नक्कली बैंकर्स
सधैँझैँ अफिसबाट फर्केर चिया पिउँदै टिभी खोलेँ। टिभीमा अघिल्लो दिन सरकारले प्रस्तुत गरेको बजेट सम्बन्धि विज्ञहरुको टिप्पणी र प्रतिक्रिया हेर्दै थिएँ। एक जना बैंकर्सको यस्तो प्रतिक्रिया आइरहेको थियो, ‘यो बजेट नेपालको दिगो विकासका लागि एउटा सुनौलो बिहानी हो। बजेटले लगानीको वातावरण बनाउने छ। बृद्धहरुलाई केही मल्हम लगाएको छ। बैंकर्सहरुको तर्फबाट म यो बजेटलाई संक्रमणकालको बेला महत्वपूर्ण एन्टिवायोटिक मान्दछु, जसले आर्थिक क्षेत्र धरासायी पार्ने जीवाणुहरु मार्नेछ।’
प्रतिक्रिया दिने बैंकर्सको अनुहार चिनेचिने जस्तो लाग्यो। यसो टिभीको मुन्तिर नाम हेरेँ। नाम त ठ्याक्कै त्यही थियो- जीवराम शर्मा।
ओहो! यो मान्छे यति ठूलो कहिले भएछ। बजेट सम्बन्धि आफ्नो अभिव्यक्ति टिभीमा प्रसारण हुने हैसियत बनाइसकेछ। मेरो दिमाग एकछिन रनभुल्लमा पर्यो। असारको गर्मीले गर्दा दिमाग तातिरहेको थियो। त्यसमाथि जीवरामलाई कयौँ वर्षपछि आज टिभीमा देख्दा मस्तिष्कमा आगो नै दन्कियो। रन्थनिँदै पुरानो कुराहरु सम्झिन थालेँ।
चौध वर्षअगाडि जीवरामलाई मैले पहिलो पटक मीनभवन क्याम्पसमा भेटेको थिएँ। ती दिनहरुमा म एकदमै दु:खमा थिए। गोजीमा सुक्काकौडी नहुने। गाउँबाट आइकम पास गरेर बल्लबल्ल घरमा फकाएर बी कम पढ्न काठमाडौं आएको थिएँ। बिहान पढ्न क्याम्पस जान्थेँ, दिउँसो खर्च जुटाउन खिचापोखरीको एउटा फेन्सी पसलमा काम गर्थेँ। दोस्रो वर्षको परीक्षा नजिकिसकेको थियो।
एक दिन क्याम्पस छेउकै स्टेशनरीमा सबै विषयको नोटहरु किन्ने क्रममा जीवरामसँग मेरो परिचय भयो। ऊ काठमाडौंमै घर भएको धनी बाउको छोरो रहेछ। बिहानको कक्षा लिन ऊ पनि प्राय: आउँथ्यो। त्यही भएर ऊ सँगको मेरो घनिष्ठता बढ्दै गएर हामी मिल्ने साथी भएका थियौँ।
दोस्रो वर्षको परीक्षा दुबैले सँगै दियौँ। केही महिनापछि रिजल्ट पनि आयो। म पास भएको थिएँ भने उसलाई तीन वटा विषयमा ब्याक लाग्यो। लगत्तै तेस्रो वर्षको परीक्षा पनि मैले सजिलै पास गरेँ। तर, जीवरामलाई फेरl एउटा विषयले धोका दिएको थियो। जेनतेन उसले प्रथम वर्षको चाहिँ सबै विषय कटायो। तर दोस्रो र तेस्रो वर्षको ब्याक पेपरहरुमा थुप्रै प्रयास गर्दा पनि ऊ झुन्डिरहेको थियो।
मेरो ट्रान्सक्रिप्ट हात परेपछि म शंकरदेवमा डिग्रीमा भर्ना भएँ। जीवराम आफ्नो ड्याडको सोर्सफोर्समा आई कमकै सर्टिफिकेटले एउटा निजी वाणिज्य बैंकमा फ्रन्ट डेस्क क्यासियरको जागिर खान थाल्यो।
एक दिन उसले शकंरदेवमै आएर एउटा जरुरी कुरा गर्नु छ भनेर मलाई उसको बाइकको पछाडि बसाएर थापाथलीमा कफी खुवाउन लगेको थियो। कफीको सुरुप लिदैँ उसले भन्यो, ‘मलाई तिम्रो एउटा सहयोग चाहियो।’
‘कस्तो सहयोग? भन न, गर्न सक्ने त म गरिहाल्छु नि,’ मैले भनेँ।
‘पक्का गर्छौ?’
‘आर्थिक सहयोगबाहेक सबै गर्न सक्छु। कुरा के हो भन पहिला’ भनेर उसलाई आफ्नो कुरा खुलेर भन्न लगाएँ।
उसको कुरा सुनेर म एकछिन छक्क परेँ।
‘अहँ, म गर्न सक्दिनँ। डर लाग्छ। तिमी अरुलाई नै खोज’ भन्दै म पन्छिन खोजेको थिएँ।
तर नौ दिनपछि पुनः घरबेटीको लेन्डलाइनमा फोन गरेर उही कुरा दोहोर्याउँदा र एउटा विषयको पन्ध्र हजार रुपैयाँ दिन्छु भनेर प्रलोभन देखाएपछि म केही सोच्न बाध्य भएको थिएँ।
खासमा उसले मलाई उसको बी कमको ब्याक पेपरहरुको परीक्षा दिन अनुरोध गरेको थियो। सुरुमा त उसको कुरा मैले मानिनँ। तर जब उसले तिम्रै फोटो, टियुकै स्टिकर, टियुकै स्टाम्प लगाएको प्रवेश पत्र र परीक्षा हलमा स्ववियुकै दाइहरु हुन्छन् भनेर आश्वासन दियो, तबमात्रै उसको कुरा मानेको थिएँ। सँगसँगै आर्थिक समस्याले झेलिरहेको बेला पन्ध्र हजारको दरले तीनवटा विषयको पैँतालीस हजार आउने हुँदा मेरो आर्थिक बोझ पनि केही समयको लागि टर्थ्यो।
उसलाई बी कमको सर्टिफिकेट चाहिएको थियो। बाउको चिनजानले गर्दा ऊ एउटा विकास बैंकमा ब्रान्च मेनेजर हुने दाउमा थियो। बैंकमा केही समय काम गरेर उसले अनुभव पनि बटुलिसकेको थियो। अगाडि बढ्न उसलाई केवल सर्टिफिकेटले अड्चन दिइरहेको थियो।
बी कम दोस्रो वर्षको उसको ब्याक पेपरहरुको परीक्षा उसैको नाममा गएर दिनलाई सहमत हुनुभन्दा अगाडि उसलाई पहिला प्रवेश पत्र बन्ने सबै प्रक्रिया सुनाउन लगाएको थिएँ।
उसको भनाइ अनुसार प्रवेश पत्र बनाउने एउटा सञ्जाल नै रहेछ। उक्त सञ्जालको मुख्य काम टियुको लोगो भएको स्टिकर बेच्ने, स्टाम्प लाउने र परीक्षा हलमा गएर अर्काको नाममा परीक्षा दिनसक्ने व्यक्तिको खोजी गर्नु रहेछ। जीवरामले परीक्षा दिने व्यक्ति त म आफैँलाई रोजेको थियो। त्यही भएर उसलाई अर्काको नाममा गएर परीक्षा दिन सक्ने व्यक्ति खोजिरहनु परेन।
डराई डराई म उसको परीक्षाको तयारीमा जुटेको थिएँ। परीक्षाको केही दिन अगाडि उसले मेरो पासपोर्ट साइजको फोटो मागेर लगेको थियो। परीक्षा आउनुभन्दा एक दिनअगाडि उसले मेरो हातमा मेरो फोटो तर उसको नाम भएको प्रवेश पत्र ल्याएर दियो। प्रवेश पत्रमा मेरै फोटो भएपछि म ढुक्क भएको थिएँ।
प्रवेश पत्र लिएपछि मेरो मनमा अनेक प्रश्न उब्जिरहेको थियो। मेरो फोटोमा टियुकै स्टिकर थियो, स्ट्याम्प पनि लगाएकै थियो। नाम मात्रै जीवरामको थियो। कसरी सम्भव भयो होला अर्काको नाममा मेरो फोटो टाँसेर प्रवेश पत्र बनाउन? पक्कै बल्खु कै कुनै न कुनै कर्मचारीदेखि लिएर ठूलै सञ्जाल सामेल भएको हुनुपर्दछ भन्ने लाग्यो।
यी यावत कुराहरु दिमागमा धेरै नखेलाई जीवरामको बी कम दोस्रो वर्षको परीक्षा निर्धक्क परीक्षा हलमा गएर सरासर दिएको थिएँ। लगतै उही प्रक्रियामा उसको तेस्रो वर्षको एउटा ब्याक पेपरको परीक्षा पनि गएर दिएँ। केही समयपछि रिजल्ट आउँदा ऊ पास पनि भयो।
खुसीले ऊ दङ्ग परेको थियो। आफूले परीक्षा नै नदिई उसको हातमा सक्कली सर्टिफिकेट पर्नेवाला थियो। यस्तो सर्टिफिकेट जुन भविष्यमा जस्तोसुकै अनुसन्धानबाट पनि नक्कली प्रमाणित हुन सक्दैन थियो। यही सर्टिफिकेटको धरातलमा रहेर उसले बैंकिंङ संसारमा पहिलो सफलता हात पनि पार्यो - एउटा विकास बैंकको म्यानेजर भएर। बैंकको म्यानेजर भएपश्चात उसले एक दिन मलाई भेटेर पार्टी पनि दियो। त्यसपछि उसको र मेरो सम्पर्क एकदमै पातलिँदै गयो। आज चौध-पन्ध्र वर्षपछि एक्कासि उसलाई एउटा ठूलै बैंकर्सको हैसियतमा टिभीमा देखदा म छक्क परेँ।
‘कीर्ते सक्कली सर्टिफिकेट’ को आडमा जीवराम नेपालकै एक परिचित बैंकर्स भइसकेको रहेछ। पश्चताप र इर्श्याको सुनामीले मेरो मनमा अनेक छालहरु ल्याइरहेको थियो। म अनेक कुरा सोच्न बाध्य भइरहेको थिएँ। यथार्थमा जीवराम सक्कली सर्टिफिकेटको पोर्टफोलियोमा एक नक्कली बैंकर्स थियो। यो कुरा केवल उसलाई र मलाई मात्रै थाहा छ। उसको नाममा गएर उसको परीक्षा दिँदा एउटा कानुनी अपराध त मैले पनि गरेको थिएँ। तर यस्तो अपराध गराउने परिस्थिति कसले निम्त्यायो भन्ने प्रश्न अहम छ। काठमाडौंको महंगी थेग्न नसकेर कस्ता-कस्ता ठूला अपराध गरेका मान्छेहरु खुलेआम घुम्छन्। मैले त केवल एक श्वेत अपराध गरेको थिएँ, त्यो पनि कसैको उद्दार गर्नको निम्ति।
हाम्रो समाजमा थुप्रै जीवरामहरु छन् जो कार्यगत हिसाबमा सफल छन् तर तीन घण्टे परीक्षा प्रणालीमा सधैँ असफल भइरहन्छन्। यस्ता जीवरामहरुलाई अगाडि बढ्न केवल कागजी शैक्षिक सर्टिफिकेटले मात्रै ठूलो पर्खाल खडा गरिदिएको हुन्छ। त्यो पर्खाल भत्काउन कोहीले भारतबाट सर्टिफिकेट किनेर ल्याउँछन् र भविष्यमा नक्कली सावित हुने खतरामा पर्छन्। अलिक बाठो भनाउँदा जीवराम जस्ताले चाहिँ स्वदेशमै नक्कली प्रवेश पत्र बनाएर अरुलाई परीक्षा दिन लगाउँछन् र सधैँभरिको लागि सक्कली सर्टिफिकेट हात पार्छन्।
आज जीवराम बैंकिङ क्षेत्रको गन्यमान्य हस्ती कहलिन्छ। उसको परीक्षा दिएको म लुरे चाहिँ अझै पनि उचित जागिरको खोजीमा भौंतारिरहेको छु। उसको परीक्षा दिएर उसलाई सफल बनाउँदा कहिलेकाहीँ लाग्छ, मैले आफ्ना खुट्टामा आफैँले बन्चरो प्रहार गरेँ। किनभने म जस्ता यहाँ थुप्रै सक्कल शैक्षिक प्रमाणपत्रधारीहरु अझै पनि पढाइ अनुसारको रोजगार खोज्ने भूमरीमै रुमलिरहेका छन्। तर जीवरामजस्ता थुप्रै फर्जी व्यक्तिहरु उच्च अहोदामा पुगिसकेका छन्।
नक्कली डाक्टरहरु धमाधम पक्राउ परिरहेको अहिलेको परिवेशमा जीवरामजस्ता सक्कली सर्टिफिकेटको फर्जी विज्ञहरु पक्राउ पर्न त कठीन नै होला। तर, विध्यमान शैक्षिक रुढी प्रणालीलाई परिमार्जन गर्ने र व्यक्तिको शैक्षिक योज्ञताको मूल्याङ्कन गर्ने विधिलाई वैज्ञानिकीकरण गर्ने हो भने पक्कै पनि आगमी दिनहरुमा डुप्लिकेट प्रवेश पत्र बनाएर अरुलाई परीक्षा दिन लगाउने जीवरामजस्ता व्यक्तिहरु मौलाउनबाट बञ्चित हुन्थे।
सेतोपाटिमा प्रकाशित मिति: शनिबार, साउन १, २०७३ १३:०७:५५
0 comments:
Post a Comment