Pages

Monday, May 16, 2016

ऊ कहिल्यै लोभिएन मेरो कौमार्यसँग


ऊ कहिल्यै लोभिएन मेरो कौमार्यसँग


आखिर म मा के कमी छ? ऊ किन मलाई स्वीकार्न असमर्थ छ? म रुपवति छु। कौमार्य छ म सँग। उसको लागि समर्पित छु। फेरिफेरि किन ऊ मुख मोड्छ? कि ऊ अभिशप्त छ रुपवतिलाई स्वीकार्न? कौमार्यलाई नअँगाल्न? कि ऊ डराउँछ सम्पूर्ण  समर्पित आस्थाहरू, भावनाहरुलाई आफूमा सजाउन? यस्तै यस्तै सोच्थें उसलाई भन्थें पनि।
दक्षिण कोरियाको सुवनमा म विगत मेरो जीवनको २२ औँ वसन्तदेखि बस्दै आएको थिएँ। सायद २३ औँ वसन्तदेखि हुन सक्छ उसलाई मैले प्रेम गरेको। हुन त मैले उसलाई सुवनमा बस्नुभन्दा पहिलेदेखि नै चिन्थें। टेक्सासमा म पूर्णरूपमा सम्झिन सक्छु उसको र मेरो पहिलो भेट। सायद उसको इमान्दारितादेखि म प्रभावित थिएँ वा टेक्सासमा अमेरिकन रिसर्च फर एन्टिडोट डेलिभरि रोबर्ट संस्थामा उसको कार्य गहनतादेखि। अथवा उसको बहुबलिष्ठ शरीर या आकर्षक व्याक्तित्वदेखि। कि उसमा भएको सतप्रतिशत पुरुषार्थदेखि। म यसै भन्न सक्दिनँ। तर पनि उसमा भएको कुनै न कुनै प्रभावकेन्द्र व आकर्षक केन्द्रदेखि अवश्य म उसमा झुमिन्थें। तर ऊ भने म देखि बिरक्तिन्थ्यो। म बाट ऊ कहिल्यै प्रेमानुभूत भएन। उसलाई मैले कहिल्यै आकर्षित गर्न सकिनँ। अहँ पटक्कै, ऊ कहिल्यै न मेरो कौमार्य शरिरदेखि  न अबोध भावनादेखि लोभियो।
एक दिन होला, त्यो अवश्य संयोग नै मान्नुपर्छ। उसको अफिस र ऊ बस्ने घरको बाटोमा मेरो कोठा पर्दथ्यो। ऊ आफ्नो अफिसबाट फर्किरहेको बेला दिउँसोदेखि बिग्रँदो मौसमका कारण घनघोर वर्षा भयो। सायद उसले ओत लाग्ने ठाउँ नपाएर हुनसक्छ साझँको साढे सात बजेतिर ऊ मेरो कोठामा आएको। वर्षा रोकिएला जस्तो थिएन। यसकारण मैले उसलाई अनुरोध गरेँ, 'डिनर खाने हो कि? डिनर तयार हुन्जेल वर्षा रोकिएला अनि जाउ।' उसले के सम्झियो त्यतिखेर। थुप्रैबेर ऊ मौन रह्यो मानौँ उ मौनयोगी हो। र धेरै बेरपछि मात्रै उसले हुन्छ भन्यो।
मेरो फ्लाट प्रकोष्ठहरुमा विभाजन थिएन। एउटा सभाहलजस्तै थियो। यसकारण बेड रुमदेखि बाथरुमसम्म त्यसैमा अँटाएको थिएँ। फ्लाटको उत्तरपट्टि मैले बैठक स्पट बनाएको थिएँ। दक्षिणमा किचेन र पश्चिममा मेरो बेड थियो। उसलाई मैले बैठक स्पटको आरामचेयरमा बसाएर डिनर तयार गर्न थालेँ। डिनर तयारी भइसक्दासम्म वर्षा रोकिने छाँट देखिएको थिएन। बाहिर वर्षाले उग्ररुप लिँदैथियो।  डिनरपश्चात मैले अप्ठ्यारो   मान्दै उसलाई पुनः दोस्रो अनुरोध गरेँ, 'वर्षा झन बढदैछ, तपाईं आज यतै बसेर भोलि सबेरै जानुहोला।' सायद उसले वातावरणको परिस्थिति बुझेर होला यसपटक झटै हुन्छ भन्यो।
उसलाई प्रेम गर्न थालेको यो सात वर्षभित्र यही एक पल हो हामीले सँगै बिताएको। सायद उमेरको चन्चलता र साझानुभवले गर्दा होला यो रात मेरो जिन्दगीको अविस्मरणीय थियो। एकान्त एक्लो र रातको समय एक स्त्रीले  आफू समीप एक बलिष्ठ पुरुषको समीप्यता पाउँदा कसको जीउको रौँ नउठ्ला र? हो, मैले भन्न खोजेको यही हो कि ममा लुप्त वैँशको उपज योनाकांक्षा पलाएको थियो त्यस रात। मैले उसलाई थुप्रैचोटी आफ्नो बनाउन खोजेँ। यौनको अस्त्र प्रयोग गरेर सधैँको लागि आफ्नो बनाउन खोजेँ। तर, अहँ उसले त्यतिधेरै समीप्यता पाउदाँ पनि ऊ भित्र कहिल्यै यौनको तिर्खा पलाएन। यसैले मलाई लाग्छ ऊ कहिल्यै लोभिएन मेरो कौमार्यसँग। ऊ के खाले मान्छे? किन उसलाई मैले रत्तिभर  आकर्षित गर्न सकिनँ? यस्तै सोच्दै म दिन काट्ने गर्थें। ऊ भने मलाई मतलब गर्दैनथ्यो। मलाई भने ऊ बेगर बाँच्न कठीन हुँदैथियो। मैले अनगिन्ती प्रेम प्रस्ताव राखेँ। जीवनसाथी बनाउन चाहेँ। तर उसले मेरो सबै प्रस्तावहरुलाई सधैं जसो खहरे खोला बगाइदिन्थ्यो।
दिन बित्दै थिए। एक साँझ अनौठो समाचार पढ्न पाएँ। जीन क्लोनिङबारे। पत्रिकामा उल्लेख भएअनुसार जापनको गिफु सहरमा जेनेटिक इन्जिनियरहरुको एक टोलीले त्यहाँस्थित विश्वविद्यालयमा मान्छेको जीन क्लोनिङ गरेर हुबहु मानिसको क्लोन गर्न सफल भन्ने उल्लेख थियो। ममा खोई कुन्नी एक अदृश्य तत्वले त्यो समाचारप्रति अधिक चासो राख्दै गयो। म विज्ञानपरको विद्यार्थी भएकोले मैले जीन क्लोनिङको शाब्दिक अर्थभन्दा बढी थाहा पाउन सकिनँ। यसकारण मेरो एउटा साथी क्रिस्टिना जो जीव विज्ञानमा विद्ध्यावारिधि गर्दैथिन् उनैलाई सबैकुरा सोधेर जीन क्लोनिङबारे थाहा पाएँ।
खोई मैले के सोचेँ। मलाई स्वयं थाहा छैन। तर मैले आर्भिको क्लोनिङ गर्ने निर्णय गरिसकेको थिएँ। मेरो प्रेम पागल हो वा मूर्खपन या स्वार्थीपन? सायद यसैको उब्जन हुनुपर्छ मेरो मस्तिष्कमा आर्भिको क्लोनिङ गर्ने सोच। ऊ मान्दैन मेरो जीवनसाथी हुन। ऊ मान्दैन मेरो प्रेमी बन्न। ऊ मान्दैन मेरो कुमारीत्व लुट्न। यदि उसको जीन क्लोनिङबाट ऊ मलाई प्राप्त हुन्छ भने किन म पछि पर्ने?
मेरो भित्री मनले स्वघोषित प्रेमी आर्भिको जीन क्लोनिङ गर्ने ठोस निर्णय लिइसकेको थियो। यसका लागि मैले अब जेनेटिक इन्जिनियरहरुसगँ सल्लाह लिनुपर्ने थियो। क्रिस्टिनाकै सहयोगमा डा. बोइलरसँग मेरो भेट भयो। डा. बोइलरले मेरो सम्पूर्ण कहानी नसुनी, आर्भिसगँको मेरो एकोहोरो प्रेमको लोरी नसुनी क्लोनिङका लागि राजी नहुने बताउनुभयो। डा. बोइलरलाई मैले परिचय भएको भोलिपल्ट साँझ करिब चार बजे आफ्नै घरमा निमन्त्रणा दिएको थिएँ।  निमन्त्रणालाई स्वीकार्दै उहाँ मेरोमा आउनुभयो। र मैले सम्पुर्ण कथा सुनाएँ। हामी करिब एक घण्टा कुराकानी गरेपश्चात् सायद उहाँले म भित्रको आर्भिझुकाव महसुस गर्नुभएर होला उहाँ बल्ल क्लोनिङका लागि राजी हुनुभयो।
आवश्यक खर्च र सामग्री जुटाएर डा. बोइलर र उनका केही सहयोगी विज्ञहरूले टेक्सासमा आर्भिको जीन क्लोनिङ प्रक्रिया सुभारम्भ गरे। यता म भने अब जीन कपी आर्भिको समीप्यताको कल्पना गर्न थालेँ। ऊ सँगको जीवन व्यथित आदि इत्यादिको सपनामा डुब्न थालेँ। मेरो लागि दुर्लभ ठहरिएको आर्भिलाई पाउने दिनको पर्खाइमा दङ्ग परेर बसें।

सेतोपाटिमा प्रकाशित मिति: शनिबार, जेठ १, २०७३ १०:२०:४६

No comments:

Post a Comment