कथा
अन्तरजातिय बुहारी
वाक चतुर्याईमा म अलिक लुरे नै थिए । कम बोल्ने
स्वभावले गर्दा काम बाहेकका विषयमा त्यति गफिन सक्दिन थिए । तर अविना सगँ कुन रसायनले
काम गर्यो त्यसको भेउ नै पाईन । कुराहरु यति
धेरै फुर्थ्यो, मानौँ कुराहरुको मूल फुटेर गफहरुको बाढीमा एक अर्कालाई
सुनेर बगिरहन्थ्यौँ । ऊ भन्थी- तपाईको कुराहरुबाट म मोहित हुन्छु । सुनिरहुँ लाग्छ
तपाईका शब्दहरु । काम सगँसगैँ समयहरु उनीसगँ प्रेमिल बन्दै गयो र हामी एक अर्काको लागि
अभिन्न पात्र बनिसकेका थियौँ ।
अविना र मेरो महत्वपूर्ण प्रयासबाट लम्पनटारमा
सन्तुलित आहार सम्बन्धि सचेतनाले राम्रै प्रभाव पारिसकेको थियो । वर्ष दिनको कार्य
प्रगति विवरणबाट काठमाण्डौँ स्थित अफिसमा पनि सबै सन्तुष्ट थिए । त्यहिभएर प्रोजेक्ट
थप एक वर्ष लम्बिएला भन्ने आशामा थियौँ । तर हाम्रो आशा विपरित फन्डको अभावका कारण
प्रोजेक्ट लम्विन सकेन । प्रोजेक्ट नभएपछि म काठमाण्डौँ फर्किनु पर्ने भयो । काठमाण्डौँ फर्किनु पर्ने कुराले सबै भन्दा ठुलो
कम्पन अविनाको मनमा पर्यो । वर्ष दिनमा हामी दुवै एकअर्काको आड, भरोसा भइसकेकाले उनलाई सम्झाउन मलाई हम्मे हम्मे भयो ।
काठमाण्डौँ फर्केपछि अविना सगँ नियमित
असिमित प्रेमलाप भईरहन्थ्यो ।
फोनमा ऊ भन्थी- "तपाईको उपस्थितिले मेरो जीवनमा
केही नहुदाँ पनि सबै थोक छ । तपाईको साथले म जन्मिनुको सार्थकता बोध हुन्छ ।"
उनको कुराले म छट्पटिन्थे । तत्कालै लम्पनटार गइहालुँ जस्तो लाग्थ्यो । गएर
सधैभरिको लागि उनलाई आफ्नो बनाउँ जस्तो लाग्थ्यो ।
टाढा रहेता पनि दैनिक गफले हाम्रो सम्बन्ध झन्-झन्
फस्टाउदै थियो । म उनलाई बिहेको प्रस्ताव समेत राख्न भ्याईसकेको थिए । ऊ प्रफुल्ल हुन्थी
। जिस्किदै हुन्छ भन्थी र भिडियो च्याटमै हामी बिहे गर्न पनि भ्याउथ्यौँ । निर्दोष
मनले एकअर्कालाई यति विघ्न माया गर्दथ्यौँ की लाग्थ्यो हाम्रो सम्बन्धमा कुनै सकस छैन
।
तर एकदिन घरमा हजुरमुमा बित्नु हुदाँ काजक्रियाका
क्रममा भाउजु अलग्गै बस्नु परेको देख्दा अविना सगँ मेरो सम्बन्धमा जातिय विभेदको ठुलै
खाडल रहेछ भन्ने भेउ बल्ल पाए ।
भाउजु बस्नेतकी छोरी हुनुन्थ्यो । हामी उपाध्यय
बाहुन । दाई र भाउजुको बिहेको बेला दुई परिवारहरुलाई रिझाउन दाईले धेरै नै कसरत गर्नु
भएको कुरा सम्झेँ । बस्नेतकी छोरी बिहे गर्न त दाईलाई त्यसबेला महाभारत नै साम्य पार्नु
परेको थियो । मैले झन मगर्नी बिहे गर्छु भन्दा कत्रो युद्द साम्य पार्नु पर्ने होला
। यतिका दिन सम्म समाजमा बेला-बेला उठिरहने जातिय बहशहरुमा मलाई कुनै चासो थिएन । तर
निकट भविष्यमा अविना सगँ जीवन व्यतित गर्न मैले परिवारमा एउटा ठुलै जातिय बिद्रोह गर्नु
पर्ने दिन देखिरहेको थिए ।
हजुरमुमाको काजक्रिया पश्चात बोझिलो मन लिएर भए
पनि नियमित अफिसमा व्यस्त हुन थाले । साँझ घण्टौँ अविना सगँ गफमा व्यस्त हुन्थे ।
कहिलेकाहीँ अविनाबाट अलग हुने सोच पनि आउँथ्यो । दाई जस्तो विद्रोह गर्ने आँट म मा थिएन । फेरी घरले
सधैँ दाई भन्दा बढी आशा म बाट राखेको हुन्थ्यो । मगर्नी बिहे गर्दा घर-परिवारको आशामा
नराम्रो तुषारापात पर्न जान्थ्यो ।
अन्तरजातिय विवाहका कारण एउटै परिवारमा भाउजुले व्यहोर्दै आउनु भएको विभेदपूर्ण व्यवहारहरु सम्झेँ
। घरमा कोही बित्नु हुदाँ मात्रै होइन, समय-समयमा घरमा लगाईने पूजाआजामा पनि भाउजु बस्न पाउनुहुन्नथ्यो । धार्मिक कार्यक्रमहरुमा
भाउजुलाई एक किसिमको अघोषित बर्जित नै लगाईएको थियो ।
समाजमा उपल्लो वर्ग कहलिएको क्षेत्री-बाहुन बिचमा
बिहेबारी हुदाँ त एक किसिमको छुवाछुत अझैँ गाडिएकै छ । तल्लो वर्ग कहलिएको दलित समुदायहरु
सगँ समाजले अझ कुन हद सम्मको छुवाछुत लादेको होलान्। यस्तै कुसोचहरुमा अविनामाथि आईपर्ने
विभेद सम्झेँ । परिवारको मन्जुरीमै ऊ सगँ बिहे भयो भने पनि धार्मिक क्रियाकलाप लगायत
अन्य थुप्रै परम्पराहरुमा उनले एक किसिमको भाउजु जस्तै आफ्नै नातेदारहरुबाट विभेदकारी
नियति अवश्य भोग्नु पर्ने देखेँ ।
समयको गतिमा हाम्रो प्रेम दुई वर्ष पुग्न लागेको थियो । दिनहरु बित्दै जादाँ उनले
पनि काठमाण्डौँमा एउटा राम्रो खाध्य कम्पनिमा जागिर पाइसकेकी थिई । उनी काठमाण्डौँ आएपछि मन मात्रै होइन हामी तनले
पनि निकै नजिक थियौँ ।
गफ सगँसगैँ भेटहरुको रफतार बढ्दै थियो । काठमाण्डौँका
लगभग सबै डेटिङ स्पटहरु चाहरिसकेका थियौँ । उनको आगमनबाट म सन्तुष्ट
थिए । तिनले भरपुर माया गर्थी । स्वार्थ रहित ।
धमिलो रहित । उद्देश्य रहित । संवेदनाले भरिपूर्ण माया छताछुल्ल पार्थी ।
मलाई भने जातभातको काडाँले घोचिरहन्थ्यो । कहिलेकाहीँ यति गहिरो बिझाउँथ्यो
की अविनालाई भविष्यमा आईपर्ने मानशिक तनावबाट मुक्त राख्न बेलैमा प्रेमको साङ्लो चुडाईदिउँ जस्तो लाग्थ्यो । तर सक्दिन थिए । उनलाई देख्ने
बित्तिकै, भेट्ने बित्तिकै कायल पर्थे
। सबै खीलहरु फूल झैँ नरम लाग्न थाल्थ्यो । त्यहिभएर मैले कहिल्यै जातभातको तुषलाई
ऊ समक्ष खोल्ने चेष्टा गरिन
। सबै समस्याहरुलाई समयको घेराबन्दीमा थन्काइदिए । र निसंकोच अविनाको प्रेममा लिन हुन
थाले ।
एकसाँझ घरमा मेरो बिहेको
कुरा चल्ने क्रममा साहस बटुलेर अविनाको कुरा अगाडी सारे ।
पहिला फोटो देखाएँ ।
ममीले "के थरी " भनेर सोध्नु भयो ।
अक्मकिदै "थापा……मगर" भने ।
त्यति भन्न नपाउँदै ममी र डेडी रिसले चुर हुनुभयो
। दुवैजना उठेर आफ्नो कोठा जानु भयो । दाई-भाउजु केहि बोल्नु
भएन। त्यसपछि केहि दिन मेरो बिहेको चियोचर्चो निस्केन ।
दाईले अन्तरजातिय बिहे गर्नु भएकोले ममीडेडीलाई
सम्झाउन केही सहज त थियो । तर अर्को समस्या घरको मुख्य व्यक्ति हजुरबुवालाई मनाउन पहाड
फोर्नु बराबर थियो । ८६ वर्षको वृद्ध हजुरबुवालाई भाउजुको हातको भान्सा त चल्दैन थियो, मगर्नीको हातको भान्सा त झन् अछुत हुने भईहाल्यो ।
एकदिन अफिसमा एउटा इमेल आयो । सउल नेशनल विश्वविध्यालय दक्षिण कोरियामा विध्यावारिधि अध्ययनका निम्ति छात्रवृति पाएको खबर रहेछ । धेरै अगाडी छात्रवृतिका निम्ति
उक्त विश्वविध्यालयमा आवेदन दिएको थिए । लगभग
एकवर्ष पछि छात्रवृति उल्लेख गरेको इमेलले
निकै खुशी बनायो । हतारहतार अविनालाई फोन गरेर सुनाए । घरमा पनि खबर गरे ।
छात्रवृतिको खुशी सगैँ विदेश जाने भएपछि अविना
सगँको बिहेको लागि डेडीममी पनि आफैँ राजी हुनुभयो । विदेश जाने चटारो, समयको अभाव र मुख्य कुरो अन्तरजातिय
बिहे हुने भएकाले अविना र मेरो विवाह एकदमै सामन्य रुपमा सम्पन्न भयो ।
बिहेको एकसाता पछि हामी दुवै दक्षिण कोरियाको लागि उड्यौँ । उडान भरि अनेक कुराहरु
मन्थन गर्दै बित्यो । दाई र मैले दुवैले अन्तरजातिय विवाह गरेकाले ममीडेडीको आफ्नै
जातमा धुमधामले हाम्रो बिहे गर्ने सपना त्यसै तुहिएको थियो ।
धेरै विचारहरु फुरिरहेको मेरो मनमा खुशीको तरङग
पनि महशुस गरिरहेको थिए । धन्न विदेश जाने भएपछि हाम्रो विहेले मुर्तरुप लिएको थियो
। विदेश जाने भएरै अविनाले आफ्नै परिवारमा अन्तरजातिय कलह तत्काल भोग्नु परेन । रीतितीथिहरुमा
बन्देज सहनु परेन । विदेश जाने भएरै उनले आफ्नै परिवारमा अनेक परम्परागत अछुत व्यवहारको
शिकार महशुस तुरुन्तै गर्न पाइनन् । भविष्यमा जे पर्ला पर्ला यस्तै कुराहरु सोच्दै
थिए ।
अविनाले- "के सोचमा डुब्नु भयो" भन्दा
झल्यासँ भए ।
मैले कुरा टार्दै भने -" केहि होइन, कोरियामा हाम्रो भविष्य कस्तो होला भनेर कल्पिएर भित्रभित्रै रोमान्चित भा’को ।"
कोरियाको सुखद जीवन र विध्यावारिधिको सोधमा व्यस्त
रहदा दुई वसन्त बितेको पत्तै पाईन । एकदिन घरबाट खबर आयो- हजुरबुबा सिकिस्त हुनुन्छ
। तलाई खोज्दै हुनुन्छ । सक्छस भने नेपाल तुरुन्तै आइज ।
लगभग ९० वर्षको हजुरबुबाको अनुहार अन्तिम पटक हेर्न
मेरो मन छट्पटिन थाल्यो । विदा मिलाएर अविना र म नेपाल फर्कियौँ । तर हामी आईपुग्दा
निक्कै ढिला भईसकेको रहेछ । हजुरबुबालाई दागबत्ति पनि दिईसक्नुभएको रहेछ ।
सबैजना काजक्रियाका लागि गगंबु स्थित क्रियाघरमा
हुनुन्थ्यो । त्यहाँ अविना र म पुग्दा भाउजुले हतारहतार आविनालाई आफु
बसेको अलग्गै ठाउँमा लग्नुभयो ।
म ट्वाल्ल पर्दै उही हजुरमुमा बित्दाको भाउजुले
झेल्नु परेको अछुतो व्यवाहार पुनः दोहरिदै गएको दृश्य देखिरहेको थिए ।
-धिरज चौधरी