पुरुष बन्ध्याकरण
‘उहाँ नै हो- अकुंर भट्ट। तर, उहाँलाई अहिले भेट्न सक्नुहुन्न। सबै बिरामीहरुको अहिले स्वेच्छिक खेल्ने समय हो,’ मानसिक उपचार गृहका सुरक्षा अधिकारीले जानकारी गराए।
मैले परैबाट अकुंरलगायत सबै मानसिक रोगीहरुको क्रियाकलाप नियाल्दै गएँ। कोही दौडिरहेका थिए। कोही दिउँसै आकाशमा तारा गन्दै थिए। भुइँका पातहरु बटुलेर कोही गन्दै थाक लाउँदै थिए। भित्ताको सिरानमा राखिएको टिभी हेर्दै कोही हाँसिरहेका थिए।
अलि पर अकुंर र केही रोगीहरुको एउटा झुण्ड देखेँ। उक्त झुण्डलाई देख्दा लाग्थ्यो, अकुंरले उनीहरु सबैलाई केही भन्दैछन्। उनीहरुले चाल नपाउने तालले उनीहरुको छेऊतिर गएँ। अलि नजिकबाट हेर्दा थाहा भयो ऊ त भाषण दिइरहेका रहेछन्।
‘पुरुष आयोग चाहिन्छ। पुरुषकर्मी जिन्दावाद, पुरुष हकहित सुनिश्चित गर। साथी हो हाम्रो माग राष्ट्रपतिकहाँ पुर्याउनै पर्छ। यसपालिको आन्दोलन सशक्त पार्नैपर्छ। पुरुषकर्मी जिन्दावाद …।’
‘पुरुष आयोग’… ‘पुरुषकर्मी’ शब्द सुनेर म अचम्मित भइरहेको थिएँ। यतिकैमा मानसिक उपचार गृहका प्रमुख डा. सुमेश त्रिपाठी आइपुग्नुभयो र अकुंरको डिप्रेसिभ डिसअर्डरको बारेमा औंल्याउँदै भन्नुभयो, ‘काफिका जी, अचम्म नपर्नुहोला। अंकुर यस उपचार गृहमा आउँदादेखि नै पुरुष आयोग र पुरुषकर्मी भन्दै बर्बराइरहनु भएको छ।’
अकुंरको बारे अझ धेरै बुझ्ने कौतुहल पलायो। खासमा डिप्रेसिभ डिसअर्डर विषय अन्तर्गत मैले एउटा केश स्टडी तयार पार्नु थियो। सो केश स्टडिका लागि हाम्रो प्रोजेक्टले अकुंरलाई अध्ययन सामग्रीको रुपमा छानेको थियो। यसैको निम्ति भैरवनाथ अस्पताल अन्तर्गत रहेको मानसिक उपचार गृहमा म अकुंरलाई भेट्न गएको थिएँ।
‘अकुंरको पहिलेको जिन्दगीको बारे त त्यति मलाई थाहा छैन। तर गाइँगुइँ सुनेअनुसार अदालतको फैसलापश्चात उहाँ यो हालतमा पुग्नुभयो रे। अब तपाईं आफैँ स्टडी गर्न लाग्नु भा’छ, उहाँको बारे आफैँ सबैकुरा राम्ररी अध्ययन गर्नुहोला। यो फाइल लिनुहोस्। यसमा अकुंरको डिटेल्सहरु छ’ भन्दै डा. सुमेशजीले अकुंरको फाइल मलाई थमाउनुभयो। एक सातापछि प्रत्यक्ष रुपमा अकुंरसँगै कुराकानी गर्ने योजना बनाएर म त्यहाँबाट अकुंरको फाइल साथमा लिएर आफ्नो डेरा लागेँ।
साँझैबाट उसको फाइल अध्ययनमा जुटे। मध्यम वर्गीय परिवारमा हुर्केको अकुंर मेकानिकल इन्जिनियर रहेछन्। फाइलबाट उसको परिवारको ठेगाना भेटेँ। बेलीबिस्तारमा बुझ्नलाई भोलिपल्ट उसको घरमा नै गएँ। घरमा उसको बहिनीलाई भेटेँ। अकुंरको फाइल नै लिएर गएकोले उसको बहिनीसँग कुराकानी गर्न सजिलो भयो।
अकुंरको बहिनीको कुरा सुनिसकेपछि समग्रमा अकुंरको व्यथा उडिरहेको भगेंराको पखेटा एक्कासि काटिएर भुइँमा खस्दाको पीडाजस्तै थियो। बहिनीको धाराप्रवाह वियोगान्त शब्द सुन्दा, अकुंर डिप्रेसिभ डिसअर्डरको शिकार हुनुको कारण यस्तो रहेछ।
अकुंरले अध्ययनपछि बहुराष्ट्रिय कम्पनीमा जागिर पाएका रहेछन्। राम्रो जागिर भएपछि आरधनासँग बिहे गरे। आरधना त्यतिबेला भर्खर बीए दोस्रो वर्षमा अध्ययनरत थिइन्। दुबै खुसी थिए। ओस्कार जन्मेपछि काठमाडौंको डेरा उनीहरुलाई साँघुरो भयो। दिनहुँ आरधनाको दबाब र घरबेटीको कचकचले ऋण लिएर भए पनि काठमाडौंमा घर किन्ने मनस्थिति बनायो। र अन्त्यमा मासिक किस्ता तिर्नेगरी पेप्सीकोलामा उनीहरुले घर किने।
काठमाडौंमै घर भएपछि परिवारैलाई राहत भयो। शानका साथ सबै परिवार आफ्नै घरमा बस्न थाले। अंकुरको मिहेनतले गर्दा अफिसमा उसको बढुवा पनि भयो। ऊ अब अन्तर्राष्ट्रिय मोटर्स कम्पनीको नेपाल डाइरेक्टर पनि भइसकेको थियो।
अर्कातिर आरधनाले पनि स्नातक पास गरी। अकुंरले आफ्नी श्रीमतीको करियर अगाडि बढाउन भरपुर सहयोग गर्दै आइरहेको थियो। त्यही सहयोगका कारण महिला कोटामा अधिकृत तहको लोकसेवामा नाम पनि निस्कियो।
दुबै सक्षम थिए। बौद्धिक तहमा पनि र आर्थिक तहमा पनि। तर, व्यस्तताले उनीहरुको जिन्दगीमा तुवाँलो छाउन थाल्यो। अकुंर अफिसको दौडधुपमा महिनौं विदेशमै हुन्थ्यो। आरधना पनि सरकारी कामकाजले उपत्यका बाहिरै हुन्थिन्। दुबैको व्यस्तताको शिकार बिचरा ओस्कारले व्यहोर्नुपर्यो।
६ वर्षे बालक ओस्कारलाई रेखदेख गर्ने गतिलो व्यक्ति घरमा कोही भएन। एक दिन स्कुलबाट फर्किने क्रममा ऊ अलिअलि बर्खाको पानीले भिजेछ। जसकारण ओस्कार बिरामी पर्यो। सामान्य ज्वरो होला भनेर उसको हजुरमुमाले मेडिकलमा देखाएर औषधि दिइन्। तर, औषधिले बीसको उन्नाइस् पनि गरेन। छोरो बिरामी भएपछि अकुंर विदेशको काम थाती राखेर नेपाल फर्कियो। आरधना पनि अफिसमा बिदा मिलाएर काठमाडौंमा फर्किन्। दुबैले ओस्कारलाई अस्पताल लगेँ। तर, ढिलो भइसकेको रहेछ। ओस्कारलाई निमोनियाले गलाइसकेको रहेछ। चेस्टमा सिभियर इन्फेक्शनका कारण उसलाई भेन्टिलेटरमा राख्नुपर्ने भयो। डाक्टरको अथक प्रयासले पनि ओस्कार निमोनियाँसग जुध्न सकेन। र, अस्पतालमा एक्काइस दिनपछि ओस्कारले अन्तिम स्वास लियो।
छोरोको मृत्युपछि दुबै जना केही महिना सोकमा डुबे। त्यसपछि उनीहरु सामान्य जीवनमा फर्किने प्रयास गर्न थाले। सामान्य जीवनमा फर्के तापनि छोरोको मृत्युसँगै दुबैको सम्बन्धमा चिसोपना पस्यो। विस्तारै आरोप प्रत्यारोपका क्रम चल्न थाल्यो। छरछिमेकले पनि ओस्कारको अकालमै मृत्यु आमाबाउकै व्यस्तता र लापरबाहीले गर्दा भएको भन्न थाले।
यता घरमा दुबैले एक-अर्कालाई गाल लाउन थाले। श्रीमान्-श्रीमतीमा चर्काचर्की पर्न थाल्यो। दिनहुँ भनाभन नै हुन थाल्यो। किचलो सँधैं लम्बिँदै गयो। घरका अन्य मान्छे आजित भइसकेका थिए। ओस्कारको पीडा भुलाउन उनीहरु दुबैलाई अर्को सन्तान जन्माउने बाटो पहिल्याउने सुझाव दिए। तर, अर्को सन्तानको कुरा आएपछि झन् समस्याको जरो तलतल भासिँदै गयो। अकुंर स्वयंले स्थायी बन्ध्याकरण गरेको कुरो बिचरा घरका अन्यलाई थाहै थिएन। त्यही भएर अर्को सन्तान जन्माउने कुरो त सोच्नसम्म गाह्रो थियो। आरधनाकै जिद्दीमा एउटामात्रै सन्तान जन्माउने योजना बनाएका रहेछन् दुबैले। ओस्कारको जन्म भएपछि अकुंरले भ्यासेक्टोमी गरेका रहेछन्।
जस्तो परिस्थितिमा पनि सँगै बाँच्ने कसमका स्पातहरु बन्ध्याकरणको तुषारोले भिजिसकेछ। आफ्ना साझा समस्या सुल्झाउन दुबैले डेग चालेनन्। ओस्कारको मृत्युबाट निस्केको कलहको धुवाँ बढेर बन्ध्याकरणको तुषसम्म आइपुग्दा ज्वालाको रुप लिइसकेको थियो।
दुबैको आ-आफ्नो पेशामा समेत मलिनता देखा पर्न थाल्यो। गृर्हस्थी कलहले दुबैको करियरमा असर गररिरहेको थियो। पारिवारिक झगडा अफिसका सहकर्मीहरुलाई पनि थाहा भयो। एकातिर अकुंरका हितैषी साथीहरु बन्ध्याकरण फुकाउनेदेखि लिएर कुनै अनाथ बालबालिका अपनाउने सल्लाह दिइरहेका थिए। अर्कातिर आरधनाका कार्यालयका सहकर्मीहरु टेस्ट ट्युव प्रविधिबाट बच्चा जन्माउनेदेखि डिभोर्स गर्नसम्म उचालिरहेका थिए।
अकुंरले बन्ध्याकरण फुकाउने बाटो रोजेको पनि हो। तर, डाक्टरको परामर्श अनुसार बन्ध्याकरण गरेको निक्कै समय भएपछि बन्ध्याकरण फुकाउन मुस्किल रहेछ। टेस्ट ट्युव प्रविधिका लागि अर्काको वीर्य चाहिने हुँदा ऊ भित्रभित्रै नामर्दपनको हिनताबोधबाट पनि गुज्रिरहेको थियो। कुनै बाटो तय गर्न नसक्दा उसको वैवाहिक जीवन धरासायी भयो।
अन्नतः एक दिन सहकर्मीहरुको उक्साहटमा आरधनाले नै डिभोर्सको बाटो रोजिन्। अकुंरले डिभोर्सबारे सोच्न पनि सकेको थिएन। समस्या भए तापनि ऊ डिभोर्सको पक्षमा थिएन। उसले कदापि आरधनाको कुरा मानेन। तर, विवाद यतिसम्म चर्कियो कि एकदिन भनाभन हुँदा रिसको अग्निमा अकुंरले आरधानालाई हात नै हाल्यो। यति भएपछि बिग्रिरहेको सम्बन्ध सुधार्ने ढोका सँधैंका लागि बन्द भयो। डिभोर्स पेपरमा हस्ताक्षर गर्न अकुंरले नमानेपछि अन्तिममा आरधनाले अदालतको साहयता लिइन्।
अदालतले आरधनाको पक्षमा निर्णय सुनायो। विवश अकुंर डिभोर्स कागजमा हस्ताक्षर गर्न बाध्य भयो। हुँदाहुँदा आफूले आर्जन गरेको सम्पत्तिको आधा अंश पनि आरधनालाई सुम्पिनु पर्ने भयो।
ओस्कारको मृत्युको दुई वर्ष अवधिमा अकुंरले सबैथोक गुमायो। श्रीमती, सम्पत्ति, हुँदाहुँदै करियर पनि डामाडोल भयो। स्थायी बन्ध्याकरणका कारण बाझोपनको बिल्ला पनि लाउनुपर्यो। जसकारण आरधनासँग सम्बन्ध विच्छेदपश्चात अर्को बिहे गर्ने बाटो पनि बन्द थियो उसको लागि।
अकुंरको लागि जीवन न यताको न उताको भयो। केही सोच्न नसकेपछि एक दिन दिउँसो आत्महत्या गर्ने प्रयास गर्दा ऊ बिफल भयो। बत्तीको बिल काट्ने विधुत प्राधिकरणको कर्मचारीले झ्यालबाट झुन्डिन लागेको देखेपछि छेउछाउका मानिसहरुलाई गुहारेर बचाउन सफल भएका थिए।
यसरी अकुंर छोरोको मृत्युदेखि आफ्नै आत्महत्यासम्म आईपुग्दा ऊ पूर्णरुपमा डिप्रेसिभ डिसअर्डरको शिकार भइसकेको रहेछ।
अकुंरको बहिनीबाट धेरै कुरा बुझिसकेपछि मलाई आरधनासँग भेट्न मन लाग्यो। सोही क्रममा म आरधनाको माइतसमेत गएँ। तर, त्यहाँ पुगेपछि थाहा पाए आरधना जागिर छाडेर अष्ट्रेलियाको पिआर भएको केटासँग बिहे गरेर उतै बस्न थालेकी रहिछे।
डिप्रेसिभ डिसअर्डर सम्बन्धि केश स्टडीका लागि पर्याप्त जानकारी बटुलेको एक सातापछि म अकुंरसँगै प्रत्यक्ष कुराकानी गर्न मानसिक उपचार गृहमा पुनः गएँ। त्यहाँ पुग्दा देखेँ ऊ आफ्नै कक्षमा टालाटुलीसँग ‘पुरुष आयोग चाहिन्छ चाहिन्छ, पुरुषकर्मी जिन्दावाद’ भन्दै उही लयमा एक्लै बरबराइरहेको थियो।
-धिरज चौधरी
प्रकाशित मिति: शनिबार, भाद्र ११, २०७३ १०:५५:११
http://setopati.com/sahityapati/52199/
0 comments:
Post a Comment