको व्यथा

दुष्स्वप्नमा देशको व्यथा

आखाँमा लगाएको कालो पट्टी एक बन्दुकधारीले खोलीदिएपछि बल्ल थाहा पाए, उनिहरुको सेल्टरको मुलद्वार नजिक आइपुगेका रहेछौँ । पश्चिममा सूर्य लोप हुदै ग​ईरहेको थियो । ढुङ्गाको छाना माथि एक सेन्ट्री चनाखो अवस्थामा उभिएको थियो ।
उराठ लाग्दो भीर​। फेदमा ढुङ्गाको पर्खाल लाएको ठूलो मैदान । मैदानमा थुप्रै चिनिएका अनुहारहरु , सबै सन्ध्याकालिन युद्ध अभ्यासमा व्यस्त थिए अनि बन्दुक काधमा राखेर उफ्रिदै नारा फलाक्दै थिए-
स्वतन्त्र नेपाल जिन्दावाद्  !
विदेशी हस्तक्षेप​ मुर्दावाद् !
स्वाभिमानी नेपाली एक हौँ !
हाम्रो पहिचानलाई जीवित बनाऔँ !
स्वतन्त्र नेपाल जिन्दावाद् !
मलाई उक्त सेल्टर परिसरमा "स्वाभिमानी नेपाली" लेखिएको फेटा लाएका केही युवाहरुले बन्धक बनाएर ल्याईपुर्याएका थिए । परेड मैदानमा मलाई छाडेर उनिहरु एकछिन् पछि उकालो डाडाँमा अलप भ​ए ।
म अतालिएको थिए । भित्री आँत पनि कामिरेहेको थियो । यिनीहरुले मलाई किन बन्धक बनाए, सोच्नै सकिरहेको थिईन । बलजफ्ती यहाँ ल्याउँदा मेरा भुराभुरी र श्रीमतीको रुवावासी सम्झेँ ।फर्केर आईपुगिहाल्ने आशमा  उनिहरु भात खाने बेला पनि मलाई कुरिरहेका होलान् भन्ने लाग्यो
मन छटपटाईरहेको बेला सम्झे, एक महिना पनि भ​एको छैन यसै समुहको भूमिगत "स्वाभिमानी नेपाली स्वतन्त्र मोर्चा" लाई मोटो रकम चन्दा दिएको जताततै नेपालीहरुको "स्वतन्त्र नेपाल" अभियानको राप तातिरहेको थियो । म पनि उक्त अभियानमा अप्रत्यक्ष रुपमा समावेश​ भईसकेको थिए । विदेशी हस्तक्षेपको विरुद्धमा म पनि उभिएको थिए । "स्वतन्त्र नेपाल" अभियानलाई मलजल होस भनेर आर्थिक सहयोग पनि गरेकै थिए । फेरी किन यिनिहरुले स्वाभिमानी नेपाली लडाकुहरुको सेल्टरमै ल्याएर मलाई बन्धक बनाए ।
डर​, त्रास र भ्रमको खिचडी दिमागमा उम्लिरहेको बेला एक महिला आएर आफ्नो पछि हिड्न लगाए । उनको पछि-पछि सिढिँ नै सिढिँ ओर्लिएर दुईतल्ले अन्डरग्राउन्ड बैठक कक्षमा पुगेँ।
त्यहाँ पुग्दा देखेँ नेपाल एक स्वतन्त्र​, स्वाभिमान, अखण्ड​ राष्ट्र छदाका विभिन्न दलका नेताहरु लगायत अनगिन्ति शिर्ष व्यक्तित्वहरु पलेटीँ मारेर​ क्रमशै बसेका थिए । यिनिहरु  सबैलाई यसरी एकै ढिका भ​एर एकै प्रयोजनका लागि मिलेको उहिले नेपाल देश रहदाँ कहिल्यै सुनेको थिईन​, देखेको थिईन​। आज नेपाललाई विदेशीको चङगुलबाट स्वतन्त्र नेपाल बनाउने अभियानमा सबैलाई एकै ठाउँ एक शक्ति भ​एर उभिएको देख्दा पत्याउनै गाह्रो लाग्दै थियो ।
म कक्षमा पुग्ने बित्तिकै मोर्चाका अध्यक्षले आफ्नै आशनबाट माफ माग्दै भने,
-खगिश्वरजी, माफ गर्नु होला, तपाईलाई यसरी ल्याउनुपर्यो । सहज तरिकाले ल्याउन पनि सकिन्थ्यो । तर उत्तरी र दक्षिणी विदेशी मोहडाहरुले तपाईलाई बन्धक बनाएको सम्झिउन् भनेर सबैको अगाडीबाट बलजफ्ती गरेर ल्याउनु पर्यो । यसरी ल्याउदाँ विदेशी भत्वाहरुलाई तपाईको परिवारको हामी सगँ साठगाँठ छ भन्ने नपरोस भन्नलाई नै बन्धक शैलीमा ल्याएका हौँ ।
म मौन उभिरहेको थिए ।
एक नेताले पुरानै आफ्नो राष्ट्रवादी शैलीमा थपेँ,
-हाम्रो सगंठनलाई तपाईको सीपको जरुरत छ ।
-विदेशी हुतीहाराहरुलाई परास्त गर्न तपाईको अमुल्य ज्ञानको आवश्यकता छ ।
-नेपाल आमालाई जोगाउन​ स्वतन्त्र नेपाल अभियानका लागि तपाईको दक्षताको अपरिहार्यता छ ।
उनिहरुको कुराबाट मेरो अस्थिर मस्तिष्क केही शिथिल भ​ईसकेको थियो । र सबैको सम्मुख ठुलै आवाजमा उनिहरुलाई धिकार्दै मेरो लवजहरु फुट्न थाल्यो,
-कुन आमाको कुरा गर्नुहुन्छ । उसबेलाको नेपाल आमालाई तपाईहरुले नै विदेशीको आगंमा बलात्कृत होस भनेर सुम्पिनु भयो ।
- नेपाली भूमीलाई चिरा पारेर दक्षिणी र उत्तरी छिमेकीमा बाड्नु भयो ।
-तपाईहरु नै होइन, रङ्गीय, वर्गिय र जातिय विभेदको खिल गाडेर​ स्वाभिमानी नेपालीहरुलाई एक अर्का सगँ लड्न छोडिदिनु भ​एको ?
- र अहिले आएर​ भाई फुटेँ गवार लुटेँ शैलीमा दुवै छिमेकीले हाम्रो भूमी बाडीचुडी लगेँ ।
मेरो कुराको मनन् गर्दै आत्माग्लानी भावमा त्यसबेलाका वैकल्पिक शक्तीका अर्का कामरेडले समर्थन जनाएँ । एक कुनामा दक्षिणपन्थि नेताहरू गनगन गर्दै थिए । उनीहरुको अस्पष्ट बोली मैले केही बुझिन ।
उहिले गाईलाई प्रयोग गरेर भोट हसुर्न सफल भएका अर्का नेताले आग्रहपूर्ण शैलीमा सम्झाउन थाले,
-हामीबाट गल्ति भ​एकै हो दाई । सधैँ सत्ताको चास्नी मै हामी डुबिरहयौँ । संविधान जारी गरेर पनि देशलाई निकास दिन सकेनौँ । हामी नेताहरुकै आखाँमा वर्ग विभेदको चश्मा थियो । जसबाट जनताहरु झन् आक्रन्त भ​एका थिए ।  
-जे हुनु थियो भ​ईहाल्यो । श​त्रुहरुले मैका छोपे। गिद्दे नजर लाए । भ​ईसकेको गल्तिलाई अब सपारेर हाम्रो देश नेपाललाई पुनः विश्वको मानचित्रमा ल्याउनु छ दाई ।
मधेश, मधेश भनेर मधेशीलाई त्यसबेला ललिपप देखाएका नेताहरुले पनि पश्चतापको बादल देखाउदै आग्रह गर्न थाले-
-खगि दाई विनम्र आग्रह छ । हाम्रा लडाकुहरुलाई तपाईको हतियार सम्बन्धिको ज्ञान अत्यन्तै जरुरत छ । उनिहरुको तालिमको जिम्मा लिईदिनुपर्यो । ब्रिटिश आर्मीबाट रिटायर्ड तपाईको जीवनको समय नेपाल आमाको मुक्तिको लागि समर्पण गरिदिनुपर्यो ।
ती नेताहरुको कुरा सुने पश्चात केहीबेर सोचेँ । देशको निम्ति म​ आफ्नो ज्यान सुम्पिन सक्ने मान्छे। आफुले जानेको युद्धसिप सुम्पिनु मेरो लागि ठुलो कुरो थिएन​।
बैठक कक्षमा सबैको विनय​ सुनिसके पछि, "मेरो कार्य शैली प्रति कसैले हस्तक्षेप र प्रश्न उठाउन नपाउने" सर्त राखे।
तुरुन्तै सबैले सहमति जनाए ।
रात छिपिसकेकाले तराई मुलका देखिने एक कार्यकर्ताले मलाई सुत्ने कोठामा पुर्याईदिए । भोलिपल्ट देखी उक्त सेल्टरमा रहेका सयौँ युद्धरत नेपालीहरुलाई दक्ष सिपाही बनाउने जिम्मेबारी बहन गर्नु थियो ।
थाकेर लखतरान परेता पनि आखाँमा निन्द्रा थिएन । बैठक हलमा रहेका सबै नेताहरुको अनुहार झल्झल्ती सम्झिन थाले । तिनीहरुका फुस्रो अनुहारमा लाचारता झल्किरेहेको भेटेँ । सबै नेताहरुमा एकताको फराकिलो सोच जन्मेको पाएँ । पुरानै विचार  अनि सत्ता र कुर्सिको लोलुप्ता कसैमा देखिन । सायद् त्यहिभ​एर होला नेपाल देशलाई स्वतन्त्र बनाउने यत्रो महान क्रान्तिमय कदम चाल्ने यो भूमीगत पार्टिको कुनै विशेष​ पदहरु रहेनछ​ । सबै सदस्यकै दायरामा रहेर सामुहिक निर्णयहरु गर्दा रहेछन् ।
सगँसगैँ तिनीहरुका कर्तुतहरु पनि फिलिममा झैँ आखाँ अगाडी चलायमान हुन थाल्यो । तिनिहरुको त्यसबेलाका संङकिर्ण सोच र स्वार्थ राजनीतिको पराकाष्ठा सम्झेँ । देशका निम्ति कुनै नेतामा त्यसबेला बलिदानी भाव​ थिएन । कसैसगँ दुरसोच् थिएन​ । विकासको झिल्को सल्काउने कसैले हुर्मत देखाएन​न् । कोहीपनि सामजिक र धार्मिक सदभावको उदाहरणीय बन्न सकेनन्
अबका दिनहरुमा देशका निम्ति मेरो जीवनले नयाँ मोड समाउदै थियो । त्यहिभ​एर आजको रात भरपुर निदाउने दाउँ खोज्दै थिए । तर फिटिक्क सकिरहेको थिईन । झन् देशको कालखण्डहरु सम्झिन थाले ।
पृथ्वीनारायण शाहको एकिकरणका सुनौला गाथाहरु गुञ्जिन थाल्यो । मनमा राणाशासनको क्रुर इतिहास खुल्न​ थाल्यो । २००७ साल यताका प्रजातान्त्रिक अक्षरहरु नाच्न थाल्यो । ४६ सालको जनआन्दोलन स्मृतिमा ताजा हुन थाल्यो । १० वर्षे माओवादी जनयुद्धको आलै रगतको गन्ध आउन थाल्यो । ६३/६३ को दोस्रो जनआन्दोलनमा शहिद भ​एकाहरुको रोदन सुनिनथाल्यो । मधेस आन्दोलनको पुकार कानमा आउन थाल्यो । अनि टिकापुर​-कैलाली हत्याकाण्डको चित्कार मेरो मुटुमा आएर ठोकिन थाल्यो ।
देश अनिर्णयको बन्दी अवस्थामा थियो । नेताहरु सत्ता-सम्भोगका निम्ति विदेशीको चाकडीमै व्यस्त हुन्थे । जनता गरिबिको कात्रोमा लपेटिसकेका थिए । यहिक्रममा दैवले पनि देशमा महाभुकम्पको सराप बर्साईदियो । देशमा आपतका धर्साहरु झन्  बढ्न थाले ।
राजनीति गाठो फुकाउनका निम्ति संविधान घोषणा भयो । देशको मुहार फेरिन्छ भन्ने लाग्यो । तर संविधानले सबैलाई समेट्न नसक्दा देशको समथर भागमा आन्दोलनको विगुल दोहोरियो । राज्यले उनिहरुलाई उपेक्षित गरेको महशुस गरे । परिणामतः ती वर्गका मानिसहरु छिमेकी देशको मद्दत खोज्न थाले । मौकाको पर्खाईमा रहेको छेमेकीले पनि सहयोगको खोलमा नाकबन्दी लगाईदियो ।
नाकाबन्दी पश्चात देशको अर्थतन्त्र सुन्यमा झर्यो । दक्षिणी छिमेकको हस्तक्षेप पनि ह्वातै बढ्यो । भुटानी प्रकरण, बङ्ग्लादेशी संस्करण​, र सिक्किमिकरणको दृष्टान्त देखिसकेका हाम्रा इतिहासविद्हरुले देश छिटै विदेशीको खोपीमा पर्ने अड्कलबाजी गर्न थाले ।
यसबाट नेताहरु डराउन थाले । उनिहरु दक्षिणको प्रभाव निस्तेज पार्न उत्तरी छिमेकी गुहार्न थाले । उत्तरी छिमेकीलाई पनि नेपाललाई प्रभावमा पार्न सक्यो भने स्वतन्त्र तिब्बतको आन्दोलन​मत्थर हुन्थ्यो भन्ने भान थियो । उसले पनि मौका छोप्यो । दक्षिणलाई चिढ्याउदै नेपालको उत्तरी भेगमा विकासको ललीपप देखाएर आफ्नो बर्चश्व बर्साउन थाल्यो ।
दुई बडेमान ढुङ्गा बिचको तरुल न थियो नेपाल । जतिखेर पनि ती दुई विशाल ढुङगाको संसर्गका कारण नेपाल पिसिएर धुलो हुन सक्थ्यो । त्यही भयो, दुबै ठुल्ठुला चट्टानहरु आपसमा मिले । दक्षिणी र उत्तरी ध्रुबहरुको गोप्य समझ्दारी भयो- "हिमाल र पहाडका आधा भूभाग बेईजिङले हड्पिने र तराई र पहाडका अर्को आधा भाग दिल्लीले खाने । अनन्तः हाम्रा नेताहरुकै क्षणिक स्वार्थले गर्दा दुवै छिमेकी देशहरुले मिलेर पुर्खेली सम्पति अशं लाए झैँ हाम्रो देश एकआपसमा बाडेँ ।
यतिकैमा चार बजे बिहानीपखको अलरामबाट म झल्याँस व्युझेँ छु। हैट​, कस्तो दुष्स्वप्न देखेछु । सेक्युरिटी गार्डको नाइट ड्युटीमा रातको एकबजे पछि तीन घण्टाका लागि सुत्न पाइन्थ्यो । त्यो तीन घण्टामा पनि कस्तो नराम्रो सपना देखेछु ।
ओठ सुके जस्तो भयो । बोतलको पानी पिएँ । अनि सपना सम्झे । धेरै पछि नराम्रो अनौठो सपना देखेको थिए । विचित्रको सपना भ​एता पनि मेरो दुष्स्वप्नमा देशको वर्तमान विम्व झल्किन्थ्यो । साथसाथै मेरो दुष्स्वप्नले नेताहरुको ताल नसुध्रिने हो र जनता बेलैमा सजग नहुने हो भने देशले व्यहोर्न लागेको भावी हविगत बारे सङ्केत पनि गरिरहेको थियो ।
उज्ज्यालो हुन अझैँ एक डेढ घण्टा बाकी थियो । समय व्यतित गर्न मोबाइलमा फेसबुकको वाल हेर्न थाले । वालमा प्रतिष्ठित न्युज पोर्टलहरुले समाचारहरु शेयर गरेका रहेछन् -
-नेपालको राजनीतिमा फेरी कालो दिन ।
-कहि नभ​एको जात्रा हाडी गाउँमाः प्रधानन्यायधीश माथि महाअभियोग
-आईजिपि काण्ड झन रहस्यमय
-चुनावको अन्यौलता, विरोधमा जनता सडकमा
यस्ता समाचारहरुले सपनामा मैले देखेको देशका निम्ति नेताहरुको एकता, निस्वार्थ सकंल्प​, र बलिदानी सोच फेरी धुमिल बनाउदै लग्यो
अनि तातो चिया पिउँदै एकाबिहानै कोर्न विवश भए –
नाकाबन्दी र भिडन्तहरु छचल्किदै जादाँ,
कहिले तराईमा मान्छे मार्छन्
कहिले संसदमा हगांमा रच्छन्
कहिले आईजिपि माथि धावा बोल्छन्
कहिले बौलाहा कुकुर जस्तो महाअभियोगको बबन्डर मच्चाउँछन्
हे, मेरो देश कहिले मुक्ति पाउँछौँ ? कहिले शान्तिले विकासको बाटोमा फड्को मार्छौ ? कहिले विश्वका लागि उदाहरणीय बन्छौ ?
- धिरज चौधरी

Published in : https://www.fonijkorea.net/%E0%A4%A6%E0%A5%81%E0%A4%B7%E0%A5%8D%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%AA%E0%A5%8D%E0%A4%A8%E0%A4%AE%E0%A4%BE-%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%A5%E0%A4%BE

0 comments:

Post a Comment